खराब ब्याटिङ गर्दै पोखराले २० ओभरमा नौ विकेट गुमाएर ९७ रन बनाएपछि लुम्बिनीलाई जितका लागि सामान्य लक्ष्य दिएको छ।
काठमाडौँ — नेपाल प्रिमियर लिग एनपीएल सिजन थ्रीमा पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्सले आफ्नो तेस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध पनि खराब ब्याटिङ प्रदर्शन गरेको छ। २० ओभरमा ९ विकेट गुमाउँदै पोखराले ९७ रन मात्र बनाउन सक्यो।
लुम्बिनीले टस जित्दै फिल्डिङ रोजेपछि ब्याटिङ थालेको पोखरा पूरै इनिङ्सभरि दबाबमा देखियो। कुनै समय मुमेन्टम आफ्नो पक्षमा पार्न नसकेको पोखरालाई अर्जुन कुमालको रूपमा पहिलो झट्का लाग्यो। सुरुआती दुई खेल बेन्चमा बसेका अर्जुनले ट्रम्पलमनका दुई बल मात्र सामना गर्न सके। इनिङ्सको दोस्रो बलमै उनी क्लिन बोल्ड हुँदा पावर प्लेमा २ विकेट गुमाएर २३ रन मात्र जोड्न सक्यो।
विपिन आचार्यलाई शेर मल्लले ७ रनमा फलो थ्रुमा समाते। कप्तान कुशल भुर्तेलमाथि इनिङ्स सम्हाल्नुपर्ने जिम्मेवारी थियो। तर खराब सट सेलेक्सनको सिकार बनेका कुशललाई १४ रन बनाएको अवस्थामा ट्रम्पलमनले क्याच आउट गराए। अघिल्ला खेलजस्तै यस खेलमा पनि स्टार्ट पाउँदा समेत उनले त्यसलाई ठूलो इनिङ्समा कन्भर्ट गर्न सकेनन्। शकिब अल हसनको ३ रनको इनिङ्समा लुम्बिनीका कप्तान रोहित पौडेलले ब्रेक लगाए। पोखराले ५० रन पूरा गर्न ८८ बल खर्च गर्यो।
माहेदी हसन र अर्जुन घर्तीबीच भएको १९ रनको साझेदारी नै पोखराका लागि आजको दोस्रो ठूलो साझेदारी भयो। तर महेदीले १३, अर्जुनले ६ र किरण ठगुन्नाले १२ रन मात्र बनाउन सके। नवौँ विकेटका लागि चमिका करुणारत्ने र विपिन खत्रीले २१ रनको साझेदारी गरे। जुन आज पोखराका लागि सबैभन्दा ठूलो साझेदारी भयो। चमिका करुणारत्ने सर्वाधिक २५ रन बनाएर रनआउट हुन पुगे। विपिन ६ रन र आकाश चन्द १ रनमा नटआउट रहे।
कुनै पनि समय पोखराका ब्याटरलाई खुलेर खेल्न नदिएको लुम्बिनीका लागि ट्रम्पलमनले ३ तथा तिलक राज भण्डारीले २ विकेट लिए। किशोर महतो, कप्तान रोहित र अभिशेष गौतमले १–१ विकेट लिए। यससँगै खराब ब्याटिङ गरेको पोखराले लुम्बिनीलाई जितका लागि ९८ रनको सामान्य लक्ष्य मात्र दिन सक्यो।
सुवास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।