नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा दिएको सांगीतिक प्रस्तुतिमा करिब १० हजार दर्शक झुमेका छन्।
सुनसरी — नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा दिएको सांगीतिक प्रस्तुतिमा करिब १० हजार दर्शक झुमेका छन्। बुधबार साँझ इटहरी रंगशालामा आयोजित ‘नेपथ्य लाइभ इन कन्सर्ट–२०२६’ मा इटहरीसहित पूर्वी नेपालका विभिन्न क्षेत्र तथा भारतको सिक्किम, दार्जिलिङलगायतबाट आएका दर्शकको बाक्लो उपस्थिति थियो।
आयोजक पूर्वाञ्चल इभेन्ट्स प्रालिका अनुसार कन्सर्टका लागि ८ हजार ५ सय टिकट बिक्री भएको थियो भने थप १ हजार ५ सय पास वितरण गरिएको थियो। टिकट र पासमार्फत गरी करिब १० हजार दर्शकले रंगशालामा नेपथ्यको प्रस्तुति प्रत्यक्ष अवलोकन गरेका हुन्।
तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीतमा सक्रिय नेपथ्यका मुख्य गायक अमृत गुरुङ बुधबार साँझ करिब ६ बजे स्टेजमा उक्लिँदा रंगशाला दर्शकको हुटिङ र तालीले गुञ्जिएको थियो। ‘नमस्ते इटहरी, नमस्ते कोशी प्रदेश’ भन्दै दर्शकलाई अभिवादन गरेका गुरुङले त्यसपछि नेपथ्यका लोकप्रिय गीतमार्फत सांगीतिक माहोल तताएका थिए।
गुरुङले ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’, ‘सुन सुन साइँली’, ‘कर्णाली’, ‘पोखरा बजार’, ‘मुक्लाङ जाऊँला’, ‘रुकुम’ लगायतका गीत प्रस्तुत गरेका थिए। नेपथ्यका चर्चित गीतका धुनसँगै हजारौँ दर्शक एकसाथ झुम्दा इटहरी रंगशाला लामो समयपछि ठूलो सांगीतिक जमघटको केन्द्र बनेको थियो।
कन्सर्ट मनोरञ्जनमा मात्रै सीमित रहेन। गीतका बीच–बीचमा अमृत गुरुङले नेपाली संगीतलाई माया गर्न, आपसी एकता कायम गर्न र राष्ट्रलाई एकताबद्ध रूपमा अघि बढाउन दर्शकलाई आग्रह गरे।
उनले देश निर्माणमा राजनीतिक दल, कर्मचारी, समाजका अगुवा तथा नीति निर्मातासहित सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए। युवालाई विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य गर्दै नेपालमै अवसर सिर्जना गर्नुपर्ने धारणा पनि उनले राखे।
गुरुङले नेपाललाई हिमाल, पहाड र तराईसँगै सगरमाथा र लुम्बिनीको सुन्दर देशका रूपमा चित्रण गर्दै नेपाली समाजलाई जोड्ने काममा संगीतको भूमिकासमेत महत्वपूर्ण रहेको सन्देश दिएका थिए।
कन्सर्टमा इटहरी र सुनसरी मात्र नभई कोशी प्रदेशका विभिन्न जिल्ला तथा पूर्वी नेपालका क्षेत्रबाट दर्शक आएका थिए। भारतको सिक्किम र दार्जिलिङलगायत क्षेत्रबाट समेत दर्शक सहभागी भएको आयोजकले जनाएको छ। यसले कार्यक्रमलाई स्थानीय सांगीतिक कार्यक्रमभन्दा बाहिर पूर्वी नेपाल र सीमापारिका नेपालीभाषी दर्शकलाई समेत जोड्ने सांस्कृतिक कार्यक्रमका रूपमा प्रस्तुत गरेको छ।
कार्यक्रम पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको संरक्षण र कोशी प्रदेश सरकारको प्रवर्द्धनमा भएको हो। कार्यक्रमको तयारीका क्रममा आयोजकले करिब १० हजार दर्शक आउने अनुमान गरेको थियो। कन्सर्टलाई इटहरीको सांगीतिक तथा सांस्कृतिक गतिविधि विस्तारसँगै स्थानीय होटल, यातायात, व्यापार र पर्यटन क्षेत्रमा गतिविधि बढाउने अवसरका रूपमा समेत प्रस्तुत गरिएको थियो।
इटहरीमा नेपथ्यको यो पहिलो प्रत्यक्ष प्रस्तुति हो। कार्यक्रमअघि आयोजकले करिब १० हजार दर्शक अट्ने गरी रंगशालामा व्यवस्थापन गरिएको जनाएको थियो।
बुधबारको प्रस्तुतिले भने आयोजकको अनुमानलाई व्यवहारमै पुष्टि गर्दै इटहरीमा ठूलो स्तरको सांगीतिक कार्यक्रम आयोजना गर्न सकिने सम्भावनासमेत देखाएको छ। करिब १० हजार दर्शक एउटै स्थानमा जम्मा भएर नेपथ्यका गीतमा झुमेको दृश्यले इटहरीको सांगीतिक बजार र दर्शकको मागलाई समेत उजागर गरेको छ।
अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।