Trending
Prev Story
Next Story

कर्णाली करिडोर : वर्षैपिच्छे म्याद थपिने, निर्माण गति नबढ्ने

Onlinekhabar •
November 03, 2026 • 04:30 AM
1
1 reads 0 reactions

१७ कात्तिक, सुर्खेत । भारतको सीमावर्ती जमुनाहदेखि चीनको सीमावर्ती हिल्सासम्म जोड्ने लक्ष्य राखिएको ५०५ किलोमिटर लामो कर्णाली करिडोरको र्ट्याक खोल्ने काम पूरा भएको छ । तर, सडकलाई स्तरोन्नति गरी सुरक्षित र वर्षभरि यातायात सञ्चालनयोग्य बनाउने …

कर्णाली करिडोर : वर्षैपिच्छे म्याद थपिने, निर्माण गति नबढ्ने

१७ कात्तिक, सुर्खेत । भारतको सीमावर्ती जमुनाहदेखि चीनको सीमावर्ती हिल्सासम्म जोड्ने लक्ष्य राखिएको ५०५ किलोमिटर लामो कर्णाली करिडोरको र्ट्याक खोल्ने काम पूरा भएको छ । तर, सडकलाई स्तरोन्नति गरी सुरक्षित र वर्षभरि यातायात सञ्चालनयोग्य बनाउने काम भने सुस्त छ ।

कर्णालीका दुर्गम बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने र भविष्यमा भारत–चीन व्यापारिक मार्गका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना निर्माणको नयाँ चरणमा प्रवेश गरे पनि निर्धारित समयमै सम्पन्न हुनेमा शंका बढेको छ ।

कतै सडक साँघुरो छ, कतै पहिरोको जोखिम छ त कतै पुल नहुँदा वर्षायाममा यातायात अवरुद्ध हुन्छ । अस्थायी ट्र्याक खुले पनि स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छैन ।

विशेषगरी कालिकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्लाको सल्लिसल्लासम्मको दक्षिण खण्डमा स्तरोन्नतिको काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । अर्बौं रुपैयाँका ठेक्का सम्झौता भएका सडक खण्डमा समेत प्रगति असमान छ । यही कारण समग्र आयोजना सम्पन्न गर्ने म्याद आर्थिक वर्ष २०८४/८५ बाट संशोधन गरी २०८९/९० पुर्‍याइएको छ ।

खुलालु–सल्लिसल्ला सडक योजनाअन्तर्गत १२३ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य छ । तर, आर्थिक वर्ष २०८२/८३ देखि निर्माण सुरु गरिएका पिलुचौर–कुवाडी र कुवाडी–तुम्च खण्डको प्रगति कमजोर देखिएको छ । आर्थिक वर्ष २०८३/८४ को असोजसम्म पिलुचौर–कुवाडी खण्डको वित्तीय प्रगति ३५ प्रतिशत छ भने कुवाडी–तुम्च खण्डको आठ प्रतिशत मात्रै ।

दुवै खण्डको निर्माणका लागि तीन अर्ब ८६ करोड रुपैयाँभन्दा बढीका ठेक्का सम्झौता भएका छन् । सम्झौताअनुसार दुवै खण्डको काम २०८५ असार २५ सम्म सम्पन्न हुनुपर्नेछ । तर, समग्र सडक योजनाको सम्पन्न गर्ने म्याद भने थप पाँच वर्ष पछाडि सारिएको छ ।

दुईवटा निर्माणाधीन खण्डको ठेक्का अवधि २०८५ असारसम्म हुँदा समग्र आयोजना सम्पन्न गर्न २०८९/९० सम्म किन लाग्ने भयो भन्ने प्रश्न उब्जिएको छ । बाँकी सडकको ठेक्का व्यवस्थापन, पुल निर्माण र निर्माणाधीन खण्डको काम निर्धारित समयमा अघि बढाउन नसकिए संशोधित लक्ष्यसमेत प्रभावित हुने जोखिम छ ।

अर्बौंको ठेक्का, निर्माणमा असमान प्रगति

कर्णाली करिडोर दक्षिण खण्ड खुलालु–सल्लिसल्ला सडक योजनाका प्रमुख विष्णु दाश लामाका अनुसार पिलुचौरदेखि कुवाडीसम्मको २३.७ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का पीएस कन्स्ट्रक्सनले पाएको छ ।

