रौतहट प्रहरीले भारतबाट मोटरसाइकलको सिटभित्र लुकाएर ल्याइएको १० लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई सोमबार पक्राउ गरेको छ ।
रौतहट — रौतहट प्रहरीले भारतबाट मोटरसाइकलको सिटभित्र लुकाएर ल्याइएको १० लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई सोमबार पक्राउ गरेको छ ।
बौधिमाई नगरपालिका–७ स्थित बंकुल–नरकटिया सडकखण्डमा प्रहरी चौकी बंकुलबाट खटिएको टोलीले बीआर ०५ एएफ ३७८७ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा सिटमुनि १० लाख नेपाली रुपैयाँसहित भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, घोडासहनका ३३ वर्षीय टुना दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी बसन्त गौतमले जानकारी दिए ।
दासलाई पक्राउ गरेपछि रकमको स्रोत खुलाउन भनिएको थियो । तर, उनले उक्त रकमबारे केही बताएनन् । डीएसपी गौतमले पक्राउ परेका दासमाथि आवश्यक अनुसन्धान भइरहेको बताए ।
केही समययता सीमाक्षेत्रमा स्रोत नखुलेको रकम ओसारपसार बढेको पाइएको छ । उनीहरू हुन्डी कारोबारमा संलग्न रहेको हुन सक्ने प्रहरीको आशंका छ । पक्राउ परेका दासलाई सोधपुछ सुरु गरेको प्रहरीले जनाएको छ ।
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।