Trending
Prev Story
Next Story

ह्वाइट हाउस नजिकै गोली चल्यो : दुईको मृ*त्यु, चार घाइते

Nagarik News •
November 13, 2026 • 01:31 AM
1
1 reads 0 reactions

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बिहीबार बिहान गोलीबारीको घटना भएको छ।

ह्वाइट हाउस नजिकै गोली चल्यो : दुईको मृ*त्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बिहीबार बिहान गोलीबारीको घटना भएको छ। घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

बीबीसीका अनुसार वासिङ्टन डीसी प्रहरीका प्रवक्ताले गोलीबारीमा एक सर्वसाधारण र शंकास्पद हमलाकारीसहित दुई जनाको मृत्यु भएको बताए। प्रहरीले शंकास्पद हमलाकारीको मृत्युको कारण भने पुष्टि गरेको छैन।

यसअघि आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले शंकास्पद व्यक्तिले आफैँलाई गोली हानेको हुन सक्ने बताएका थिए।

वासिङ्टन डीसीका अन्तरिम प्रहरी प्रमुख जेफ्री डब्ल्यू क्यारोलले प्रहरी घटनास्थलमा ३० सेकेन्डभित्रै पुगेको जानकारी दिएका छन्। उनका अनुसार स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजेभन्दा केही अघि गोलीबारी भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो। गोली लागेर घाइते भएका चार जनालाई अस्पताल लगिएको छ। तीमध्ये एक जनाको अवस्था गम्भीर छ।

गोलीबारी सहरको मध्य भागमा रहेको लोगन सर्कल क्षेत्रमा १५औँ र पी स्ट्रिटको आसपास भएको हो। उक्त स्थान ह्वाइट हाउसबाट एक माइलभन्दा कम दूरीमा पर्छ।

प्रहरीले घटनास्थल आसपासका क्षेत्र सिल गरेको छ भने सर्वसाधारणलाई उक्त क्षेत्रमा नजान आग्रह गरेको छ।

प्रहरीका अनुसार गोलीबारीमा संलग्न शंकास्पद गोरा पुरुष हुन्। उनी एउटा भवनभित्र आफूलाई बन्द गरेर बसेपछि प्रहरीले घेरा हालेको थियो। बीबीसीको अमेरिकी साझेदार सञ्चारमाध्यम सीबीएसका अनुसार प्रहरीले पत्रकार सम्मेलन गर्नुअघि भवनभित्रबाट पुनः गोली चलेको आवाज सुनिएको थियो।

लोगन सर्कलस्थित एउटा जिमभित्र र त्यसको आसपास गोलीबारी भएको थियो। जिममा रहेका एक प्रत्यक्षदर्शीले सुरुमा एक्सरसाइज बल पड्किएको आवाज ठानेका थिए। तर पछि एक व्यक्तिलाई गोली लागेको थाहा पाए।

घटनास्थल नजिकै बस्ने बीबीसीका निर्माता जोनाथन सापोले गोली चलेको आवाज आफू निकै नजिकैबाट सुनेको बताए। उनले धुवाँ र चमक देखेपछि त्यहाँ रहेका मानिसहरू भाग्न थालेको जानकारी दिए।

वासिङ्टन डीसीको लोगन सर्कल क्षेत्रमा गोलीबारी भएको खबरपछि ठूलो संख्यामा प्रहरी तथा आपत्कालीन उद्धार टोली घटनास्थल पुगेका थिए। घटनास्थलमा दर्जनौँ आपत्कालीन सवारीसाधन परिचालन गरिएको थियो। ती सवारीसाधनका बत्ती बलिरहेका थिए भने घटनास्थलमाथि हेलिकप्टरसमेत उडिरहेको देखिएको थियो।

गोलीबारी हुँदा भवनभित्रै थिए बीबीसीका निर्माता

बीबीसीका निर्माता जोनाथन सापो गोलीबारी भएको भवनमै बस्दै आएका छन्। घटना हुँदा उनी भवनभित्रै थिए। उनका अनुसार फायर अलार्म बजेपछि उनी आपत्कालीन निकासमार्फत तल झर्दै थिए।