२०८२ असार २० गते सम्झौता भएको यस ठेक्काको रकम एक अर्ब ९० करोड १८ लाख ९८ हजार ७३७ रुपैयाँ ४२ पैसा छ । असोजसम्म यस खण्डको वित्तीय प्रगति ३५ प्रतिशत पुगेको लामाले बताए ।

त्यस्तै, कुवाडीबाट तुम्चसम्मको २६.३ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का सिंह–कन्टेक जेभीले पाएको छ । २०८२ असार २० गते नै सम्झौता भएको यस ठेक्काको रकम एक अर्ब ९५ करोड ८४ लाख ५२ हजार १५३ रुपैयाँ ७५ पैसा छ । तर, असोजसम्म यस खण्डको वित्तीय प्रगति आठ प्रतिशत मात्रै रहेको लामाले जानकारी दिए ।

दुवै ठेक्काको कुल रकम तीन अर्ब ८६ करोड तीन लाख ५० हजार ८९१ रुपैयाँ १७ पैसा छ । ठेक्काअन्तर्गत सडक संरचना निर्माण, रिजिड पेभमेन्ट, डीबीएसडी कालोपत्रे, ट्राफिक सुरक्षा र बायोइन्जिनियरिङका काम गर्नुपर्नेछ ।

एउटै समयमा सम्झौता भएका दुई सडक खण्डको वित्तीय प्रगतिमा देखिएको ठूलो अन्तरले निर्माण व्यवसायीको कार्यक्षमता र आयोजना व्यवस्थापनको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।

वित्तीय प्रगतिलाई मात्रै आधार मानेर निर्माणको वास्तविक अवस्था मूल्याङ्कन गर्न भने मिल्दैन । तर, आठ प्रतिशतको प्रगतिले कामको गति बढाउनुपर्ने आवश्यकता देखाउँछ । यसका लागि आयोजनाले ठेक्कागत भौतिक प्रगति, वित्तीय प्रगति, निर्माण व्यवसायीको परिचालन र कार्यतालिकाको नियमित अनुगमन गर्नुपर्ने देखिन्छ ।

१२३ किलोमिटर ट्र्याक खुल्यो, स्तरोन्नति अझै बाँकी

खुलालु–सल्लिसल्ला सडक योजनाको कुल लम्बाइ १२३ किलोमिटर छ । बाजुराको कोल्टीमा २०८० मंसिर १३ गते योजना कार्यालय स्थापना गरेर काम अघि बढाइएको थियो । आर्थिक वर्ष २०८०/८१ देखि छुट्टै कार्यालयमार्फत सडक स्तरोन्नतिको काम सुरु गरिएको आयोजना प्रमुख लामाले बताए ।

यसअघि खुलालु–पिलुचौर–सल्लिसल्ला सडकको र्ट्याक नेपाली सेनाले खोलेको थियो । अहिले उक्त सडकलाई दुई लेनमा स्तरोन्नति गरी कालोपत्रे गर्ने र आवश्यक स्थानमा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको प्रारम्भिक अनुमानित लागत १२ अर्ब रुपैयाँ छ । सम्पूर्ण सडक खण्डलाई कालोपत्रे स्तरमा स्तरोन्नति गर्दा लागत बढेर १४ अर्ब रुपैयाँसम्म पुग्न सक्ने आयोजना प्रमुख लामाले जानकारी दिए ।

आयोजना सम्पन्न गर्ने प्रारम्भिक लक्ष्य आर्थिक वर्ष २०८४/८५ थियो । तर, संशोधित लक्ष्य आर्थिक वर्ष २०८९/९० पुर्‍याइएको छ ।

लामाका अनुसार १२३ किलोमिटर सडकको र्ट्याक खोल्ने काम पूरा भइसकेको छ । त्यसमध्ये ५० किलोमिटर सडकको स्तरोन्नति आर्थिक वर्ष २०८२/८३ देखि भइरहेको छ । थप ४१ किलोमिटर सडकको ठेक्का व्यवस्थापन भइसकेको र चाँडै निर्माण सुरु गर्ने तयारी छ ।

यस सडक खण्डमा १५ वटा पुल आवश्यक पर्ने देखिएको छ । हाल सञ्चालनमा रहेका बेलीब्रिज विस्थापन गरी पक्की पुल निर्माण गर्नसमेत ठेक्का व्यवस्थापन भइसकेको लामाले बताए ।

