विद्युत् सर्ट भएर आगलागी हुँदा मंगलटार घुर्चुमा घर, मतान र बाख्रा खोर जलेर नष्ट भएका छन् ।
खोटाङ — विद्युत् सर्ट भएर आगलागी हुँदा १६ लाख बढीको क्षति भएको छ । बुधबार राति विद्युत् सर्ट भएर हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार घुर्चुका कृष्णकुमार राईको घर, मतान र बाख्रा खोर जल्दा १६ लाख ५५ हजार बराबरको क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार बुधबार राति करिब १० बजेतिर आगलागी हुँदा करिब २० हजार नगद, दुई लाख बराबरको भाँडावर्तन, एक लाख ५० हजार बराबरको लत्ताकपडा, एक लाख १५ हजार बराबरको अन्नपात, ७० हजार बराबरको चौपाया, १० लाख बराबरको घर, मतान र बाख्रा खोर, एक लाख बराबरको इलेक्ट्रोनिक्स सामानहरू लगायत महत्त्वपूर्ण कागजातहरूसमेत गरी १६ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको हो ।
कृष्णकुमार वैदेशिक रोजगारीको सिलसिलामा बेलायतमा छन् । उनकी ५२ वर्षीया श्रीमती तारा र कान्छा छोरा बस्दै आएको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेश राउतले बताए ।
प्रहरी, स्थानीय र जनप्रतिनिधिको टोलीले आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीपछि बस्नका लागि अस्थायी टहरा बनाइएको उपप्रमुख राउतले सुनाए ।
डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।