अज्ञात समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहट — अज्ञात समूहको गोली प्रहारबाट रौतहटमा एक जना घाइते भएका छन् । अज्ञात समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घाइते यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा पुर्याइएको थियो । भने उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गएराति करीब सवा ९ बजेको समयमा यादवमाथि गोली प्रहार भएको र उनको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको छ ।
घटनास्थलमा पेस्तोलको तीन वटा खाली खोका फेला परेको प्रहरीले जनाएको छ । यादवमाथि कसले र किन गोली चलाएको भन्नेबारे अहिलेसम्म खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।