कक्षाकोठामा हुने हल्ला र अवाञ्छित व्यवहारलाई विद्यार्थीको अनुशासनसँग मात्र जोडेर हेर्नु पर्याप्त हुँदैन । यसको कारण बुझ्न शिक्षण अभ्यास, साथीहरूको सम्बन्ध, भौतिक वातावरण र प्रविधिको प्रयोगलाई समेत ध्यान दिनुपर्छ।
कक्षाकोठामा विद्यार्थीहरू हल्ला गर्ने, शिक्षकले पढाइरहेका बेला ध्यान नदिई साथीहरूसँग गफ गर्ने, एकले अर्कालाई जिस्क्याउने, चलाउने, सामान फाल्ने, पालो नपर्खी बोल्ने, कुर्सी वा बेन्च घिसार्ने, झ्याल–ढोका जोडले थुन्ने जस्ता कार्यमा संलग्न भएको बारम्बार देखिन्छ । कक्षा सञ्चालन भइरहेका बेला विद्यार्थीले गर्ने यस्ता गतिविधिले कक्षाकोठाको शैक्षिक वातावरण मात्र खलबल्याउँदैनन्, अन्य विद्यार्थीको सिक्ने वातावरण र अवसरमा समेत बाधा पुर्याउँछ । कक्षाकोठामा शिक्षकले पढाउन खोज्ने, केही विद्यार्थीको सिक्ने चाहना हुँदाहुँदै केहीले निरन्तर हल्ला गर्दा कक्षाकोठा सिकाइको थलो रहँदैन । बरु शिक्षकको समय र ऊर्जा विषयवस्तु तथा अवधारणा सिकाउन, बुझाउनभन्दा बढी कक्षाकोठामा विद्यार्थीलाई शान्त पार्न र अनुशासन कायम गर्नमै खर्च हुन्छ ।
कक्षाकोठामा देखिने यस्ता दृश्य र व्यवहार धेरै विद्यालयका लागि साझा समस्या हुन् । कक्षाकोठामा यस्तो अवस्था देखिँदा हामी प्राय: विद्यार्थी अनुशासनहीन भएको निष्कर्ष निकाल्छौं र उनीहरूलाई शान्त रहन, गफ नगर्न र पढाइमा ध्यान दिन पटक–पटक आग्रह गर्छौं । हाम्रो आग्रहपछि कक्षाकोठामा विद्यार्थी केही समय शान्त भए पनि फेरि उही गतिविधि दोहोरिन्छ । यस्तो अवस्था बारम्बार दोहोरिरहँदा पनि उनीहरू किन अशान्त भइरहेका छन् भन्ने प्रश्नमा पर्याप्त ध्यान नदिई विद्यार्थीको व्यवहारलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका हुन्छौं । कक्षाकोठामा विद्यार्थीलाई शान्त रहन आग्रह गर्दा पनि समस्या समाधान हुँदैन भने यसको कारण उनीहरूको व्यवहारमा मात्र खोजेर पुग्दैन । यस्तो व्यवहार सिर्जना हुनमा सिकाइप्रति उनीहरूको रुचि, शिक्षण विधि, शिक्षक–विद्यार्थी सम्बन्ध, संवेगात्मक आवश्यकता र कक्षाकोठाको वातावरणले पनि प्रभावित पारिरहेको हुन सक्छ । त्यसैले विद्यार्थीको हल्ला र अवाञ्छित व्यवहारलाई केवल अनुशासनको समस्याका रूपमा नहेरी त्यसका कारण पहिचान गरी समाधान खोज्नु आवश्यक छ । विद्यार्थीले कक्षाकोठामा किन हल्ला गर्छन् र यस्तो व्यवहार कम गर्न शिक्षण तथा सिकाइको वातावरणमा के परिवर्तन गर्न सकिन्छ भन्ने सवाल यो लेखको मूल विषय हो ।
