सोलुखुम्बुको फेरिचेमा अवतरणका क्रममा मंगलबार दुई हेलिकोप्टर आकाशमा ठोकिएर भएको दुर्घटनाले पाइलटबीचको सञ्चार, समन्वय र ‘सिचुएसनल अवेयरनेस’ माथि प्रश्न उठाएको छ ।
काठमाडौँ — सगरमाथा क्षेत्रमा मंगलबार बिहान मौसम सफा थियो । समुद्री सतहबाट करिब ४ हजार ३ सय ७१ मिटर उचाइमा रहेको सोलुखुम्बुको फेरिचेस्थित हेलिप्याडमा दुई हेलिकोप्टर अवतरणको तयारीमा थिए । तर जमिनबाट दुई–तीन मिटर माथि रहँदा दुवै हेलिकोप्टर आपसमा ठोकिए । एक यात्रुको मृत्यु भयो, दुई जना घाइते भए । अब मुख्य प्रश्न सफा आकाशमा पाइलटको ‘पूर्ण नियन्त्रण’ मा रहेको हेलिकोप्टर कसरी दुर्घटना भयो भन्ने हो । यस घटनाले फेरि एक पटक नेपालको हवाई सुरक्षामाथि पनि गम्भीर प्रश्न उब्जाएको छ ।
बिहान ८ बजेर १२ मिनेट जाँदा भएको दुर्घटनामा भारतको चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको छ । उनी फिस्टेल एयरको हेलिकोप्टरमा सवार थिए । त्यही हेलिकोप्टरमा रहेका भारतीय मूलका न्युजिल्यान्डेली नागरिक शैलेशकृष्ण पटेल र फिस्टेल एयरकै कमान्डर पाइलट रवीन्द्र प्रधान घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी काठमाडौं ल्याइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर डाइनेस्टीको एएस ३५० हेलिकोप्टर (९एन–एओडी) लुक्लाबाट सामान लाएर फेरिचे आउँदै थियो । फिस्टेल एयरको एएस ३५० (९एन–एजेआर) भने दुई विदेशी यात्रुलाई लिएर गोरक्षेपबाट फेरिचे आएको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको दृश्यमा फिस्टेलको हेलिकोप्टर तीव्र गतिमा तल झर्दै गरेको र जमिनमा रहेका कर्मचारीले सावधानी अपनाउन संकेत गरिरहेको देखिन्छ । त्यसै क्रममा विपरीत दिशाबाट अवतरण गर्न खोजिरहेको फिस्टेलको हेलिकोप्टर एयर डाइनेस्टीको हेलिकोप्टरसँग ठोकिएको देखिन्छ । एयर डाइनेस्टीको रोटर ब्लेड फिस्टेलको यात्रु क्याबिनमा ठोकिएको थियो ।
प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले प्रारम्भिक विवरणले पाइलटबीच सञ्चारमा समस्याको संकेत गरेको बताए । ‘प्रारम्भिक विवरणअनुसार पाइलटहरूबीच सञ्चारमा समस्या भएको देखिन्छ । उक्त क्षेत्र लुक्ला विमानस्थलको हवाई ट्राफिक नियन्त्रण टावरको पहुँचबाहिर रहेकाले पाइलटहरूले आपसमा सञ्चार गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘हामी घाइते पाइलटको बयान रेकर्ड गरिरहेका छौं ।’
यसको अर्थ फेरिचेमा विमानस्थलजस्तो हवाई ट्राफिक नियन्त्रण प्रणाली नभएकाले त्यहाँ उडिरहेका हेलिकोप्टरले एकअर्काको अवस्थाबारे आफैं सूचना आदानप्रदान गर्नुपर्ने हुन्छ । त्यही समन्वयमा कमजोरी भएको हो भने दुर्घटनाको अनुसन्धान पनि त्यसैमा केन्द्रित हुनेछ । मंगलबारको घटना सफा मौसम, खुला भूगोल र अवतरणका क्रममा दुवै हेलिकोप्टर एकअर्काको ‘रुट’ मा आउँदा भएको थियो । नेपालमा ९० प्रतिशत हवाई दुर्घटना कठिन भूबनोटका कारण हुने गरेको देखिएको छ ।
नेपाली सेनाका अवकाशप्राप्त ब्रिगेडियर जनरल तथा पूर्ववरिष्ठ हेलिकोप्टर पाइलट गुन्जमान लामा मंगलबारको जस्तो दुर्घटना हुनै नसक्ने बताउँछन् । ‘मौसम सफा भएको, फराकिलो उपत्यका रहेको र अगाडि हेरेरै उडान भइरहेको अवस्थामा यस्तो ठक्कर सम्भव नै हुनु हुँदैन,’ उनले भने, ‘यो चरम लापरबाही हो ।’
