१० बलमा १६ रन बनाएर आउट भएका वार्नरले ब्याटिङमा ठूलो योगदान दिन नसके पनि आरिफुल इस्लामको क्याच लिँदै फिल्डिङमा प्रभाव छाडे ।
काठमाडौँ — कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला वरपरको माहोल महिनाअगाडिदेखि तातिएको थियो । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको पहिलो बल फ्याँकिनुभन्दा धेरै अघिदेखि नै एउटै नामले सबैको मुखमा राज गरिरहेको थियो, डेभिड वार्नर ।
जब अस्ट्रेलियाका ब्याटिङ हस्ती काठमाडौं ओर्लिएर मैदानतर्फ लागे, तब उनले एनपीएल इतिहासमै सबैभन्दा चर्चित अन्तर्राष्ट्रिय अनुबन्ध हुनुको भारी दबाब बोकेका थिए । तर फ्रेन्चाइज क्रिकेटको आफ्नै अनौठो विशेषता हुन्छ, जसले दिग्गजहरूलाई समेत धरातलमा ओराल्न सक्छ । कर्णाली याक्सविरुद्ध सोमबारको भिडन्तले क्रिकेटको अप्रत्याशित सुन्दरताको गतिलो पाठ सिकायो ।
केही क्षणका लागि भरिभराउ प्यारापिटका दर्शकको एकसाथ श्वास रोकियो । कर्णालीले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याउने जिम्मेवारीसहित वार्नर काठमान्डु गोर्खाजबाट इनिङ्स सुरुआत गर्न क्रिजमा पुगे । पहिलो बलदेखि नै मैदानमा उच्च नाटकीय क्षण बन्यो । आफ्नो चिरपरिचित आक्रामक मिजास देखाएपछि वार्नरको इनिङ्स १० बलमा १६ रनमै टुंगियो । कभर क्षेत्रमा सट प्रहार गर्ने प्रयासमा उनलाई कर्णालीका कप्तान सोमपाल कामीले बोल्ड गरिदिए । सोमपालको भित्रतिर स्विङ भएको बल ब्याट र प्याडबीचको खाली ठाउँबाट छिरेको थियो । डगआउटतर्फ सोमपालको उल्लासपूर्ण दौडाइले नै सबै कुरा बताउँथ्यो । किनकि यो त्यस्तो विकेट थियो, जसलाई एनपीएलका हरेक बलरले उपयोग गर्न चाहन्थे ।
तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल
काठमान्डुका कप्तान करण केसीले आफ्नो यथार्थवादी शैलीमा औंल्याएझैं टी–२० फ्रेन्चाइजको सफलता कुनै एक स्टार खेलाडीको नाममा मात्र टिकेको हुँदैन । करणले भनेका थिए, ‘एउटा कप्तानको रूपमा मलाई लाग्दैन कि विदेशी खेलाडीले मात्र हाम्रो खेल जिताउँछन् ।’
उनको भनाइझैं रोमाञ्चक मोडमा पुगेको खेलमा गोर्खाजलाई ४ विकेटको जित दिलाउँदा घरेलु खेलाडीको जुझारुपन र आकर्षक इनिङ्सले मुख्य भूमिका खेल्यो । रशिद खानको अर्धशतक र स्वयं कप्तान करणको छोटो तर आक्रामक ब्याटिङले वार्नरको छिटो आउट हुनुले टोलीको जितलाई असर पर्न दिएन ।
पहिलो खेलमा १६ रनमात्र जोडे पनि वार्नरको उपस्थिति एनपीएलकै लागि ठूलो उत्साह हो । मैदानमा उनको सुझबुझ र जुझारुपनले गोर्खाजको फिल्डिङ युनिटलाई उच्च मनोबल प्रदान गरेको थियो । उनले कर्णालीका इन–फर्म ब्याटर आरिफुल इस्लाम (२२ बलमा ४४ रन) को शक्तिशाली सटलाई उत्कृष्ट ढंगले क्याच गर्दै मैदानबाहिर पठाए ।
अझ कीर्तिपुरको मौसम र पिचको पहिलो अनुभव वार्नरका लागि थप विशेष रह्यो । खेल हुनुभन्दा २४ घण्टाभन्दा कम समयअघि मात्र नेपाल ओर्लिएका अनुभवी ओपनर वार्नर नेपाली प्रशंसकको जोसिलो हुटिङसँगै हौसिएका थिए ।
वार्नरको उपस्थितिले गोर्खाजको टोली सुदृढ र जोसिलो देखिएको छ । जुन कुरा कप्तान करणले पनि बताए । पछिल्लो खेलमा अझ उच्च प्रदर्शन गर्न कप्तान पनि आशावादी छन् ।
नायक पौडेल काठमाडौं पोस्टका खेल संवाददाता हुन् ।