कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल नेतृत्वको टोलीले मंगलबार सभामुख अर्याललाई छुट्टाछुट्टै भेटी शीघ्र संसद् बैठक बोलाउन सभामुखसँग माग गरेका हुन् ।
काठमाडौँ — विपक्षी दलहरु कांग्रेस र एमालेले संसद तत्काल बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन् ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल नेतृत्वको टोलीले मंगलबार सभामुख अर्याललाई छुट्टाछुट्टै भेटी संसदको बैठक तत्काल आह्वान गर्न आग्रह गरे । पछिल्लो राजनीतिक घटनाक्रम, न्यायालयमा देखिएका विवाद, पत्रकारमाथिको धरपकड तथा जनजीविकासँग सम्बन्धित समस्याबारे संसदमा छलफल गर्नुपर्ने भन्दै विपक्षी दलहरुले संसद बैठक शीघ्र बोलाउन सभामुखसँग माग गरेका हुन् ।
आङ्देम्बेले सभामुखसँगको भेटमा संसद बैठक चाँडो बोलाउन आग्रह गरेको जानकारी दिए । पछिल्लो समय सार्वजनिक भएका गम्भीर विषयमा संसदबाहिरबाट प्रतिक्रिया व्यक्त गर्नुभन्दा संसदभित्रै छलफल गरेर निकास खोज्नुपर्ने उनको भनाइ छ । उनले पत्रकारमाथिको धरपकड, न्यायालयसँग सम्बन्धित विवाद, प्रहरी प्रशासनलगायत राज्यका विभिन्न निकायमा देखिएका समस्या र प्रधानमन्त्री कार्यालयसँग जोडिएका विषयमा संसदमा गम्भीर छलफल गर्न आवश्यक रहेको बताए ।
‘अहिलेको जुन अत्यन्तै गम्भीर विषयहरू बाहिर आएको छ, त्यो संवेदनशील पनि छ । त्यसको विषयमा बाहिर बसेर धेरै क्रिया–प्रतिक्रिया व्यक्त गरिरहनुभन्दा संसद्बाट यसको विषयमा छलफल गराउनुपर्छ । यसका लागि संसद्को बैठक चाँडै बोलाउनुपर्छ,' उनले भने, 'अहिले प्रेसमाथि भएको जुन खालको घटना छ, अर्को न्यायालयका प्रति छ, अर्को प्रहरी प्रशासन लगायत अन्य धेरै निकायहरूमा छ ।'
एमालेकी उपनेता अर्यालले पनि सभामुखसँगको भेटमा संसद् तत्काल सञ्चालन गर्नुपर्ने विषय उठाएको जानकारी दिइन् । उनले पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्ने र समाचारको स्रोत खोज्ने गतिविधि लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर विषय भएको उल्लेख गरिन् । ‘जनताका आवाजहरुलाई मुखरित गर्ने थलो भनेको संसद हो । अहिले संसद नबसेको अवस्थामा एक खालका समस्या प्रकट भइरहेका छन् । पत्रकारहरुमाथि जुन खालको धरपकड भइरहेको छ, त्यो एकदम गम्भीर विषय हो,' उनले भनिन्, 'अनौठो के देखिन्छ भने अहिले सरकारदेखि प्रशासन, न्यायालय, राजनीतिक दलहरुमा जुन बिचौलियाको बिगबिगी चलिरहेको छ । यो के कारणले भइरहेको छ ? किन भइरहेको छ ? यसको कारणहरुको खोजी गर्ने र यसलाई निरूत्साहित गर्ने दायित्व पनि राजनीतिक दलहरुकै हो ।'
कांग्रेस संसदीय दलको नेतृत्वमा सोमबार बसेको विपक्षी दलको बैठकले पनि तत्काल संसद बैठक बोलाउन माग गरेको थियो ।