Trending
Prev Story
Next Story

विचार | ‘राजनीतिक रमाइलो’ ले ओझेलमा नागरिकका मुद्दा

Ekantipur •
November 05, 2026 • 02:31 AM
1
1 reads 0 reactions

नागरिकका दीर्घकालीन समस्या समाधान गर्नुपर्ने सरकार आरोप, नियुक्ति र विवादास्पद निर्णयको दैनिक चक्रमा अल्झिएको देखिन्छ।

विचार | ‘राजनीतिक रमाइलो’ ले ओझेलमा नागरिकका मुद्दा

नागरिकका दीर्घकालीन समस्या समाधान गर्नुपर्ने सरकार आरोप, नियुक्ति र विवादास्पद निर्णयको दैनिक चक्रमा अल्झिएको देखिन्छ।

वर्तमान सरकार गठनको पृष्ठभूमि जेन–जी आन्दोलनसँग जोडिन्छ, जेन–जी आन्दोलनको पृष्ठभूमि भने नागरिकमा बढ्दो निराशासँग । अवस्था यस्तो थियो– देशमा सधैं ‘राजनीतिक रमाइलो’ भइराख्थ्यो । सरकार गठन र विघटन नियमित प्रक्रिया थिए । आरोप, विरोध र बचाउमै सबैको राजनीतिक ऊर्जा खर्च भइरहेको देखिन्थ्यो । सुशासन, आर्थिक विकास र समृद्धिका नारा त लाग्थे तर नारामै सीमित हुन्थे । नियुक्तिहरू प्रायः विवादमा पर्थे । बेरोजगारी, महँगी र सामाजिक असुरक्षाले नागरिकमा असन्तुष्टि र निराशा बढ्दै थियो । अन्ततः विस्फोट भयो ।

त्यही जगमा गठन भएको सरकार पनि ‘राजनीतिक रमाइलो’ को वितरणमै मग्न भएको देखिन्छ । ऊ मुलुकको मुख्य कार्यभारबाट बेपरवाह रहेको छनक मिल्छ । यस्तो स्थितिले नागरिकलाई केही समय भुलाउन सक्छ तर समस्याको दीर्घकालीन समाधान हुँदैन । त्यसले युवामा असन्तुष्टि र निराशा बढाउन सक्छ । त्यो विस्फोट हुनुअघि नै सरकारले नागरिकका खास समस्या समाधानको संस्थागत आधारलाई बलियो बनाउँदै लैजानुपर्छ ।

सैद्धान्तिक रूपमा समाज र राजनीति तरंगित भएकै राम्रो हो । त्यसले आममानिसलाई महत्त्वपूर्ण बहसको हिस्सा बनाउँदै लैजान्छ । समाजमा लोकतन्त्र संस्थागत पनि हुन्छ । तर, त्यस्तो तरंग समाजको मूल आवश्यकता र दिशासँग भने तादत्म्य हुनुपर्छ । बलियो सरकारको प्राथमिकतामा नागरिकले भोग्दै आएका समस्याको दीर्घकालीन समाधान खोज्ने विषय प्राथमिकतामा पर्नुपर्ने हो । यतिबेला नेपाली युवा बेरोजगारीबाट प्रताडित छन् । त्यसैले रोजगारी सिर्जना गर्नका लागि अपनाउनुपर्ने रणनीतिमा व्यापक विमर्श भइरहेको र सरकारले पनि पहल गरिरहेको विषयले महत्त्व पाउनुपर्ने हो । रोजगारी सिर्जना गर्न लगानी चाहिन्छ, लगानीका लागि लगानीकर्ता प्रोत्साहित गर्नुपर्ने हुन्छ, प्रोत्साहनका लागि कानुनी र राजनीतिक वातावरण बनाउनुपर्छ र सरकारले पूर्वाधारमा लगानी गर्नुपर्छ ।

सरकारले पुँजीगत खर्च बढाउनुपर्छ । पुँजी निर्माण हुने, रोजगारी सिर्जना हुने र चाँडै प्रतिफल प्राप्त हुने आयोजनामा सरकारले लगानी गर्न सक्दा अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान हुँदा नै आर्थिक प्रगतिका सम्भावना र अवसरहरू खुल्दै जान्छन् । जब हरेक वर्ष श्रम बजारमा आउने युवाको ठूलो संख्या बेरोजगारीबाट प्रताडित छ भने त्यसको सम्बोधन गर्ने विषय पो पहिलो प्राथमिकतामा पर्नुपर्छ । तर, सरकार बनेको सात महिनामा यस्ता विषय प्राथमिकतामा पर्न सकेको छैन ।

केही महिनायता कैयौं समूह र उपसमूहका वस्तुको मूल्य बढेको छ । नागरिकले सहजै खाना पकाउने ग्यास पाउन सकेका छैनन् । भान्छा महँगो भएको छ । परिवारका विकल्प र आकांक्षा खुम्चिएका छन् । हरेक परिवार महँगीले प्रताडित भइरहँदा, ग्यास नपाएर छटपटिरहँदा सरकारले बलियो पहल गरेको अनुभूति हुँदैन । कसका कारण मूल्य बढ्यो वा अभाव सिर्जना भयो भनेर सरकारले नागरिकलाई प्रस्टसँग बताउँदैन । समस्या यतिमै सकिँदैन । एउटा परिवारको सबैभन्दा ठूलो चिन्ता बालबालिकाको शिक्षा र परिवारका सबै सदस्यको स्वास्थ्योपचार शुल्कसँग जोडिएको छ ।

