Trending
Prev Story
Next Story

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

Arthasansar •
October 21, 2026 • 07:47 AM
1
1 reads 0 reactions

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ । यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउने काम अब विद्वान् र अनुभवी सङ्केतविद्मा मात्र सीमित नरहेको देखाएको छ ।

सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, सङ्ख्या र अक्षर प्रयोग गरिएका दुई दर्जन पङ्क्ति थिए । अनलाइन शैक्षिक अभिलेखमा लामो समयदेखि बेवास्तामा परेको यो सन्देश अमेरिकी एआई इन्जिनियर कार्टर चर्चले समाधान गरेका हुन् । २७ वर्षीय चर्चले च्याटजीपीटी निर्माता ओपनएआईको पछिल्लो मोडेल प्रयोग गरेर छ घण्टामै उक्त सङ्केत खुलाएका थिए । परम्परागत विधिबाट यस्तो काम गर्न हप्तौँ लाग्न सक्ने उनको भनाइ छ ।

अमेरिकी साइबर सुरक्षा कम्पनी सेन्टिनेलवनमा कार्यरत चर्चले सङ्केत खोल्ने प्रविधि वा त्यस समयको इतिहासबारे आफूलाई धेरै जानकारी आवश्यक नपरेको बताए । केही साँझको प्रयासपछि उनले जापानी पेटेन्ट इन्जिनियर सातोसी टोमोकियोसँग परामर्श गरेका थिए । टोमोकियोले समाधान नभएका पुराना सङ्केतहरूको अनलाइन सूची राख्दै आएका छन् ।

चर्चका अनुसार एआईको प्रमुख विशेषता निरन्तर प्रयास गर्ने क्षमता हो । सन्देशको रहस्य खुलेपछि आफूले ठूलो सन्तुष्टि र उत्साह अनुभव गरेको उनले बताए । टोमोकियोले आफ्नो वेबसाइट ‘क्रिप्टियाना’ मा सन् २०२६ लाई ऐतिहासिक सङ्केतहरूको रहस्य खोल्ने काममा निर्णायक वर्षका रूपमा सम्झिइने उल्लेख गरेका छन् । उनका अनुसार सेप्टेम्बरको मध्यदेखि आफ्नो सूचीमा रहेका अधिकांश सङ्केत एआईको सहायताले समाधान भइसकेका छन् ।

अनुसन्धानकर्ताहरूले यसअघि नै पुराना सङ्केत खोल्न एआई मोडेल विकास गरिरहेका थिए । तर, शक्तिशाली सामान्य प्रयोजनका एआई उपकरण सार्वजनिक भएपछि समाधान भएका सङ्केतको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । चर्चले ओपनएआईको जीपीटी–६ एस्ट्रा प्रयोग गर्नुभएको थियो भने अन्य अनुसन्धानकर्ताले अमेरिकी कम्पनी एन्थ्रोपिकका एआई उपकरण प्रयोग गरेका छन् ।

टोमोकियोले कठिन सङ्केतहरूमध्ये केही अझै रहस्यकै रूपमा रहने बताएका छन् । समाधानका लागि उपयोगी तथ्याङ्क कम भएका कारण ती सङ्केत खोल्न आगामी वर्षहरूमा पनि चुनौती हुन सक्ने उनको भनाइ छ । लामो समयदेखि अड्किएका समस्या समाधान भएकोमा आफू उत्साहित भए पनि एआईले ती समस्या सजिलै समाधान गरेको देख्दा मिश्रित भावना उत्पन्न भएको उनले बताए । एक सहकर्मी सङ्केतविद्ले त एआईका कारण आफूलाई बेकार महसुस भएको प्रतिक्रिया दिएको उनले सुनाए ।

गणितदेखि कम्प्युटर प्रोग्रामिङसम्म एआईले मानिसको क्षमता उछिनिरहेको अवस्थामा यसले रोजगारीको स्वरूप बदल्ने वा केही काम विस्थापित गर्ने चिन्ता पनि बढेको छ । तर, इतिहासको अध्ययनमा भने यसले नयाँ सम्भावना खोलेको छ । पुराना कागजातका सङ्केत खुलाउनेदेखि लाखौँ मध्ययुगीन पाण्डुलिपि विश्लेषण गर्ने र प्राचीन ग्रन्थ पढ्ने काममा एआई उपयोगी बनेको छ ।