विद्यार्थीले कक्षाकोठामा गर्ने हल्ला उनीहरूको अनुशासनहीनता मात्र नभई शिक्षण पद्धति, सिकाइगत समस्या, साथीको प्रभाव, विद्यार्थीको संवेगात्मक आवश्यकता र कक्षाकोठाको सिकाइ वातावरणजस्ता कुराबाट सिर्जित भएका हुन सक्छन् । शिक्षा मनोविज्ञानको दृष्टिकोणबाट हेर्दा कक्षाकोठाको हल्ला एउटै कारणले उत्पन्न हुने व्यवहार पनि होइन । विद्यार्थीले कक्षाकोठमा हल्ला गर्ने र अस्वीकार्य व्यवहार देखाउने विविध कारण हुन सक्छन् । शिक्षकको शिक्षण विधि, विद्यार्थीको रुचि, शिक्षक–विद्यार्थी सम्बन्ध, कक्षाकोठाको व्यवस्थापन, साथीहरूको प्रभाव, शिक्षकको व्यवहार, व्यक्तिगत तथा संवेगात्मक पक्ष, कक्षाको भौतिक वातावरण र प्रविधिप्रतिको आकर्षण केही मुख्य कारक हुन् । त्यसैले शिक्षकले कक्षाकोठाको सिकाइलाई सहज बनाउन हल्ला नियन्त्रण गर्नुअघि यसको कारण पहिचान गर्नु आवश्यक हुन्छ ।
शिक्षकले लामो समयसम्म व्याख्या गर्ने, विद्यार्थीलाई नोट सार्न लगाउने र पाठ कण्ठ गर्न जोड दिने परम्परागत शिक्षण विधि अपनाउँदा विद्यार्थीको सक्रिय सहभागिता र रुचि घट्न गई कक्षाकोठामा उनीहरूले हल्ला गर्न सक्छन् । छलफल, प्रश्नोत्तर, समूहकार्य, प्रयोग तथा व्यावहारिक अभ्यासजस्ता गतिविधिको कमीले विद्यार्थी सक्रिय बन्ने वातावरणमा अवरोध सिर्जना हुने र उनीहरूले आफ्नो ध्यान अन्यत्र मोड्ने सम्भावना बढाउँछ । शिक्षकले कक्षाकोठाको सिकाइ क्रियाकलापलाई विद्यार्थीको पूर्वज्ञान, क्षमता र सिकाइको गतिअनुसार अघि बढाउन नसक्दा केही विद्यार्थीले विषयवस्तु बोध गर्न कठिनाइ अनुभव गर्छन् । विशेषगरी ठूलो कक्षाकोठा, विद्यार्थीको विविध सिकाइस्तर, शैक्षिक सामग्रीको अभाव र प्रत्येक विद्यार्थीको वैयक्तिक भिन्नतामा ध्यान दिन नसक्ने अवस्थाले यस्तो समस्या थप जटिल बनाउन सक्छ । पाठ नबुझ्दा विद्यार्थीमा निराशा, असहजता र आत्मविश्वासको कमी उत्पन्न हुन सक्छ, जसका कारण उनीहरूले पढाइमा ध्यान दिनुको सट्टा साथीसँग अनावश्यक कुराकानी गर्ने, जिस्क्याउने वा हल्ला गर्ने व्यवहार देखाउन थाल्छन् ।
शिक्षकले विद्यार्थीलाई उनीहरूको जिज्ञासा, रुचि र क्षमताअनुसार सिकाइ गतिविधिमा संलग्न नगराउँदा उनीहरूको ध्यान सिकाइप्रति केन्द्रित हुँदैन । जब विद्यार्थीको ध्यान सिकाइमा हुँदैन, उनीहरू कक्षाकोठामा अनावश्यक कुराकानी गर्ने, हल्ला गर्ने तथा अस्वीकार्य व्यवहार प्रदर्शन गर्न थाल्छन् । विद्यार्थीको जिज्ञासाले सिकाइमा स्थान पाएन भने