संविधानमा जेसुकै लेखिए पनि शिक्षा तथा स्वास्थ्यले धेरै परिवारको आम्दानीको अधिकांश हिस्सा लिइरहेका छन् । रोजगार भए पनि बचत हुन नसक्दा हरेक परिवार आर्थिक जोखिम खेप्न बाध्य छन् । बेरोजगारले खेप्नुपर्ने सामाजिक, पारिवारिक तथा अन्य दबाब झन् चर्को छ । आर्थिक समस्याले सिर्जना गरेको पारिवारिक कलहले मध्यमवर्गीय परिवारहरू संकटग्रस्त छन्, विघटन खेपिरहेका छन् । वैदेशिक रोजगारी हाम्रो बाध्यता हो । तर प्रमुख गन्तव्य मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । विभिन्न गन्तव्य मुलुकमा देखिएको संकटका कारण असुरक्षा बढ्दो छ, अवसर खुम्चिँदो छ । यस्ता समस्यातर्फ सरकार गम्भीर भएको पाइँदैन ।

विरासतमै प्राप्त समस्या मात्रै होइन, वर्तमान सरकार गठन भएपछि ऊ स्वयंद्वारा सिर्जना भएका वा गरिएका समस्याको कुशलतापूर्वक समाधान हुन सकेको छैन । गत वैशाखमा हठात् सुकुमवासी बस्तीमाथि बल प्रयोग गरियो, डोजरको आतंक सिर्जना गरियो । आतंकित र निरीह भएका सुकुमवासीले आफूलाई राज्यसँगै समर्पित गरे । त्यस क्रममा परिवारको आर्थिक–सामाजिक आधार भत्कियो, बालबालिकाको पढाइ बिथोलियो, सबैको जीवन बिचल्लीमा पर्‍यो । अन्ततः तिनको प्रभावकारी व्यवस्थापन हुन सकेन ।

उनीहरू खोला तथा नदी किनारमै हुनुपर्थ्यो भन्ने होइन तर उनीहरूको जीवन थप गुणस्तरीय भयो त ? भएन । किनकि, उनीहरूलाई हेपियो, बेइज्जती गरियो, हैरान दिइयो, गलाइयो । अन्ततः अलपत्र पारियो । अर्को सन्दर्भका रूपमा भोटेकोशी बाढीपीडितलाई हेर्न सकिन्छ । विपद्कारी बाढी आएको दुई महिना बितिसकेको छ । मृत्यु हुने र बेपत्ता हुनेका आफ्नै दुःखान्त छन् । तर, प्रभावितको पुनःस्थापना, किरिया खर्च, आवास र जीविकोपार्जनमा राज्यको भूमिका कमजोर देखिएको छ । यसरी राज्यले हरपल साथ दिनुपर्नेहरू नै राज्यको बेवास्ता खेपिरहेका छन् ।

सरकारद्वारा आह्वान भइसकेको संसद् अधिवेशन अन्त्य गरिन्छ र अध्यादेश जारी गरिन्छ । एउटै अध्यादेशबाट १५ सय हाराहारीलाई पदमुक्त गरिन्छ तर कतिपयलाई पुनः नियुक्ति दिइन्छ । पूर्वप्रधानन्यायाधीशलाई ‘सुरक्षा दिन’ भन्दै मध्यरातमा नियन्त्रणमा लिइन्छ । अख्तियारका आयुक्तहरूलाई प्रधानमन्त्री कार्यालयमा धम्क्याएर सरकारको रुचिअनुसार निर्णय लिन बाध्य पारिन्छ । उद्योगीका घरमा घण्टौंसम्म खानतलासी लिइन्छ, पक्राउ गरिन्छ, तेजोवध गरिन्छ । समाचार लेखेकै कारण पत्रकारहरू पक्राउ पर्छन् तर कसले र किन पक्रियो भनेर खुलाइँदैन । विगतका सरकारलाई माथ दिने गरी विवादास्पद नियुक्तिहरू गरिन्छ ।

एक जना बिचौलिया इनम सापकोटा पक्राउ परेपछि उसलाई केन्द्रमा राखेर निष्पक्ष ढंगबाट विस्तृत छानबिन गर्ने, अनियमितता र सेटिङमा संलग्नलाई कानुनअनुसार कारबाही गर्ने र राज्य संरचनामा शुद्धीकरण सुनिश्चित गर्नेभन्दा दैनिक रोमाञ्च सिर्जना गर्न खोजिएको छ । बुधबार सरकारले नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । यस्ता धेरै विषय छन्, जसकारण राजनीति सधैं सनसनीपूर्ण भइरहने, मानिसको अधिकांश हिस्सा यस्तै विषयमा चर्चा गरेर बित्ने तर दैनिक समस्या भने ओझेल पर्ने स्थिति बनेको छ ।

