युनिसेफको नयाँ प्रतिवेदनअनुसार नेपालका ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा छन् ।
काठमाडौँ — जाडो मौसम सुरु भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । विश्वभरको वायु गुणस्तरसम्बन्धी तथ्यांक संकलन गर्ने स्विस संस्था आइक्यू एयरको तथ्यांकअनुसार बिहीबार बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायु अस्वस्थकर बनेको थियो ।
तथ्यांकअनुसार मध्यबानेश्वरमा सबैभन्दा बढी प्रतिघनमिटर १५३ माइक्रोग्राम पीएम २.५ को मात्रा मापन गरिएको थियो । त्यसपछि भक्तपुरको शान्तिचोकमा १५१, तारकेश्वरमा १४७, रानीबारीमा १४५, टेकुमा १३९, गौशाला चोक र क्षेत्रपाटीमा समान १३८ तथा बालाजुमा १३४ माइक्रोग्राम मापन गरिएको थियो ।
अमेरिकी वातावरण संरक्षण निकाय (यूएस इन्भाइरोन्मेन्टल प्रोटेक्सन एजेन्सी) को वायु गुणस्तर सूचकांकअनुसार पीएम २.५ को मात्रा १०१ देखि १५० सम्म भएमा संवेदनशील समूहका मानिसका लागि अस्वस्थकर मानिन्छ । यस्तो अवस्थामा उनीहरूले स्वास्थ्यमा प्रतिकूल असर अनुभव गर्न सक्छन् । सामान्यतया स्वस्थ मानिसमा यसको असर पर्ने सम्भावना कम हुन्छ । त्यस्तै, पीएम २.५ को मात्रा १५१ देखि २०० सम्म पुगेमा सबैका लागि अस्वस्थकर मानिन्छ । यस्तो अवस्थामा सर्वसाधारणमध्ये केहीले स्वास्थ्य समस्या अनुभव गर्न सक्छन् भने संवेदनशील समूहका मानिसमा अझ गम्भीर असर देखिन सक्छ ।
पीएम २.५ भन्नाले हावामा रहेका २.५ माइक्रोमिटरभन्दा सानो व्यासका सूक्ष्म कण (ठोस वा तरल पदार्थका मसिना कण) बुझिन्छ, जुन वायु प्रदूषकमध्ये सबैभन्दा खतरनाक मानिन्छन् । आकारमा निकै साना हुने भएकाले यी कण लामो समयसम्म हावामा तैरिरहन्छन्, जसले मानिसले सास फेर्दा शरीरभित्र प्रवेश गर्ने सम्भावना बढाउँछ । यस्ता कण फोक्सोसम्म पुग्न सक्छन् र रक्तप्रवाहमा समेत प्रवेश गर्न सक्छन् ।
विश्व स्वास्थ्य संगठनको वायु गुणस्तरसम्बन्धी निर्देशिकाले पीएम २.५ को वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्राम र २४ घन्टाको औसत मात्रा १५ माइक्रोग्राम हुनुपर्ने सिफारिस गरेको छ ।
नेपालमा विशेषगरी काठमाडौं उपत्यकामा सुक्खा मौसम सुरु भएसँगै वायु गुणस्तर खस्किनु नयाँ कुरा होइन । तर प्रदूषणको मात्रा कतिपय बेला खतरनाक तहसम्म पुग्ने गरेको छ । कहिलेकाहीँ राजधानी काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदूषित सहरसमेत बन्ने गरेको छ ।
विज्ञहरूले प्रदूषणको अवस्था अझै बिग्रने चेतावनी दिएका छन् । उनीहरूका अनुसार नेपालका तराई क्षेत्र र छिमेकी भारतमा पराल तथा अन्य कृषि अवशेष जलाउने मौसम भर्खरै सुरु भएको छ । भारतमा तिहारका बेला धेरै पटाका पड्काइने हुँदा वायु प्रदूषण विषाक्त तहमा पुग्ने गरेको छ । भारतबाट प्रदूषित हावा सीमापार हुँदै नेपालमा समेत प्रवेश गर्ने गरेको छ ।
बिहीबार बिहान नेपालको सीमावर्ती सहर बुटवल र धनगढीमा पनि पीएम २.५ को मात्रा प्रतिघनमिटर १६० माइक्रोग्राम मापन गरिएको थियो ।
‘नेपाल र भारत दुवै देशमा धान काट्ने मुख्य मौसम हो । पराल जलाउने क्रम पनि सुरु भइसकेको छ,’ वातावरण विज्ञ भूपेन्द्र दासले भने, ‘वायु प्रदूषण नियन्त्रणका लागि हामीले खासै केही पनि काम गरेका छैनौं । त्यसले गर्दा पनि आउने दिनहरूमा हावाको गुणस्तर झनै खस्कनेछ ।’
