नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पत्ती ११ प्रतिशत भन्दा बढीले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ महिनासम्मको अवधिमा वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पत्ती ११.१५ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना (भदौ) सम्मको तथ्यांकअनुसार १९ वटा वाणिज्य बैंकहरूमा कुल गैर बैंकिङ सम्पत्ती ४७ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पत्ती ४२ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । गत आवको २ महिनाको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पत्ती ४ अबए ७८ करोड ५ लाख रुपैयाँ बढी हो ।
चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा १४ वटा वाणिज्य बैंकको गैर बैंकिङ सम्पत्ती बढेको छ भने ५ वटा वाणिज्य बैंकको गैर बैंकिङ सम्पत्ती घटेको छ । चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांक अनुसार वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा रहेको छ । चालु आर्थिक वर्षको भदौसम्म यो बैंकमा ६ अर्ब ४० करोड ९१ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ । जुन अघिल्लो आवको भन्दा ९.७४ प्रतिशतले धेरै हो । गत आवकोसोही अवधिमा बैंकको यस्तो सम्पत्ति ५ अर्ब ८४ करोड १ लाख रुपैयाँ थियो । केन्द्रीय बैंकको तथ्यांक अनुसार धेरै गैरबैंकिङ सम्पत्ति रहेको बैंकको दोस्रो नम्बरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । समीक्षा अवधिमा बैंकमा ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँबराबरको यस्तो सम्पत्ति रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५३.४३ प्रतिशतले धेरै हो ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको गैर बैंकिङ सम्पत्ती ५ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ बराबरको पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६.७५ प्रतिशतले घटेको हो । यो बैंकको गैर बैंकिङ सम्पत्ती गत आर्थिक वर्षको भदौ महिनासम्ममा ६ अर्ब ८ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति रहेको छ । चालु आर्थिक वर्षको भदौसम्म बैंकमा २७ करोड ७३ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको गैरबैंकिङ सम्पत्ति २.९७ प्रतिशतले घटेको हो । त्यस्तै चालु आर्थिक वर्षको दुई महिनामा एनआईसी एसिया, नबिल, कुमारी र एभरेष्ट बैंकले पनि अघिल्लो वर्षको तुलनामा गैरबैंकिङ सम्पत्ति घटाएका छन् । यी बाहेक अन्य बैंकको गैर बैंकिङ सम्पत्ती बढेको छ ।