सहमतिपत्रमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव उमा भुजेल तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् ।
काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकताको सहमति भएको छ । दुवै पार्टीले पार्टी एकता र कम्युनिष्ट आन्दोलनको एकीकरण प्रक्रिया अघि बढाउन १० बुँदे सहमति गरेका छन् ।
मंगलबार भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ र चुनाव चिह्न पाँचकुने तारा रहनेछ । सहमतिपत्रमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव उमा भुजेल तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् ।
पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने र नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहने सहमतिपत्रमा उल्लेख छ । सहमतिअनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार पार्ने पार्टीको तात्कालिक कार्यनीति हुनेछ ।
दुवै पार्टीले आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति गरेका छन् । त्यसअघि केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायहरूमा सहमतिका आधारमा संगठनात्मक समायोजन गरिनेछ ।
सबै तहका पार्टी समिति र जनसंगठनहरूको समायोजन मंसिर मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पार्टी समितिहरूको सञ्चालन विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार हुने सहमतिपत्रमा उल्लेख छ ।
एकतापछि पार्टीले मूलतः शान्तिपूर्ण आन्दोलनको बाटो अपनाउने भए पनि समय र परिस्थितिअनुसार आन्दोलनका सबै रूप प्रयोग गर्न सकिने सहमति गरेको छ । सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनको मोर्चाका रूपमा लिइनेछ ।
दुई पार्टीबीच सिद्धान्त, विचार र विगतको समीक्षालगायत विषयमा रहन सक्ने मतभेदलाई निरन्तर छलफलमार्फत टुंग्याउँदै एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमति पनि भएको छ ।