कपिलवस्तुको वाणगंगा–८ स्थित ऐतिहासिक महावनमा उनीहरूले बाँसका कुटीमा बसेर भिक्षाटन, ध्यान र सीमित भोजनसहित वर्षावास बिताएका हुन्।
कपिलवस्तु — दिउँसै सुनसान। रातमा चकमन्न। सालको घना जंगलले घेरिएको अनकन्टार ठाउँ। चितुवा र बाघको उत्तिकै डरत्रास। छेउमै सुसाउँदै बगिरहेको वाणगंगा नदी। नदी किनारको दक्षिणतर्फ अग्लो र भिरालो ठाउँमा बाँसका नौवटा कुटी बनाइएका छन्। बाँसका खम्बा र बलोले अड्याएर, बाँसकै कप्टेराले घेरी टिनको छानो राखेर बनाइएका तिनै कुटीमा बसेर म्यान्मारका सात जना धुताङधारी भिक्षुले तीनमहिने वर्षावास पूरा गरेका छन्।
म्यान्मारको शान प्रदेशस्थित धम्मपाल फरेस्ट मोनास्ट्रीका प्रमुख भद्दन्त धम्मधजको नेतृत्वमा सात जना धुताङधारी भिक्षुले कठोर ध्यानसाधना गर्दै वर्षावास पूरा गरेका हुन्। सहरको कोलाहल र भौतिक सुखसुविधाबाट टाढा प्रकृतिको काखमा एकान्त र साधनामय जीवन बिताउन पाउँदा आफूहरूले धेरै ध्यानलाभ र ज्ञान प्राप्त गरेको भद्दन्त धम्मधजले बताए। उनीहरू यसपटक ऐतिहासिक, पुरातात्त्विक र धार्मिक महत्त्व बोकेको कपिलवस्तुको वाणगंगा नगरपालिका–८, बालाकण्ठ बराजुस्थित महावनमा वर्षावास बसेका थिए।
महावन त्यही स्थल हो, जहाँ गाैतम बुद्धले आफ्नो जीवनमा एकपटक मात्रै महासमय सुत्तको देशना गरेका थिए। रोहिणी नदीको पानीको विषयलाई लिएर कोलिय र शाक्यबीच युद्ध हुन लाग्दा बुद्धले सम्झाइबुझाइ गरी युद्ध रोकेर शान्ति कायम गरेका थिए। त्यसपछि उनले यही ठाउँमा महासमय सुत्त पाठ गरेको बौद्ध साहित्यमा उल्लेख छ। बुद्धले आफ्नो १५औँ वर्षावासका क्रममा महावनमा उक्त सुत्त पाठ गरेका थिए।
‘म्यान्मारमा धेरै पटक वर्षावास बसेँ,’ धम्मपाल फरेस्ट मोनास्ट्रीका प्रमुख भद्दन्त धम्मधजले भने, ‘यहाँको कठिन भौगोलिक अवस्था र प्राकृतिक वातावरणले लोभ्यायो। अझ यसको ऐतिहासिक र धार्मिक महत्त्वले हामीलाई म्यान्मारदेखि यहाँसम्म ल्याइपुर्यायो।’ यस्तो महत्त्वपूर्ण स्थल भएकाले आफूहरू म्यान्मारबाट यहाँ आएको उनले बताए।
असार पूर्णिमादेखि असोज पूर्णिमासम्म उनीहरूले यहाँ तीन महिना वर्षावास बिताए। महावन घना जंगलभित्र पर्छ। यहाँसम्म पुग्ने राम्रो बाटो छैन। आवतजावत गर्न पनि समस्या छ। तर ध्यानसाधनाका लागि यस्तै एकान्त ठाउँ चाहिने भएकाले आफूहरू आकर्षित भएको म्यान्मारको रंगुनबाट आएका भिक्षु वरुणले बताए।
उनीहरू दैनिक तीनदेखि ६ किलोमिटर टाढा रहेको अर्घाखाँचीको शितगंगा नगरपालिका–पावर र विक्रमसोता गाउँ तथा कपिलवस्तुको वाणगंगा नगरपालिका–८ को मधुवन गाउँसम्म पैदलै भिक्षापात्र लिएर पुग्थे। भिक्षाटनबाट जे पाकेको खाना प्राप्त हुन्थ्यो, त्यही लिएर कुटीमा फर्किन्थे। बिहान एक छाक मात्रै खाना खान्थे भने साँझ झोलिलो पदार्थ सेवन गर्दै ध्यानसाधना गर्थे। भिक्षाटनमा जाँदा कसैलाई खबर नगर्ने र निमन्त्रणा नलिईकनै पुग्ने गरेको उनीहरूले बताए।
बाँसका साना कप्टेराले घेरेर बनाइएका कुटीमा डसना ओछ्याएर उनीहरू सुत्थे। न कुनै विलासी सामान थियो, न आधुनिक सुविधाको अपेक्षा। घना जंगलमा एक किलोमिटरको फरकमा एकातिर चार र अर्कोतिर पाँचवटा कुटी बनाइएका थिए। रातको सन्नाटामा पनि उनीहरू ध्यान र चिन्तनमै समय बिताउँथे। बिहान–साँझ ध्यानसाधना गर्ने, चंक्रमण गर्ने र परित्राण पाठ गर्दै उनीहरूको दिनचर्या बित्थ्यो।