तर, ट्र्याक खोल्नु र सडकलाई वर्षभरि सञ्चालनयोग्य बनाउनु फरक विषय हुन् । पहाडी भूगोल, भिरालो जमिन, खोलानाला र पहिरोको जोखिमका कारण नियमित मर्मत, नाली व्यवस्थापन, पक्की पुल र सुरक्षित मोड निर्माण आवश्यक हुन्छ । यी पूर्वाधार तयार नभएसम्म र्ट्याक खुलेको उपलब्धिले मात्रै नागरिकको यात्रा सहज बनाउन सक्दैन ।

उत्तर खण्डमा पनि स्तरोन्नतिको चुनौती

कर्णाली करिडोरको उत्तर खण्डअन्तर्गत हिल्सा–सिमिकोट–सल्लिसल्ला सडकको स्तरोन्नतिको काम पनि जारी छ । १४६ किलोमिटर लामो यस खण्डको ट्र्याक खोल्ने काम पूरा भएको योजना प्रमुख इन्जिनियर बेलबहादुर नेपालीले बताए ।

उनका अनुसार सल्लिसल्लादेखि खार्पुनाथसम्मको ३८ किलोमिटरमध्ये ३२ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ । बाँकी ६ किलोमिटर सडक ग्राभेल गर्न पनि ठेक्का व्यवस्थापन गरिएको छ ।

त्यस्तै, सिमिकोट–हिल्सा खण्डको ९५ किलोमिटरमध्ये ७२ किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको नेपालीले जानकारी दिए ।

उत्तर खण्डमा हिमाली भूगोल, प्रतिकूल मौसम र हिमपात निर्माणका प्रमुख चुनौती हुन् । निर्माणका लागि उपलब्ध समय सीमित हुने भएकाले वार्षिक कार्यतालिका, बजेट र निर्माण सामग्रीको आपूर्तिबीच समन्वय आवश्यक हुन्छ ।

चार लेनको प्रस्ताव, कार्यान्वयन कहिले ?

कर्णाली करिडोर निर्माणमा बजेटको निरन्तरता र खर्चको प्रभावकारिता पनि उत्तिकै महत्वपूर्ण छन् ।

सरकारले आर्थिक वर्ष २०८२/८३ मा कर्णाली करिडोरका लागि एक अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको थियो । आर्थिक वर्ष २०८३/८४ को बजेटमा भने कर्णाली, कालीगण्डकी र कोशी गरी तीनवटा उत्तर–दक्षिण करिडोरका लागि कुल ६ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले उक्त वर्ष कर्णाली करिडोरमा ३१ किलोमिटर सडक कालोपत्रे तथा ग्राभेल गर्ने लक्ष्यसमेत राखेको छ ।

कर्णाली करिडोरलाई भविष्यमा भारत र चीनबीचको व्यापारिक मार्गका रूपमा विकास गर्ने चर्चा पनि भइरहेको छ ।

सडक विभागको प्रस्तावअनुसार खुलालुदेखि हिल्सासम्मको सडक स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने अवधारणा अघि सारिएको छ । यसका लागि करिब ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रस्ताव कार्यान्वयनमा आए पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तर, चार लेनको महत्वाकांक्षी योजना अघि बढाइरहँदा अहिले निर्माणाधीन दुई लेन सडककै काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
चीन र भारतका टायल्ससँग नेपाली उद्योगले कसरी प्रतिस्पर्धा गर्दैछ?

चीन र भारतका टायल्ससँग नेपाली उद्योगले कसरी प्रतिस्पर्धा गर्दैछ?

स्पेनबाट प्रकाशित हुने अन्तर्राष्ट्रिय सिरेमिक उद्योगसम्बन्धी अनलाइन पत्रिका 'टायल वार्स' ले हालै नेपाली टायल उद्योगको सफलतामाथि एउटा विशेष विश्लेषणात्मक लेख प्रकाशित गरेको छ। चीनको विशाल उत्पादन ...

#भारत #चीन
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#कर्णाली
Compare →
Ekantipur
1d ago
लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

जितपछि लुम्बिनीपछि शीर्ष स्थानमा मात्र उक्लिएन, प्लेअफमा पनि स्थान सुरक्षित गर्यो । लुम्बिनीको ६ खेलमा ९ अंक पुगेको छ । काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स ८–८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । यस पराजयले कर्णालीको प्लेअफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ ।

#कर्णाली
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#कर्णाली
Compare →

Related Stories

Building & Construction
Build #2611