उनीहरूमा नयाँ कुरा जान्ने इच्छा मर्न थाल्छ । यसले उनीहरूलाई प्रश्न सोध्न, छलफल गर्न तथा विभिन्न गतिविधिमा सहभागी हुन प्रेरित गर्दैन । आफ्नै पूर्वज्ञान, जीवन र अनुभवसँग नजोडिएको सिकाइ उनीहरूलाई बोझिलो लाग्न थाल्छ । यस्तो सिकाइ रोचक, अर्थपूर्ण र जीवनोपयोगी पनि हुँदैन । यस्तो सिकाइले उत्साह, आत्मविश्वास र सक्रिय सहभागिता घटाउँछ । फलस्वरूप विद्यार्थीले कक्षाकोठमा हल्ला गर्न थाल्छन् । विद्यार्थीको जिज्ञासा, रुचि र क्षमता एकातिर, शिक्षकको सिकाउने शैली अर्कोतिर भयो भने सिकाइमा विद्यार्थीको सहभागिता घट्छ र यस्तो अवस्थामा साथीहरूसँग गफ गर्नु उनीहरूका लागि बढी आकर्षक बन्न थाल्छ ।
कक्षाकोठामा हल्ला गर्ने वातावरण शिक्षकको असंगत व्यवहारले पनि सिर्जना गरेको हुन्छ । एक दिन एउटै व्यवहारलाई सामान्य मान्ने र अर्को दिन कडा सजाय दिने, केही विद्यार्थीलाई छुट दिने तथा अरूलाई मात्र दोष दिने शिक्षकको व्यवहारले कक्षाकोठाको नियमप्रतिको विश्वास घटाउँछ । कक्षाकोठाको नियम स्पष्ट भएन भने पनि यसले हल्ला गर्ने वातावरणलाई मलजल गर्छ । विद्यार्थीबीच कहिलेकाहीँ सिटमा बस्ने विषय, खेल, समूहकार्य, व्यक्तिगत टिप्पणी वा पुरानो विवादले द्वन्द्व सिर्जना गर्न सक्छ । कहिलेकाहीँ रमाइलो कुराकानीबाट सुरु भएको विषय अपमान, धम्की वा द्वन्द्वमा बदलिन सक्छ । यसले पनि सिकाइ वातावरणमा असहज वातावरण सिर्जना गर्छ ।
विद्यार्थीको स्तरभन्दा धेरै सजिलो विषयवस्तु र कम चुनौतीपूर्ण कामले पनि विद्यार्थीको ध्यान अन्यत्र मोड्ने वातावरण सिर्जना गर्छ । विशेषगरी मेधावी विद्यार्थीले काम सकिएपछि अन्य साथीलाई बाधा पुर्याउन सक्छन् । कक्षाकोठामा शिक्षकको निर्देशन स्पष्ट भएन भने पनि कक्षामा अन्योल उत्पन्न हुन्छ । अस्पष्ट निर्देशनले अनावश्यक कुराकानी बढाउन सक्छ । विद्यार्थीहरू स्वभावैले साथीहरूको स्वीकृति र प्रशंसा चाहन्छन् । समूहमा हँसाउने, रमाइलो गर्ने वा शिक्षकको निर्देशनलाई बेवास्ता गर्ने व्यवहारले सामाजिक प्रतिष्ठा बढ्छ भन्ने अनुभूति भएमा कक्षामा हल्ला हुन सक्छ । एउटा विद्यार्थीको व्यवहारलाई अरूले अनुकरण गर्दा सामान्य कुराकानीले पनि द्वन्द्वको वातावरण निम्त्याउन सक्छ । केही विद्यार्थी प्रश्न सोधेर, हात उठाएर वा काम पूरा गरेर शिक्षकको ध्यान आफूतिर खिच्न चाहने स्वभावका हुन्छन् । यसले पनि हल्ला गर्ने वातावरण निर्माण गरिरहेको हुन्छ ।