उनका अनुसार हेलिकोप्टरको प्राविधिक पाटोले पनि यस दुर्घटनालाई बुझ्न मद्दत गर्छ । रोटर प्रणालीका कारण हेलिकोप्टर एकै ठाउँमा स्थिर रहन, दिशा बदल्न तथा दायाँ–बायाँ र पछाडिसमेत जान सक्छ । त्यसैले अवतरणका क्रममा पाइलटसँग आफ्नो परिस्थितिअनुसार निर्णय लिने–सच्याउने पर्याप्त ठाउँ र समय हुन्छ । ‘त्यसमाथि पाइलट र जमिनमा रहेका कर्मचारीलाई कति हेलिकोप्टर उडिरहेका छन् र कहाँ छन् भन्ने जानकारी हुन्छ,’ लामाले भने, ‘यो गम्भीर घटना हो । भविष्यमा यस्ता दुर्घटना हुन नदिन यसको मूल कारण पत्ता लगाउनुपर्छ ।’
दुर्घटनाको अर्को सम्भावित कारण घामको तेजिलो किरण सिधै पाइलटको आँखामा पर्नु पनि हुन सक्ने अनुभवी पाइलटहरूको भनाइ छ । नेपाली सेनाका अवकाशप्राप्त कर्णेल तथा पूर्वपाइलट प्रतिज्ञ राणाले सामाजिक सञ्जालमा सार्वजनिक दृश्यका आधारमा दुर्घटनाका दुई सम्भावित कारण औंल्याए– घामको तेजिलो किरण । ‘घामको तेजिलो किरणका कारण दुवै पाइलटले केही समयका लागि अगाडि केही पनि नदेखेको हुन सक्छ,’ उनले भने, ‘यो एउटा सम्भावना हो, जसबारे पाइलटको रेकर्ड गरिएको बयानले थप स्पष्ट पार्न सक्छ ।’
उनका अनुसार अर्को सम्भावना दुई पाइलटबीच समन्वय अभाव हो । अन्यथा यस्तो प्रकारको दुर्घटनाको सम्भवना नहुने उनी बताउँछन् ।
नेपालमा यसअघि भएका हेलिकोप्टर दुर्घटनाको अनुसन्धानले पनि घामको तेजिलो किरणलाई सम्भावित कारणका रूपमा औंल्याएको थियो । जुन २०१५ मा माउन्टेन एयरको एएस३५० (९एन–एजेपी) हेलिकोप्टर दुर्घटनामा पनि घामको तेजिलो किरणका कारण पाइलटले अगाडि केही नदेखेको र त्यसपछि हेलिकोप्टर उच्च भोल्टेजको विद्युत् तारमा ठोकिएको आशंका गरिएको थियो ।
हेलिकोप्टर कम्पनीहरू बीचको पर्यटक बोक्ने अस्वस्थ प्रतिस्पर्धालाई मंगलबारको दुर्घटनाको कारण भन्दै सामाजिक सञ्जालमा प्रतिक्रियाहरू सार्वजनिक भए पनि जानकारहरू त्यसलाई मुख्य कारण मान्दैनन् । सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडानका लागि यात्रु संख्या र उडानमा विभिन्न प्रतिबन्ध छन् । लुक्लाबाट कालापत्थरसम्म बढीमा दुई यात्रु लैजान पाइन्छ । आधार शिविरमाथिबाट उडान गर्न पाइए पनि त्यहाँ अवतरण गर्न अनुमति छैन । स्थानीय समुदायले हेलिकोप्टरका कारण वातावरणमा असर परेको र पदयात्रासँग जोडिएका स्थानीय रोजगारी प्रभावित भएको गुनासो गर्दै आएका छन् । अर्कोतर्फ हेलिकोप्टर उच्चस्तरीय दृश्यावलोकन पर्यटनको महत्त्वपूर्ण हिस्सा भएको पर्यटन व्यवसायीको भनाइ छ ।
तर फेरिचेको दुर्घटनाले सगरमाथा क्षेत्रमा बढ्दो हेलिकोप्टर चाप र त्यसको व्यवस्थापनबारे पुरानो बहस फेरि सतहमा ल्याएको छ । सन् १९७९ यता नेपालमा ४३ हेलिकोप्टर दुर्घटना भएका छन् । तीमध्ये २३ मा मानवीय क्षति भएको छ । सगरमाथा क्षेत्रमा मात्रै आठ हेलिकोप्टर दुर्घटनामा परेका छन् ।
संगम प्रसाई काठमाडौं पोस्टका संवाददाता हुन् । उनी उड्डयन, पर्यटन, कृषि, पूर्वाधार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।