आधुनिकताको रफ्तारमा सुस्ताउँदै गएको घुम्ते कृषि–पशुपालन संस्कृतिलाई जोगाउनु भनेको हिमालको सौन्दर्य र नेपालको मौलिक आत्मालाई जोगाउनु हो ।
वैशाखको कलिलो घामले रुकुम पूर्वका तकसेरा र मैकोटका पाखामा हिउँको सेतो सिरक पन्छाउन नपाउँदै गाउँभरि एउटा सुस्त तर जीवन्त सलबलाहट सुरु हुन्छ । यो अंकुरित मुनाहरूको मात्र सलबलाहट होइन, शताब्दीऔंदेखि भूगोलको छातीमा कोरिएको एउटा शाश्वत जीवनचक्रको निरन्तरता हो । बागलुङ, ढोरपाटनको फराकिलो उपत्यका, ठाकुर, फागुने, जाल्पाधुरी, तकसेरा गाउँ नजिकै उभिएका चुङुरी, नर्सिङ, सेमखर्क, मैकोटको शिरमा खेलिरहेका गोराङ–पूर्वाङ, माजिला, कुण्डला र पुपालका अग्ला बुकी पाटनहरूले मन्द मुस्कानका साथ भेडाका बथानहरूलाई पुकार्छन् । तकसेरा गाउँका गोठालाहरू आ–आफ्ना भेडाका बथान, विश्वासिला भोटे कुकुर, नुनका बोरा, तामाका पातिला र राडी–पाखीका भारी कसेर उकालो लाग्छन् । ६ महिनाको लेकाली बसाइ जहाँ आमाको दूधजस्तै पोसिलो बुकी घाँस हुन्छ, यार्चागुम्बुको सुवास हुन्छ अनि कुहिरो र हिमाली हावासँगको अटुट मितेरी साइनो हुन्छ ।
तर, जब असोज–कात्तिकको चिसो सिरेटोले जाल्पाधुरी र पुपालका शिरलाई स्पर्श गर्छ, अनि उनीहरूको जीवनरेखा पुन: ओरालोतर्फ मोडिन्छ । हिउँदमा पारिलो घाम र भरिलो चरनको खोजीमा हिमाली खर्कहरू छाडेर भेडा गोठालाहरू गाउँ छोड्दै रुकुम, रोल्पा, सल्यान, प्यूठान, दाङ र सुर्खेतका चुरे मधेशतिर झर्छन् । ६ महिना उत्तरको उच्च हिमाल र ६ महिना दक्षिणको चुरे–तराई, हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले मौसम, चरन र जीविकोपार्जनको आवश्यकताअनुसार गतिशील बन्नु नै हिमाली पर्यावरण र संस्कृतिको जीवन्त सौन्दर्य हो, जसलाई मानवशास्त्र र भूगोलको भाषामा ‘ट्रान्सह्युमन्स’ अर्थात् घुम्ते पशुपालन प्रणाली भनिन्छ ।
मानवशास्त्रीय दृष्टिकोणबाट हेर्दा ‘ट्रान्सह्युमन्स’ केवल एउटा आर्थिक गतिविधि वा बस्तुभाउ पाल्ने उप्रान्त मेलो मात्र होइन । यो त प्रकृतिको कठोर ऋतुचक्रसँग मानिसले गरेको एउटा सौन्दर्यपूर्ण र बुद्धिमतापूर्ण सम्झौता हो । उच्च हिमाली भूगोलमा वर्षभरि एउटै ठाउँमा बसेर खेतीपाती वा पशुपालन सम्भव हुँदैन । प्रकृतिको नियम बुझेका हिमाली मानिसहरूले उचाइ र मौसमको विविधतालाई आफ्नो जीवनको लय बनाएका हुन् ।
प्रख्यात नर्वेजियन मानवशास्त्री फ्रेडरिक बार्थले सन् १९५० र ६० को दशकमा एसियाली तथा हिमाली समुदायको सामाजिक संरचनाबारे गरेको अध्ययनमा यस्तो गतिशील पशुपालन प्रणालीलाई प्रकृतिको इकोलोजिकल निश (पारिस्थितिकीय अनुकूलन) का रूपमा व्याख्या गरेका छन् । बार्थका अनुसार, हिमाली क्षेत्रका मानव र जीवजन्तुले भूगोलको उचाइअनुसार आफ्नो बसाइलाई परिवर्तन गरेर प्रकृतिका उपलब्ध स्रोतहरूको यस्तो प्रयोग गर्छन्, जसले गर्दा जमिन वा वनस्पतिमाथि कहिल्यै अति–दोहन हुँदैन । बर्खामा उच्च खर्कहरूमा पलाउने जडीबुटीयुक्त बुकी घाँसले भेडाबाख्रालाई पुष्ट बनाउँछ भने हिउँदमा तल्लो भेगका खेतका ठुटा र चुरेका झाडीले उनीहरूलाई चिसोबाट बचाउँछ ।