कक्षामा केही विद्यार्थीले मात्र बोल्ने र बाँकीले चुपचाप बस्नुपर्ने अवस्था सिर्जना भएको छ भने निष्क्रिय विद्यार्थीले अनौपचारिक कुराकानी सुरु गर्न थाल्छन् । सबै विद्यार्थीको ध्यान केन्द्रित गर्ने, पालो पर्खने र आवेग नियन्त्रण गर्ने क्षमता समान हुँदैन । केही विद्यार्थी लामो समयसम्म स्थिर भएर बस्न नसक्ने हुन्छन् । यस्ता विद्यार्थीले केही न केही गर्न थाल्छन् । उनीहरू बोल्ने, चल्ने वा साथीलाई जिस्क्याउने गर्न थाल्छन् । यसले पनि कक्षाकोठामा हल्ला गर्ने वातावरण सिर्जना गरिहाल्छ ।
विद्यालयमा विद्यार्थी आउँदा उनीहरूले आफूसँगै नदेखिने कुरा पनि बोकेर ल्याएका हुन्छन् । घरायसी समस्या, पारिवारिक विवाद, परीक्षाको डर, साथीहरूसँगको द्वन्द्व वा असफलताको चिन्ता जस्ता कुराले विद्यार्थीको व्यवहार प्रभावित गर्न सक्छ । सबै विद्यार्थीको स्वभाव एकै किसिमको हुँदैन । कक्षाकोठामा केही विद्यार्थी चुपचाप बस्छन् भने केही विद्यार्थी चञ्चल, आक्रामक वा बढी बोल्ने हुन्छन् । विद्यार्थीको संवेगलाई राम्रोसँग ख्याल गरिएन भने यसले पनि कक्षाकोठामा समस्या सिर्जना गर्न सक्छ । यसमा शिक्षकको व्यवहार पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । शिक्षकले पनि खालि विद्यार्थीको गल्ती र अस्वीकार्य व्यवहारको पछि लागेर विद्यार्थीको शान्त भएर काम गर्ने, पालो पर्खने र साथीलाई सहयोग गर्ने व्यवहारलाई प्रोत्साहन दिएनन् भने यसले ‘तँभन्दा म के कम’ भन्ने भावना विकास भई कक्षाकोठाको सिकाइ वातावरणमा खलल पुर्याउन थाल्छ ।
सबै विद्यार्थीको सिकाइको गति, भाषा, सञ्चार क्षमता र शारीरिक आवश्यकता समान हुँदैन । यस्तो परिस्थितिमा शिक्षकको सिकाइ सहजीकरण प्रक्रिया ‘वान साइज फिट्स अल’ भयो भने यसले केही विद्यार्थीको मात्र सिकाइ आवश्यकता पूरा गर्छ । कक्षाकोठामा बहुसंख्यक विद्यार्थीको सिकाइ आवश्यकता सम्बोधन नभएमा सिकाइ वातावरण खलबलिन थाल्छ । निद्राको कमी, भोक, तिर्खा, गर्मी, कमजोर हावा प्रवाह वा असुविधाजनक बसाइले कक्षाकोठामा विद्यार्थीको ध्यान र धैर्य प्रभावित पारेको हुन्छ । यस्तो अवस्थामा विद्यार्थीलाई लामो समयसम्म चुपचाप बस्न कठिन हुन सक्छ । कक्षाकोठाको वातावरण र विद्यार्थीको आधारभूत आवश्यकता परिपूर्तिको अवस्थाले पनि सिकाइका लागि प्रतिकूल वातावरण बनाउन सहयोगी भूमिका खेल्छ ।