सम्बन्धित सरकारी निकायले सडकका खाल्डाखुल्डी पुर्ने वा पराल र फोहोर जलाउने कार्यविरुद्ध जनचेतना अभियान सञ्चालन गर्नसमेत आवश्यक ठानेका छैनन् । विज्ञहरूका अनुसार वायु गुणस्तर खस्किने समस्या बारम्बार दोहोरिँदा सर्वसाधारण र सम्बन्धित सरकारी निकाय दुवै उदासीन बनेका छन् ।
उनीहरूले वायु प्रदूषण घटाउन सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन् । यसका लागि पराल र फोहोर जलाउन नहुनेबारे जनचेतना अभियान सञ्चालन गर्ने, परालबाट ब्रिकेट र कम्पोस्ट मल बनाउन किसानलाई प्रोत्साहन गर्ने, सडकका खाल्डाखुल्डी पुर्ने, धुलाम्मे सडकमा पानी छर्किने र प्रदूषण फैलाउने सवारीसाधनमाथि कारबाही गर्नेलगायतका उपाय अपनाउनुपर्ने उनीहरूको सुझाव छ । ‘वायु गुणस्तर खस्किँदा जनस्वास्थ्यमा पर्ने असर सर्वसाधारणले अनुमान गरेभन्दा निकै ठूलो हुनेछ,’ दासले भने ।
यसैबीच, संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को नयाँ प्रतिवेदनले नेपालका ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा रहेको देखाएको छ । यसले वायु प्रदूषणलाई नेपालका बालबालिकाले सामना गरिरहेका सबैभन्दा व्यापक वातावरणीय जोखिममध्ये एक बनाएको छ ।
‘ग्रोइङ अप इन अ क्लाइमेट हटस्पटः द रिस्क्स सेपिङ द लाइभ्स एन्ड फ्युचर अफ नेपाल्स चिल्ड्रेन’ शीर्षकको प्रतिवेदनले जलवायु परिवर्तनले नेपालका बालबालिकाको जीवनलाई अहिले नै कसरी प्रभावित पारिरहेको छ भन्ने उजागर गरेको छ । साथै, जलवायु नीति, वित्तीय लगानी र कार्ययोजनाको केन्द्रमा बालबालिकालाई राख्दै तत्काल कदम चाल्न आह्वान गरेको छ ।
प्रतिवेदनअनुसार नेपालका ७३ लाख बालबालिका खडेरीको जोखिममा छन् । यसले पानीको उपलब्धता, जीविकोपार्जन, खाद्य उत्पादन र पोषणमा खतरा निम्त्याएको छ । त्यस्तै, ५७ लाख बालबालिका अत्यधिक गर्मीको जोखिममा छन् । बढ्दो तापक्रमले उनीहरूको स्वास्थ्य, कल्याण र सिकाइमा प्रतिकूल असर पारिरहेको छ । थप २९ लाख बालबालिका वर्षाका कारण हुने पहिरोको जोखिममा छन् भने अनुमानित २४ लाख बालबालिका एकैपटक विभिन्न उच्च तीव्रताका जलवायुजन्य विपद्को जोखिममा छन् । यस्ता जोखिम एकसाथ देखिँदा क्षति थप बढ्ने र विपद्पछिको पुनःस्थापना कठिन हुने प्रतिवेदनले औँल्याएको छ ।
विश्व बैंकको एक प्रतिवेदनले पनि नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गता गराउन सक्ने सबैभन्दा ठूलो जोखिमको कारक बनेको छ, जसले कुपोषण र सुर्तीजन्य पदार्थको प्रयोगलाई समेत उछिनेको छ । सन् २०२५ मा प्रकाशित उक्त प्रतिवेदनअनुसार प्रदूषित हावाका कारण औसत नेपालीको आयु ३.४ वर्षले घट्ने गरेको छ । यसले नेपालमा हरेक वर्ष करिब २६ हजार मानिसको समयअगावै मृत्यु हुने गरेको पनि उल्लेख गरेको छ ।
प्रतिवेदनका अनुसार वायु प्रदूषण विभिन्न रोगको प्रमुख कारकमध्ये एक हो । नेपालमा देखिने दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (सीओपीडी) का ७५ प्रतिशत, मस्तिष्कघातका ४६ प्रतिशत, इस्केमिक हृदय रोगका ४४ प्रतिशत, तल्लो श्वासप्रश्वास नलीको संक्रमणका ४१ प्रतिशत, फोक्सोको क्यान्सरका ३८ प्रतिशत, कम तौलमा बच्चा जन्मिने र समयअगावै प्रसूति हुनेजस्ता नवजात शिशुसम्बन्धी समस्याका ३० प्रतिशत तथा मधुमेहका २० प्रतिशत घटनामा वायु प्रदूषणको योगदान रहेको प्रतिवेदनमा उल्लेख छ ।
अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।