तल्लो सदन ‘हाउस अफ रिप्रिजन्टेटिभ्स’का सबै ४३५ र माथिल्लो सदन ‘सिनेट’का कुल १ सयमध्ये ३५ सिटका लागि मतदान भइरहेको छ। यसका साथै देशका ३६ राज्यमा नयाँ गभर्नर चयनका लागि पनि आजै मतदान भइरहेको छ
वासिङ्टन — अमेरिकामा अहिले मध्यावधि (संसदीय) निर्वाचनमा सर्वसाधारणले विभिन्न राज्यमा मतदान गरिरहेका छन् ।
स्थानीय समयअनुसार मंगलबार बिहान सबैभन्दा पहिले भर्मन्ट राज्यमा मतदानका लागि बुथ खुला गरिएको थियो । त्यसपछि क्रमश: न्यु जर्सी, भर्जिनिया, कनेक्टिकट, केन्टकी, आलास्का, इन्डियानालगायत विभिन्न राज्यहरुमा मतदान भइरहेको छ ।
निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन अमेरिकी न्याय मन्त्रालयले देशैभरका ५० वटै राज्यमा १ हजार जना निर्वाचन अनुगमनकर्ता परिचालन गर्ने घोषणा मङ्गलबार गरेको थियो । निर्वाचनमा यति ठूलो संख्यामा पर्यवेक्षक खटाइएको यो पहिलोपटक हो ।
यसपटक तल्लो सदन ‘हाउस अफ रिप्रिजन्टेटिभ्स’का सबै ४३५ र माथिल्लो सदन ‘सिनेट’का कुल १ सयमध्ये ३५ सिटका लागि प्रतिस्पर्धा भइरहेको छ। यसका साथै देशका ३६ राज्यमा नयाँ गभर्नर चयनका लागि पनि आजै मतदान भइरहेको छ।
अमेरिकामा कुल २१ करोड मतदातामध्ये करिब ५ करोड ८० लाखले यसअघि नै ‘अर्ली इन-पर्सन’ तथा हुलाक (मेल-इन) मार्फत पहिले नै मतदान गरिसकेका छन् ।
यदि विपक्षी डेमोक्र्याटहरूले संसद्मा बहुमत हासिल गरेमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई आफ्ना नीतिहरु कार्यान्वयन गर्न कठिन हुनसक्छ । डेमोक्र्याटहरुले बढ्दो मूल्यवृद्धि र दैनिक जीवनमा देखिएका समस्यालाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् ।
सत्तारुढ रिपब्लिकन पार्टीका उम्मेदवारहरुले आप्रवासनमा गरिएको कडाई र विदेशी राष्ट्रहरुमाथि थोपरिएको भन्सार महसुलले अमेरिकी जनतालाई लाभान्वित बनाउने तर्क गरिरहेका छन् । यस निर्वाचनलाई ट्रम्पको दुई वर्षे कार्यकालको मूल्याङ्कनका रुपमा पनि हेरिएको छ ।
नेपाली समय अनुसार भोलि बिहान पौने ५ मतदान सम्पन्न भएसँगै पहिलो चरणको प्रारम्भिक नतिजा आउन सुरु हुनेछ। यद्यपि, अन्तिम र पूर्ण नतिजा आउन भने केही दिन लाग्न सक्ने अनुमान गरिएको छ।