विद्यालयमा विद्यार्थीको व्यवहार घर र विद्यालय दुवै परिवेशबाट प्रभावित हुन्छ । घरमा स्पष्ट दिनचर्या नहुनु, अभिभावकसँग संवादको कमी, विद्यालयमा बारम्बार शिक्षक परिवर्तन हुनु वा विद्यार्थीको समस्या समयमै पहिचान नहुनुले पनि सिकाइ वातावरण कठिन बनाउँछ । घर, समुदाय र विद्यालयबीच समन्वयको कमी पनि कक्षाकोठामा हल्ला गर्ने वातावरण सिर्जनामा भूमिका खेलेको हुन्छ ।
विद्यार्थीले कक्षाकोठामा हल्ला गर्ने, पढाइमा ध्यान नदिने र अस्वीकार्य व्यवहार देखाउने कार्य विद्यार्थीको अनुशासनसँग मात्र सम्बन्धित हुँदैन । यसमा कक्षाकोठाको व्यवस्थापन, साथीहरूको प्रभाव, भौतिक वातावरण र प्रविधिप्रतिको आकर्षणले पनि भूमिका खेल्छन् । कक्षाकोठाको व्यवस्थापन प्रभावकारी नहुँदा, शिक्षण विधि एकतर्फी हुँदा वा विद्यार्थीले सक्रिय रूपमा सिक्ने अवसर नपाउँदा उनीहरू निष्क्रिय भई गफ गर्ने, जिस्क्याउने र अन्य गतिविधिमा संलग्न हुने सम्भावना बढ्छ । साथीहरूलाई हँसाउन, समूहमा स्वीकार्य हुन वा अरूको नक्कल गर्न विद्यार्थीले पढाइमा अवरोध पुर्याउने व्यवहार गर्न सक्छन् ।
साँघुरो कोठामा धेरै विद्यार्थी राख्नु, अव्यवस्थित बसाइ, अत्यधिक गर्मी, अपर्याप्त हावा र प्रकाश तथा बाहिरी आवाज जस्ता कक्षाकोठाको भौतिक वातावरणले पनि विद्यार्थीलाई असहज बनाउनुका साथै ध्यान केन्द्रित गर्न कठिन बनाउन सक्छ । त्यस्तै, प्रविधिप्रतिको आकर्षणका कारण विद्यार्थी मोबाइल, सामाजिक सञ्जाल, अनलाइन खेल र छोटा भिडियोमा रमाउन सक्छन् । इन्टरनेटमा देखेका गतिविधिको नक्कल गर्ने वा तिनबारे साथीसँग कुराकानी गर्ने व्यवहारले समेत कक्षाकोठामा हल्ला र सिकाइमा अवरोध सिर्जना गर्न सक्छ । कक्षाकोठामा हुने हल्ला र अवाञ्छित व्यवहारलाई विद्यार्थीको अनुशासनसँग मात्र जोडेर हेर्नु पर्याप्त हुँदैन । यसको कारण बुझ्न शिक्षण अभ्यास, साथीहरूको सम्बन्ध, भौतिक वातावरण र प्रविधिको प्रयोगलाई समेत ध्यान दिन आवश्यक हुन्छ ।
यस आलेखको उद्देश्य कक्षाकोठामा प्रदर्शन गरिएको विद्यार्थीको अस्वीकार्य व्यवहार र हल्लालाई सही ठहर गर्नु नभई कक्षाकोठामा हल्ला किन भइरहेको छ र विद्यार्थीले अस्वीकार्य व्यवहार किन प्रदर्शन गरिरहेका छन् भन्ने बुझेर उपयुक्त समाधान खोज गर्नु हो । शिक्षकले कक्षाकोठामा हल्ला हुने समय, विषय, गतिविधि र विद्यार्थीको व्यवहारको नियमित अभिलेख राख्नुपर्छ । पाठ सुरु हुँदा, कठिन प्रश्न सोध्दा, लामो व्याख्या गर्दा वा समूहकार्यका क्रममा हल्ला बढी हुन्छ कि हुँदैन भन्ने अवलोकनले कारण पहिचान गर्न मद्दत गर्छ । शिक्षकले कक्षाकोठामा विद्यार्थीको हल्ला कम गर्न र अस्वीकार्य व्यवहार न्यूनीकरण गर्न सिकाइमा विद्यार्थीको सहभागिता बढाउनुपर्छ । सिकाइमा विद्यार्थीको छनोट, आवाज र अपनत्व बढाउनुपर्छ । छोटो व्याख्या, प्रश्नोत्तर, युगल वा सामूहिक छलफल, समूहकार्य, प्रयोग र व्यावहारिक गतिविधिको सन्तुलित प्रयोग गर्नुपर्छ ।