उनले भने, ‘म बाहिर निस्कँदै गर्दा मेरो निकै नजिकै गोली चल्न थाल्यो। मैले धुवाँ र चमक देख्न सक्थेँ। हामी सबै भाग्न थाल्यौँ। त्यतिबेला हाम्रो पहिलो प्रतिक्रिया त्यहाँबाट भाग्नु नै थियो।’

उनले आफूहरू भवन नजिकै लुकेको र त्यसपछि तत्कालै अर्को भवनभित्र सुरक्षित स्थानमा लगिएको बताए। उनका अनुसार फायर अलार्म बजेपछि करिब तीन मिनेटमै दमकल टोली घटनास्थल पुगेको थियो।

लोगन सर्कलस्थित विडा फिटनेस सेन्टरभित्र र बाहिर गोलीबारी भएको थियो। जिममा रहेका माइकल कार्नीले ‘वासिङ्टन सन’सँग कुरा गर्दै आफू ट्रेडमिलमा दौडिरहेका बेला विस्फोटजस्तो आवाज सुनेको बताए।

उनका अनुसार सुरुमा उनलाई कुनै एक्सरसाइज बल पड्किएको जस्तो लागेको थियो। तर त्यसपछि भुइँमा घाइते अवस्थामा एक व्यक्ति देखे। कार्नीका अनुसार जिममा रहेका मानिसहरू गमला र अन्य वस्तुको पछाडि लुकेका थिए। त्यही क्रममा फायर अलार्म बजाइएको थियो।

जिमबाट बाहिर निस्किएपछि नजिकैको गल्लीबाट पाँचदेखि १० पटकसम्म गोली चलेको आवाज सुनेको उनले बताए।

अर्का एक प्रत्यक्षदर्शीले जिमबाट बाहिर निकालिँदै गर्दा महिलाको चेन्जिङ रुमबाट ठूलो आवाज आएको र त्यसपछि जिमबाहिर पनि गोली चलेको आवाज सुनिएको बताए। उनले भने, ‘मलाई कुनै वस्तु ठोक्किएको वा खसेको जस्तो लागेको थियो। पछि मात्रै त्यो गोली चलेको आवाज रहेछ भन्ने थाहा पाएँ।’

आसपासका धेरै सडक बन्द, प्रहरीको घेराबन्दी

बीबीसीकी उत्तर अमेरिका सम्पादक सारा स्मिथका अनुसार प्रहरीले घटनास्थल आसपासका धेरै ब्लक सिल गरेको छ। क्षेत्रमा ठूलो संख्यामा आपत्कालीन उद्धार सवारीसाधन परिचालन गरिएको छ। उनका अनुसार प्रहरीले गोली लागेर पाँच जना घाइते भएको पुष्टि गरेको थियो। गोलीबारीमा संलग्न शंकास्पदले आफू रहेको भवनभित्रै आफूलाई बन्द गरेर बसेका थिए। बीबीसी

प्रकाशित: २७ कार्तिक २०८३ ०७:१६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
12h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#ह्वाइट #हाउस #नजिकै
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटना: मृतक १४ जनाकै पहिचान खुल्यो

भीमफेदी दुर्घटना: मृतक १४ जनाकै पहिचान खुल्यो

बिहीबार बिहान भएको दुर्घटनामा एउटै गाउँका १३ जनासहित चालकको मृत्यु भएको छ भने ६ घाइतेमध्ये तीनजनालाई थप उपचारका लागि रिफर गरिएको छ।

#बिहीबार #बिहान
Compare →
Hamro Patro News
1d ago
अपडेट : भीमफेदी दुर्घटना एकै परिवारका ६ सहित १४ जनाको मृत्यु

अपडेट : भीमफेदी दुर्घटना एकै परिवारका ६ सहित १४ जनाको मृत्यु

हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा आज बिहीबार बिहान विद्युतीय माइक्रोबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। मृत्यु हुनेका एकै परिवारका छ रहेका छन्। दुर्घटनामा परी छ...

#बिहान #त्यु
Compare →
Onlinekhabar
10h ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको …

#त्यु #घाइते
Compare →

Related Stories

World News
Build #2611