त्यसैगरी, जापानी अनुसन्धानकर्ता एच कुमागाई र क्रिस्टोफ भोन फ्युरर–हाइमेन्डोर्फ जस्ता अध्येताहरूले नेपालको उत्तरी सीमावर्ती क्षेत्र र शेर्पा तथा मगर समुदायमा विद्यमान घुम्ते कृषि–पशुपालन प्रणालीमा गहिरो अनुसन्धान गरेका छन् । उनीहरूका शोधले देखाउँछन्, यो प्रणालीले जैविक विविधताको संरक्षण मात्र गर्दैन, तल्लो र माथिल्लो भूगोलका समुदायबीच वस्तु विनिमय, सामाजिक सम्बन्ध र सांस्कृतिक पुलको काम पनि गर्छ । भेडा गोठालाहरू लेकबाट घिउ, छुर्पी, राडी–पाखी र जडीबुटी बोकेर बेंसी झर्छन् र बेंसीबाट चामल, नुन र लत्ताकपडा बोकेर लेक फर्कन्छन् । यो हिमाल र तराईलाई जोड्ने एउटा प्राचीन आर्थिक तथा सांस्कृतिक रेसम मार्ग (सिल्क रोड) जस्तै हो ।
रुकुमेली गोठालाहरूको जीवन साहित्यिक दृष्टिकोणबाट एउटा महाकाव्य जस्तै हो । उनीहरूको साथमा न त आधुनिक प्रविधिको सुविधा छ, न त सुविधासम्पन्न भौतिक संरचना । छ त केवल एउटा भोटे कुकुर, जसले बथानलाई चितुवा वा भालुको आक्रमणबाट जोगाउँछ । गोठालाको हातमा एउटा बाँसुरी र खुकुरी हुन्छ, जसको सुरमा बुकीका फूलहरू दंग पर्छन् । पुपाल वा जाल्पाधुरीको चुचुरोमा जब बेलुकीको कुहिरो ढल्किन्छ, आगोको धूवाँसँगै मुरलीको धुन र लोकभाका घन्किन्छन् ।
भेडाका पाठाहरूको म्याँ–म्याँ आवाज, गोठालाको सुसेली र हिमाली हुरीको सुसाइ मिलेर एउटा यस्तो प्राकृतिक संगीत सिर्जना हुन्छ, जसले सहरिया सभ्यताको कोलाहललाई धेरै टाढा छाडिदिन्छ । उनीहरूको राडी–पाखीको सिरकमुनि सपनाहरू मात्र होइनन्, हिमालको इतिहास र पुर्खाको कथा सुतिरहेको हुन्छ । यी गोठाला भूगोलका सच्चा पहरेदार हुन्, जसले सीमा र प्रकृति दुवैको रक्षा नि:स्वार्थ भावले गरिरहेका छन् ।
रुकुम पूर्वका ती ऐतिहासिक तकसेरा र मैकोटका पाटन बिस्तारै सुनसान बन्दै गएका छन् । हिजोका दिनमा हजारौं भेडाका बथानले सेतो कपास जस्तै ढाकिने पुपाल, फागुने र कुण्डलाका खर्कहरूमा आज भेडाहरूको संख्या उल्लेख्य घट्दै गएको छ ।
नयाँ पुस्ताका युवाहरू ६–६ महिना हिउँ र हुरीसँग जुध्ने कठोर गोठालो जीवन व्यतीत गर्न चाहँदैनन् । खाडी मुलुक वा युरोप–अमेरिकाको मोहले हिमाली पाखाका ऊर्जावान् हातहरूलाई सहर र विदेशतर्फ तानेको छ । पुर्खाको ऐतिहासिक पेसालाई निरन्तरता दिनुको साटो राहदानी बोकेर वैदेशिक रोजगारमा जानु युवाहरूका लागि बढी सुरक्षित र आकर्षक बनेको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र एफएओ जस्ता संस्थाहरूका अध्ययनले देखाएअनुसार, मध्यवर्ती क्षेत्र, संरक्षित क्षेत्र र सामुदायिक वनहरूको विस्तारसँगै परम्परागत चरन मार्गहरूमा कानुनी र व्यावहारिक अड्चन थपिएका छन् । गोठालाहरूले एक ठाउँबाट अर्को ठाउँमा जाँदा ठाउँ–ठाउँमा कर वा शुल्क बुझाउनुपर्ने, चरनमा प्रतिबन्ध भोग्नुपर्ने र वन संरक्षणका नाममा उनीहरूका परम्परागत अधिकार खोसिने अवस्था सिर्जना भएको छ । रुकुम पूर्वका यी भेडा खर्क ढोरपाटन सिकार आरक्षभित्र पर्ने भएकाले हरेक दिन गोठालाहरूले समस्या भोगिरहन्छन् ।