कक्षाकोठाका नियम विद्यार्थीको सहभागितामा निर्माण गर्नुपर्छ । अरू बोल्दा सुन्ने, बोल्नुअघि अनुमति माग्ने, समूहकार्यमा उपयुक्त आवाज प्रयोग गर्ने र असहमति प्रकट गर्दा सम्मानपूर्वक व्यक्त गर्ने नियम स्पष्ट हुनुपर्छ । शिक्षकले विद्यार्थीको शान्त भएर काम गर्ने, साथीलाई सहयोग गर्ने, नियम पालना गर्ने जस्ता सकारात्मक व्यवहारलाई प्रोत्साहन गर्नुपर्छ । शिक्षकले विद्यार्थीको गल्तीमा अपमान नगरी यसलाई सिकाइ प्रक्रियाका रूपमा लिनुपर्छ । उनीहरूको त्रुटिलाई कक्षामा सार्वजनिक गरी बेइज्जती वा दण्ड दिनु पनि हुँदैन । यसको सट्टा विद्यार्थीलाई व्यवहार सुधार्ने अवसर प्रदान गर्नुपर्छ । यस्तो समस्या निरन्तर देखिएमा विद्यार्थी, अभिभावक, शिक्षक र आवश्यकताअनुसार विद्यालयको परामर्श सेवाबीच संवाद गर्नुपर्छ । विद्यार्थीलाई सिकाइमा कठिनाइ छ कि, सञ्चारमा अवरोध छ कि, संवेगात्मक सहयोग चाहिएको छ कि भन्ने विषयमा छलफल गर्नुपर्छ ।
विद्यार्थीले हल्ला गरेकै आधारमा शिक्षकले उनीहरूलाई अनुशासनहीन ठहर गर्नु समस्याको सतही समाधान मात्रै हो । शिक्षकले हल्ला नियन्त्रण गर्नुभन्दा पहिले विद्यार्थीले कक्षाकोठामा देखाएको अस्वीकार्य व्यवहारको कारण पहिचान गर्नुपर्छ । शिक्षकले पढाएको विद्यार्थीले बुझिरहेका छन् कि छैनन्, शिक्षकले विद्यार्थीहरूलाई दिइएको काम अर्थपूर्ण, विद्यार्थीको स्तर र क्षमता अनुसार चुनौतीपूर्ण छ कि छैन, विद्यार्थीहरूले कक्षामा बोल्न, प्रश्न गर्न र सहभागी हुन पर्याप्त अवसर पाएका छन् कि छैनन् भनेर पहिले आफैंलाई सोध्नुपर्छ । यी प्रश्नको सकारात्मक जबाफले मात्र कक्षाकोठाको वातावरण सिकाइ र विद्यार्थीमैत्री बनाउन सकिन्छ । शिक्षकको काम विद्यार्थीलाई चुप लगाउनेभन्दा उनीहरूलाई सिकाइमा व्यस्त, जिज्ञासु र सक्रिय बनाउनु हो । विद्यार्थीको ध्यान सिकाइमा आकर्षित गर्ने शिक्षकले सिकाइ वातावरणमा हल्ला मात्र नियन्त्रण गर्दैनन्, सिकाइको गुणस्तरसमेत सुधार गर्छन् ।
