नेपालका उत्पादनमूलक उद्योग सञ्चालन क्षमताभन्दा निकै कम रहेको र यो घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सम्बन्धी अध्ययनको तथ्यांकले यस्तो अवस्था देखाएको हो ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा उद्योगहरूको औसत क्षमता उपयोग ४२.१ प्रतिशत मात्र रहेको राष्ट्र बैंकले जनाएको छ । यो भुकम्प र कोभिडकालपछिकै सबैभन्दा कम हो । अध्ययन प्रतिवेदनले अनुसार पछिल्ला वर्षहरूमा उद्योगहरूको वार्षिक औसत क्षमता उपयोग निरन्तर घट्दो क्रममा रहेको देखाएको छ । आर्थिक वर्ष २०७९/८० मा उद्योगहरुकझ वार्षिक औसत क्षमता उपयोग ४९.८ प्रतिशत रहेको थियो । आव २०८०/८१ मा यो क्षमता उपयोग घटेर ४८.३ प्रतिशत कायम भएको थियो ।
आव २०८१/८२ मा आइपुग्दा यो क्षमता अझै घट्दै ४४.५ प्रतिशतमा सीमित भएको छ । गत आर्थिक वर्ष अर्थात् २०८२/८३ को पहिलो ६ महिनामा ४२.१ प्रतिशतमा झरेको हो । विगत एक दशकको तथ्यांक हेर्दा प्राकृतिक तथा मानवीय विपद्को अवस्थामा बाहेक उपयोग क्षमता ५० प्रतिशत भन्दा माथि नै रहेको देखिन्छ ।
विगत एक दशकमा उद्योगहरूको क्षमता उपयोगमा ठूलो उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो ६ महिनामा उद्योगहरूको क्षमता उपयोग हालसम्मकै उच्च ६० प्रतिशत पुगेको थियो। त्यस्तै, आव २०७४/७५ मा वार्षिक औसत उपयोग ५९.७ प्रतिशत थियो। भुकम्प, नाकाबन्दी र कोभिडको समयमा भने उद्योग सञ्चालन क्षमता सोभन्दा कम भएको देखिएको छ ।
नाकाबन्दी र भूकम्पपछिको समय अर्थात् आव २०७२/७३ को पहिलो ६ महिनामा क्षमता उपयोग घटेर ३९.५ प्रतिशत थियो । त्यस्तै, कोभिड महामारीको सुरुवाती समय अर्थात् २०७६/७७ को पहिलो आधा वर्षमा यो क्षमता ३९.८ प्रतिशत सम्म झरेको थियो। अहिलेको क्षमता पनि कोभिड, भुकम्प र नाकाबन्दीको समयजस्तै अवस्थामा देखिएको छ । अध्ययनका लागि आर्थिक वर्ष २०७६/७७ को पहिलो अर्धवार्षिक अवधिसम्म १३१ वटा उद्योगलाई अध्ययनमा समेटिएको थियो। यो दायरालाई बढाएर पछिल्लो समय १५४ वटा उद्योगहरूको उत्पादन र क्षमता उपयोगको नियमित अनुगमन गरिएको थियो ।
बजारमा समग्र मागमा आएको संकुचन, नेपालको जनासांख्यिक अवस्था एवं आयातित वस्तुहरूसँगको प्रतिस्पर्धाका कारण स्वदेशी उद्योगको क्षमता उपयोगमा ह्रास आएको राष्ट्र बैंकका अधिकारीहरुको विश्लेषण छ।