इटालीमा अनुसन्धानकर्ताहरूले सन् ७९ मा भिसुभियस ज्वालामुखी विस्फोट हुँदा जलेर कार्बनमा परिणत भएका हर्कुलानियमका पपाइरस ग्रन्थ अध्ययन गर्न एक्स–रे र एआई प्रयोग गरिरहेका छन् । क्षति हुने जोखिमका कारण हातले खोल्न नसकिने सयौँ ग्रन्थमध्ये एउटा ग्रन्थलाई पूर्ण रूपमा भर्चुअल विधिबाट खोलेको घोषणा अनुसन्धानकर्ताहरूले जुनमा गरेका थिए । त्यसमा नैतिकतासम्बन्धी ग्रन्थ रहेको पुष्टि भएको थियो ।

त्यसैगरी, हिब्रू पाण्डुलिपिका एक करोड पृष्ठ प्रतिलिपि गरी यहुदी इतिहास र संस्कृतिका दुर्लभ स्रोत समेटिएको खोज्न मिल्ने विशाल अभिलेख तयार गर्न एआई प्रयोग भइरहेको छ । पेरिसस्थित इकोल प्राटिक दे ओत एतुदका परियोजना प्रमुख डेनियल स्टोक्ल बेन एज्राका अनुसार यति ठूलो परिमाणको तथ्याङ्क मानिसले एक्लै प्रशोधन गर्न सक्दैन ।

डिजिटल अभिलेखबाट तयार हुने तथ्याङ्कको भण्डारलाई उनले ‘विगतको विशाल फेसबुक’सँग तुलना गरेका छन् । यसबाट इतिहासमा मानिस, स्थान र विचारबिच रहेका सम्बन्ध पत्ता लगाउन सकिने अनुसन्धानकर्ताहरूको अपेक्षा छ । फ्रान्सको राजधानी पेरिसस्थित नोट्रडाम गिर्जाघरमा पनि एआई प्रणालीलाई मध्ययुगीन अभिलेखका १४ हजार ६०० ल्याटिन पृष्ठ प्रतिलिपि गर्न प्रशिक्षित गरिएको छ । यस परियोजनाले पुराना सङ्केत खोल्ने कामजस्तै जटिल ऐतिहासिक अभिलेख अध्ययन गर्न सघाएको छ ।

परियोजनाको नेतृत्व गरिरहनुभएकी इतिहासकार जुली क्लाउस्ट्रेका अनुसार ती अभिलेख मध्ययुगीन नोटरीहरूले निर्णयलाई छोटकरीमा लेखेका प्रशासनिक दस्तावेज हुन् । तिनमा प्राविधिक शब्दावली र जटिल लेखन शैली प्रयोग गरिएको छ । एआई प्रणालीले अक्षर पहिचानमा ८८ देखि ९४ प्रतिशतसम्म सफलता हासिल गरेको छ । यसबाट गिर्जाघरको दैनिक जीवन, निर्माण कार्य, कर्मचारी र परित्यक्त बालबालिकाको हेरचाहसम्बन्धी जानकारी फेला परेको छ ।

यस्ता अभिलेख हातैले प्रतिलिपि गर्न धेरै दशक लाग्ने क्लाउस्ट्रेले बताए । उनका अनुसार एआईको महत्त्व समय बचतमा मात्र सीमित छैन । यसले पहिले सम्भव नभएका प्रश्नमा अनुसन्धान गर्न सहयोग पुर्‍याउँदै इतिहास अध्ययन गर्ने तरिकामै परिवर्तन ल्याइरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
10h ago
एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट पछिल्लो एक महिनामा मात्रै कम्पनीको बजार पुँजीकरण १० खर्ब डलरभन्दा बढीले घटेको छ । अक्टुबरमा यो ५८ खर्बसम्म पुगेको थियो । कार्तिक २...

#एआई
Compare →
Onlinekhabar
1d ago
एआई लिखित पुस्तक घोटाला : तमिलनाडुको नवनिर्मित भव्य पुस्तकालय विवादमा

एआई लिखित पुस्तक घोटाला : तमिलनाडुको नवनिर्मित भव्य पुस्तकालय विवादमा

२६ कात्तिक, काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको एक सार्वजनिक पुस्तकालयले एआई प्रयोग गरेर तयार पारिएको आशंका गरिएका सयौँ पुस्तक खरिद गरेको आरोप लागेपछि भारतीय अदालतले अनुसन्धान गर्न आदेश दिएको छ। कोयम्बटुर शहरमा भर्खरै उद्घाटन …

#एआई
Compare →
Bizshala
1d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#एआई
Compare →

Related Stories

Technology
Build #2611