सिए सुबास तिमल्सिना काठमाडौँको कुनै व्यस्त क्याफे वा घरको बैठक कोठामा बसेर मोबाइल एपमा रातो/हरियो रङ्ग हेर्दै हजारौँ नेपाली जनता दिन बिताउँछन् । कसैले तलबको एक हिस्सा जोगाएर शेयर किन्छ, कसैले सम्पत्ति बेचेर त कसैले ऋण लिएर । यी लगानीकर्ता सबैको एउटै सपना हुन्छ : “शेयर बजारले मलाई मालामाल बनाउँछ ।” तर एउटा असजिलो प्रश्न सोध्ने बेला भएको छ : “के हाम्रो पूँजी बजारले साँच्चै नयाँ धन सिर्जना गर्छ ? कि साना लगानीकर्ताको धन ठूलाको खल्तीमा सार्ने एउटा सुसंगठित प्रणाली मात्र बनिरहेको छ ?”
गहिरिएर हेर्ने हो भने, नेपालको पूँजी बजार आफैँमा मूल्य सिर्जना गर्ने ठाउँभन्दा बढी मूल्य स्थानान्तरण गर्ने ठाउँ भए जस्तो देखिएको छ । जहाँ पैसा भित्र्याउने भन्दा बाहिर लग्ने बाटोहरू बढी फराकिला र व्यवस्थित छन् ।
लकइन समयावधि खुलेपछि प्रमोटरको योजनाबद्ध निकास
सूचीकृत कम्पनीका प्रमोटर र कर्मचारीको शेयरमा कानूनी रूपले तीन वर्षे लकइन अवधि लाग्छ । यो व्यवस्थाले प्रमोटरलाई पहिले नै बजारबाट निस्कने योजना बनाउने मौका दिन्छ । अवधि सकिनासाथ प्रमोटरको शेयर बजारमा आउँछ, सर्वसाधारण लगानीकर्ताले त्यही शेयर प्रिमियम तिरेर किन्छन् र त्यो रकम प्रमोटरको खल्तीमा जान्छ ।
यहाँ बुझ्नुपर्ने कुरा के हो भने, यो शेयर बिक्री पछिको रकम कम्पनीका लागि नयाँ पूँजी होइन । यो पैसा कम्पनीको वासलातमा एक रुपैयाँ पनि थपिँदैन किनभने यो त द्वितीय बजारको साधारण कारोबार मात्र हो । बरु प्रमोटरले साथ लगेको पैसा प्रायः अर्को व्यवसाय, घरजग्गा, गाडी वा पूँजी बजार बाहेकको अन्य सम्पत्तिमा लगानी हुन्छ । यस्तोमा सर्वसाधारण लगानीकर्ताले कम्पनीको मालिक बनेको महसुस गरे पनि वास्तवमा उसले प्रमोटरको पूँजीको पलायनको योजनामा अन्जानमा सहभागी भइरहेको छ ।
यही प्रवृत्ति संस्थागत लगानीकर्ताहरूमा पनि उत्तिकै लागू हुन्छ । अधिकांश संस्थागत लगानीकर्ताहरूले कुनै सूचीकरण भएको कम्पनीमा प्रवर्द्धकको हैसियतमा प्रारम्भिक चरणमै लगानी गर्दा त्यसको एक्जिट प्लान बनाएर पहिले नै शेयरको निष्कासन तोकेर राखेका हुन्छन् । अर्थात् उनीहरूको लगानी सुरु हुने बित्तिकै त्यसबाट बाहिरिने बाटो पनि सँगसँगै बनाइसकेका हुन्छन् ।
यस्तो अवस्थामा प्रवर्द्धक शेयर अनलक हुने बित्तिकै यी संस्थाहरूले कति रकम बाहिर लैजान्छन् भन्ने प्रश्न पनि यस बहसको केन्द्रमा राख्नुपर्ने हुन्छ । किनभने यदि लगानीको मूल उद्देश्य नै कम्पनीलाई दीर्घकालीन रूपमा बलियो बनाउनु भन्दा बढी छिटो नाफा कमाएर निस्कनु हो भने, त्यसले सर्वसाधारण लगानीकर्ताको हितमा गम्भीर प्रश्न उठाउँछ ।
साना लगानीकर्तालाई ATM बनाउने प्रवृत्ति
नेपालमा IPO फाराम भर्ने ठूलो जनसङ्ख्याको उद्देश्य दीर्घकालीन लगानी होइन । यो छिटो नाफा (listing gain) कमाउनु हो । सूचीकरणको पहिलो दिनै देखि अप्पर सर्किट लाग्नासाथ बेचेर निस्कनु सामान्य भइसकेको छ ।
पूँजी प्रवाह बजार भित्र्याउने भन्दा बढी बगाउने मेसिन?
माथिका प्रवृत्ति जोड्दा एउटा गम्भीर ढाँचा देखिन्छ, बजारमा प्रवेश गर्ने ताजा पूँजीको गति भन्दा बाहिरिने गति निकै तीव्र छ । जबसम्म कसैले दीर्घकालीन धारक बनेर बस्दैन र सबैले अर्कोलाई बेचेर आफू उम्किने रणनीतिमै दौडिरहन्छन् तब सम्म यो बजार वास्तविक अर्थमा शून्य योगको खेल (zero-sum game) मै सीमित रहन्छ । जहाँ ढिलो प्रवेश गर्नेले प्रायः पहिले प्रवेश गरेर पहिले निस्किनेको घाटा व्यहोर्नुपर्छ ।
बोनस शेयरले काघजी सम्पत्ति देखाए पनि नगद हातमा आउँदैन, बरु कम्पनीको पूँजी बढाएर भविष्यको नाफा र प्रति शेयर आम्दानी नै पातलो बनाउँछ, जसले लगानीकर्तालाई तरलताको खाँचो पर्दा बेच्नै पर्ने बाध्यता सिर्जना गर्छ ।
नेप्सेमा दैनिक अर्बौँको कारोबार देखिए पनि यसको ठूलो हिस्सा नयाँ सिर्जित धन होइन — यो एक समूह (नयाँ, साना लगानीकर्ता) बाट अर्को समूह (प्रमोटर, छोटो अवधिको ट्रेडर, ऋणदाता बैंक) तिर हुने स्थानान्तरण मात्र हो । जबसम्म कम्पनीले उठाएको पूँजी वास्तविक उत्पादनशील परियोजनामा लगानी भई प्रतिफलको रूपमा फर्कने संस्कृति बस्दैन र लगानीकर्ता छिटो नाफाको सट्टा दीर्घकालीन साझेदारीको मानसिकतामा उन्मुख हुँदैनन्, तबसम्म नेप्से साँच्चै राष्ट्रिय पूँजी निर्माणको संयन्त्र भन्दा योजनाबद्ध निकासको सुरुङ बनिरहने जोखिम उत्तिकै टड्कारो देखिन्छ ।