भद्दन्त धम्मधज म्यान्मारका प्रख्यात भिक्षु भएकाले उनका नेपाल, भारत र म्यान्मारका उपासक–उपासिकाले स्वतःस्फूर्त रूपमा आठ लाख रुपैयाँभन्दा बढी चन्दा संकलन गरेर वर्षावासका लागि कुटी बनाइदिएका थिए। सात जना भिक्षुका लागि दुई जना सेवक पनि खटिएका थिए।
महासमय सुत्तको देशना गरिएको स्थल पहिचान गरी त्यसको महत्त्व बाहिर ल्याउने काम नेपाली युवा भिक्षु सुमंगलोले गरेका हुन्। उनले थाइल्यान्ड, म्यान्मार, कम्बोडिया र भियतनाममा यस ठाउँको प्रचारप्रसार गरी महत्त्व उजागर गरेपछि स्वदेशी तथा विदेशी भिक्षु र पर्यटकको आगमन बढेको छ। चार–पाँच वर्षदेखि भिक्षु सुमंगलोले यस ठाउँको पवित्रता र ऐतिहासिकता उजागर गर्दै महिमा फैलाइरहेको बताए। यस वर्ष पहिलो पटक बुद्धले देशना गरेको स्थलमै भिक्षुहरू वर्षावास बसेका थिए।
वर्षावासपछि यहाँ कठिन चीवरदान पनि गरिएको छ। वर्षावास बसेका भिक्षुलाई एक महिनाभित्र कठिन चीवरदान गर्नुपर्ने परम्परा छ। भद्दन्त धम्मधजको प्रसिद्धिका कारण उनलाई चीवरदान गर्न भारतको कलकत्ता, काठमाडौं, नुवाकोट र चितवनबाट उपासक–उपासिका आएका थिए। रातको सन्नाटामा हुने एकाग्रता, चिन्तन र अध्ययनले राम्रो ध्यानलाभ भएको अर्का भिक्षु सूर्यले बताए। यहाँ वर्षावास बस्दा बुद्धकालकै जस्तो अनुभूति हुने भएकाले धुताङधारी भिक्षुको आकर्षण बढ्ने उनको भनाइ छ।
घना जंगलको एकान्तमा तीन महिना बिताएका म्यान्मारका भिक्षुका लागि यो वर्षावास धार्मिक परम्पराको निरन्तरता मात्रै नभएर बुद्धकालीन इतिहास र परिवेशसँग साक्षात्कार गर्ने अवसर पनि बनेको बौद्ध दर्शनका अध्येता पोमनारायण पौडेलले बताए। यसले उनीहरूको साधनासँगै महावनको ऐतिहासिक र धार्मिक महत्त्वलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने नयाँ सम्भावना पनि उजागर गरेको उनले बताए।
बौद्ध दर्शन र साहित्यमा महावनलाई संवेगनीय स्थलका रूपमा उल्लेख गरिएको बौद्ध दर्शनका अध्येता चतुर्भुज पाण्डेले बताए। ‘यो यस्तो पवित्र स्थान हो, जसले मानिसको मनमा जन्म, मृत्यु र संसारको अनित्यता (संसार सधैँ रहँदैन भन्ने कुरा) प्रति गम्भीर भाव उत्पन्न गराउँछ,’ उनले भने। घना वनमा रातको वातावरण अत्यन्तै रोमाञ्चक, रहस्यमयी र चुनौतीपूर्ण हुने उनको भनाइ छ। सहरको कोलाहलभन्दा पूर्णतः फरक वातावरण भएकाले यहाँ गहिरो ध्यानलाभ हुने उनले बताए। प्रकृतिमा रमाउँदै आनन्दित हुनुको छुट्टै ज्ञानबोध हुने भन्दै उनले प्रकृतिप्रेमीका लागि यस ठाउँको महिमा जति वर्णन गरे पनि कम हुने बताए।
बौद्ध दर्शनमा धुताङधारी भिक्षु भन्नाले बुद्धले उल्लेख गरेका १३ प्रकारका कठिन तपस्या वा साधना अपनाउने भिक्षुलाई बुझिन्छ। उनीहरूको जीवनशैली सामान्य भिक्षुको भन्दा अझ कठोर हुन्छ। भौतिक सुखसुविधाबाट टाढा रहने, सीमित आवश्यकतामा जीवन बिताउने र सांसारिक मोह त्याग्ने उनीहरूको अभ्यास हो। त्यसैले उनीहरू बौद्ध धर्मावलम्बीका लागि त्याग, अनुशासन र साधनाका प्रतीकका रूपमा श्रद्धाका केन्द्र बनेका छन्।
मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।