जलवायु परिवर्तनको प्रत्यक्ष मार हिमाली खर्कहरूमा परेको छ । समयमा हिउँ नपर्नु, बुकी घाँस समयमै नउम्रिनु, पानीका मुहानहरू सुक्दै जानु र तापक्रम अस्वाभाविक बढ्नाले गोठालाहरूका लागि मौसम अनिश्चित बनेको छ । भेडाबाख्रामा नयाँ–नयाँ रोगको प्रकोप देखिनु र पोसिलो चरन घट्नुले यो पेसा झन् जोखिमपूर्ण बनेको छ ।
भेडाको ऊनबाट बन्ने मौलिक राडी–पाखी, बख्खु जस्ता हस्तकलाका सामग्रीले उचित मूल्य र आधुनिक बजार पाउन सकेका छैनन् । सस्ता र आयातीत सिन्थेटिक कपडाहरूको अतिक्रमणले स्थानीय ऊन उद्योगलाई विस्थापित गरिदिएको छ । मिहिनेतको तुलनामा कम प्रतिफल पाइने भएपछि किसानहरू यस पेसाबाट पलायन हुन बाध्य छन् ।
घुम्ते संस्कृति जीविकोपार्जनको एउटा माध्यम मात्र होइन, नेपालको जीवन्त अमूर्त सांस्कृतिक सम्पदा हो । यो संस्कृति लोप भयो भने हामीले भेडाको बथान मात्र गुमाउने छैनौं, हिमाली पारिस्थितिकी प्रणालीको सन्तुलन, पुर्खाको ज्ञान र भूगोलसँग जोडिएको शताब्दीऔं पुरानो मौलिक पहिचान पनि सधैंका लागि गुमाउनेछौं । यसको संरक्षण र पुनरुत्थानका लागि राज्य र स्थानीय सरकारले तत्काल निम्न कदम चाल्न आवश्यक छ ।
रुकुम पूर्वका तकसेरा, मैकोट र ढोरपाटन क्षेत्रको ६ महिने घुम्ते गोठालो जीवनशैलीलाई विश्वव्यापी रूपमा न्यु ट्रान्सह्युमन्स ट्रेकिङ वा गोठालो पर्यटनका रूपमा प्रवद्र्धन गर्न सकिन्छ । स्वदेशी–विदेशी पर्यटकका लागि हिमाली गोठालाहरूसँगै पदयात्रा गर्ने, लेकाली जीवनको अनुभव लिने र स्थानीय परिकारको स्वाद लिने प्याकेजहरू बनाउन सकिन्छ ।
स्थानीय ऊनबाट निर्मित राडी–पाखी र बख्खुलाई गुणस्तरीय ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्नुपर्छ । यसका लागि स्थानीय तहले न्यूनतम समर्थन मूल्य तोक्ने वा अनुदानको व्यवस्था गर्नुपर्छ । गोठालाहरूका लागि लेकाली खर्कहरूमा सुरक्षित अस्थायी ओढार/सेल्टर, सौर्य ऊर्जा, सञ्चार सुविधा र भेडाबाख्राको नि:शुल्क खोप तथा पशु बिमाको सुनिश्चितता गरिनुपर्छ । सामुदायिक वन र राष्ट्रिय निकुञ्ज–आरक्षका नीतिहरू निर्माण गर्दा परम्परागत घुम्ते पशुपालकहरूको ऐतिहासिक चरन अधिकारलाई संरक्षण गर्ने गरी लचिलो नीति बनाइनुपर्छ ।
वैशाखमा उकालो लाग्ने र असोजमा ओरालो झर्ने रुकुम पूर्वका भेडा गोठालाहरूको यात्रा नेपालको भूगोल, संस्कृति र प्रकृतिबीचको अनुपम संसार हो । पुपाल र जाल्पाधुरीका पाटनहरूमा घन्किने बाँसुरीका धुन सदाका लागि मौन हुनुभन्दा अघि नै हामीले यो जीवनशैलीको महत्त्व बुझ्न आवश्यक छ ।
आधुनिकताको रफ्तारमा सुस्ताउँदै गएको यो घुम्ते संस्कृतिलाई जोगाउनु भनेको हिमालको सौन्दर्य र नेपालको मौलिक आत्मालाई जोगाउनु हो । हाम्रा लेकाली खर्कहरू रित्तिए भने हाम्रा हिमाल निर्जीव चट्टानका थुप्रा मात्र रहनेछन्, तिनमा स्पन्दन भर्ने गोठालाका पाइलाहरू फेरि कहिल्यै फर्कने छैनन् ।