शिक्षकले विद्यार्थीलाई के नगर्ने भनेर बारम्बार नकारात्मक पृष्ठपोषण प्रदान गर्नुभन्दा के गर्ने, कसरी गर्ने र किन गर्ने भन्ने सकारात्मक पृष्ठपोषण प्रदान गर्नुपर्छ । शिक्षकले कक्षाकोठामा छलफल गर्दा पालो पर्खने, समूहकार्यमा सबैलाई सहभागी गराउने, साथीको विचारको सम्मान गर्ने र असहमति शान्तिपूर्वक व्यक्त गर्ने अभ्यास नियमित गराउन सकिन्छ । शिक्षकले विद्यार्थीलाई हल्ला गरेको बेला मात्र होइन, शान्त भएर काम गर्दा, साथीलाई सहयोग गर्दा र जिम्मेवारी पूरा गर्दा पनि प्रोत्साहन गर्ने गर्नुपर्छ । कक्षाकोठामा बारम्बार अस्वीकार्य व्यवहार गर्ने विद्यार्थीसँग एकान्तमा संवाद गरी उनीहरूको भावना र आवश्यकता पहिचान गर्नुपर्छ । कक्षाकोठामा हुने हल्लालाई विद्यार्थीको चरित्रगत समस्या मात्र नठानी विद्यार्थी, शिक्षक, सिकाइ प्रक्रिया र विद्यालयको परिवेशबीचको सम्बन्धको संकेतका रूपमा सम्झनुपर्छ ।
कक्षाकोठाको हल्ला र विद्यार्थीको अस्वीकार्य व्यवहारले शिक्षकको सिकाइ सहजीकरण प्रक्रियालाई चुनौती दिइरहेको हुन्छ । यसको अर्थ विद्यार्थीले जानाजानी अनुशासन भंग गर्न खोजेका हुन् भन्ने चाहिँ होइन । यस्तो अवस्था कहिले सहपाठी साथीको प्रभावको कारणले हुन्छ भने कहिले सिकाइमा कठिनाइ, शारीरिक असहजता, शिक्षण पद्धतिसँगको असन्तुष्टि र सिकाइमा ध्यान दिन नसक्ने कारणले पनि सिर्जना गरेको हुन्छ । त्यसैले प्रभावकारी शिक्षकले विद्यार्थीलाई शान्त गराउने सीपसँगै उनीहरू किन अशान्त भइरहेका छन् भन्ने बुझ्ने क्षमता पनि विकास गर्नुपर्छ । विद्यालयले अनुशासनलाई डर र दण्डमा मात्र आधारित नगरी सहभागिता, स्पष्ट अपेक्षा, आत्मनियमन, निष्पक्षता र पारस्परिक सम्मानमा आधारित बनाउनुपर्छ ।
कक्षाकोठाको सिकाइका बेला विद्यार्थीको आवाज पूर्ण रूपमा बन्द गर्नु नै सफल शिक्षक हुनु होइन । कक्षाकोठामा विद्यार्थीले शिक्षकसँग उपयुक्त समयमा प्रश्न सोध्न, विचार व्यक्त गर्न, छलफल गर्न र सहकार्य गर्न पाउनु नै विद्यार्थीमैत्री वातावरण निर्माण गर्नु हो । त्यसैले अबका शिक्षकको काम कक्षाकोठामा गरिने हल्ला रोक्नमा सीमित हुनु हुँदैन, बरु कक्षाकोठामा विद्यार्थीको आवाजलाई सिकाइका लागि उपयोगी संवादमा रूपान्तरण गर्नुपर्छ । शिक्षकले विद्यार्थीको हल्लालाई अनुशासनहीनताका प्रतीकका रूपमा हेर्नु हुँदैन । बरु यसलाई आफ्नो सिकाइ सहजीकरणको ऐनाका रूपमा स्वीकार गर्नुपर्छ । यसले शिक्षकलाई आफ्नो शिक्षण पद्धति र सिकाइ वातावरणको लेखाजोखा गर्ने अवसर प्रदान गर्छ ।
मेदिनबहादुर लामिछाने काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनमा भिजिटिङ फ्याकल्टीका रूपमा कार्यरत छन्।