डकार अक्वाटिक सेन्टरमा भएकाे पाैडी प्रतिस्पर्धाकाे १०० मिटर फ्रिस्टाइलमा अभिव प्रधानले हिट चरणमा समग्र १९ औं स्थानमा हासिल गरेका छन् ।
काठमाडौँ — सेनेगलको डकारमा भइरहेको युथ ओलम्पिक खेलकुदमा नेपाली पाैडी खेलाडी अभिव प्रधानले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेका छन् । निकै कम समयले उनी फाइनल चरण पुग्नबाट वञ्चित भए ।
डकार अक्वाटिक सेन्टरमा भएकाे पाैडी प्रतिस्पर्धाकाे १०० मिटर फ्रिस्टाइलमा अभिवले हिट चरणमा समग्रमा १९ औं स्थानमा रहे । उनले ५३.२० सेकेन्डमा दुरी पार गरेका थिए । उनी आफ्नाे हिटमा पहिलाेa स्थानमा रहेका थिए । हिट चरणमा कुल ६७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ५१.८६ सेकेन्डभन्दा कम समयमा दुरी पार गर्ने १० खेलाडी फाइनल चरण पुगेका छन् ।
महिलातर्फकी प्रतिस्पर्धी आर्या महर्जन महिला १०० मिटर फ्रिस्टाइलकाे हिट चरणकाे समग्र ५१ औं स्थानमा रहिन् । ६४ प्रतिस्पर्धीमा उनले १ मिनेट ०४.५१ सेकेन्डमा दुरी पार गरिन् । उनी आफ्नाे हिटमा चाैथाे स्थानमा थिइन् । उनले आइची नागाेया एसियाडमा पनि सहभागिता जनाएकी थिइन् । जापानमा उनले आर्याले १ मिनेट ०४.३५ सेकेन्डमा दुरी पार गरेकी थिइन् ।
उसु खेलाडी रश्मी तामाङ पनि अघिल्लाे चरणमा पुग्न सकिनन् । थाउलुको महिला चानक्वान कम्बाइन्डमा प्रतिस्पर्धा गरेकी रश्मी गुन्सुमा ११ औं स्थानमा रहिन् । उनले ७=०२६ स्काेर जोडिन् ।
चानक्वानमा ६.०९६ स्काेर गरेकी रश्मी कुल १३.१२२ स्काेरसहित पुछारमा रहिन् । १२ प्रतिस्पर्धीमा १६ देखि १८ स्काेर गर्ने खेलाडी फाइनल चरणमा पुगेका थिए । इजिप्टकी सान्दोस सोन्बलले १८=३८६ र भारतकी चानु राजकुमारीले १७.९८२ स्काेर जोडेर पहिलो दुई स्थानमा छन् । यस युथ ओलम्पिकमा नेपालका चार खेलाडीले भाग लिएका छन् । अर्को एक खेलाडीमा जुडोका शुभनन तिमिल्सिना छन् । उनले १०० केजीमुनि तौल समूहका माडगास्करका ब्रायन एन्टोनियोसँग अन्तिम १६ को चरणमा प्रतिस्पर्धा गर्नेछन् ।