सैद्धान्तिक रूपमा समाज र राजनीति तरंगित भएकै राम्रो हो । त्यसले आममानिसलाई महत्त्वपूर्ण बहसको हिस्सा बनाउँदै लैजान्छ । समाजमा लोकतन्त्र संस्थागत पनि हुन्छ । तर, त्यस्तो तरंग समाजको मूल आवश्यकता र दिशासँग भने तादत्म्य हुनुपर्छ । नेपाली समाज यतिबेला यही विरोधाभासपूर्ण स्थितिबाट व्यतीत भइरहेको छ भन्ने प्रशस्त आधार छन् । यतिबेला बहस हुनुपर्ने थियो– शिक्षा, स्वास्थ्यलाई सुलभ र गुणस्तरीय बनाउने विषय । महँगी नियन्त्रणको विषय ।

समय र विश्वव्यापीकरणसँगै बढेका नागरिकका महत्त्वाकांक्षा सम्बोधन हुन सक्ने परिस्थिति निर्माणको विषय । लगानी बढोत्तरी गर्ने विषय । रोजगारी सिर्जना गर्ने विषय । आर्थिक–बौद्धिक–सामाजिक क्षेत्रलाई चलायमान बनाउने विषय । सार्वजनिक यातायातदेखि सरकारी सेवा प्रवाहलाई गुणस्तरीय बनाउने विषय । आज हरेकजसो व्यक्ति संकटमा छ । यद्यपि, समस्याको कारण ऊ होइन, समाज र यसअन्तर्गतका संस्थाहरू नै संकटमा पर्दा त्यसको असर व्यक्ति–व्यक्तिमा परेको हो । ती संकट हल गर्नका लागि विषयकेन्द्रित बृहत् बहस आवश्यक छ । तर हामी अन्तै कतै अल्झिरहेका छौं ।

केही दिनको अन्तरालमा सिर्जना हुने ‘राजनीतिक रमाइलो’ ले सार्थक बहसका लागि अवरोध सिर्जना गरिरहेको छ, ध्यान विकेन्द्रित गरिरहेको छ । मानिस आफ्नै समस्या भुलेर ‘राजनीतिक रमाइलो’ को हिस्सा बनिरहेका छन्, प्रोत्साहित भइरहेका छन् । यसले सरकारलाई त फाइदै पुर्‍याएको हुनुपर्छ किनकि नागरिक अन्तै भुलेका छन्, ऊप्रति प्रश्न गरिरहेका छैनन् । हिसाबकिताब मागिरहेका छैनन् । तर स्थिति यस्तै रहने हो भने नेपाली समाज असन्तुष्टि र निराशाको एउटा चक्रबाट फुत्किन नपाउँदै अर्को चक्रमा होमिने सम्भावनालाई नकार्न सकिँदैन ।

जस्ता असन्तुष्टि, निराशा र संकटले जेन–जी आन्दोलनलाई सार्थक तुल्याएको थियो, तिनको सम्बोधन हुन सकेको छैन । त्यसप्रति बलियो पहलकदमी भइरहेको सन्देश पनि स्थापित हुन सकेको छैन । नेपाली समाजमा विगतका शासकीय शैलीप्रति गम्भीर असहमति थियो, त्यसैले पनि अहिलेका ‘राजनीतिक रमाइलो’ का बीच पनि संस्थागत सुधारको आशा गरिरहेको हुन सक्छ । तर आशाकै पनि अवधि हुन सक्ने विषयप्रति सरकार गम्भीर हुनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
‘राजनीतिक रमाइलो’ ले ओझेलमा नागरिकका मुद्दा

‘राजनीतिक रमाइलो’ ले ओझेलमा नागरिकका मुद्दा

‘राजनीतिक रमाइलो’ ले ओझेलमा नागरिकका मुद्दा नागरिकका दीर्घकालीन समस्या समाधान गर्नुपर्ने सरकार आरोप, नियुक्ति र विवादास्पद निर्णयको दैनिक चक्रमा अल्झिएको देखिन्छ। कार्तिक १९, २०८३ सम्पादकीय वर्...

#दीर्घकालीन #समस्या #समाधान
Compare →
Nagarik News
1w ago
भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा

भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन्।

#समस्या #समाधान
Compare →
Bizshala
2w ago
भूमिहीन र सहकारी पीडितको समस्या समाधानमा सरकार प्रतिबद्ध : मन्त्री रावल

भूमिहीन र सहकारी पीडितको समस्या समाधानमा सरकार प्रतिबद्ध : मन्त्री रावल

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन नागरिक र सहकारी...

#समस्या #समाधान
Compare →
Arthasansar
2w ago
भूमिहीन र सहकारी पीडितको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ - मन्त्री रावल

भूमिहीन र सहकारी पीडितको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ - मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन नागरिक र सहकारी पीडित बचतकर्ताको समस्या समाधान गर्न सरकार...

#समस्या #समाधान
Compare →

Related Stories

Opinion & Editorial
Build #2611