सुदूरपश्चिम रोयल्सका शेरफन रदरफोर्डले एनपीएलले नेपालमा राम्रा खेलाडी उत्पादन गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै आफ्नो टिम यसपल्ट पनि उपाधिका लागि खेल्ने बताए ।
काठमाडौँ — सुदूरपश्चिम रोयल्सका वेस्ट इन्डिजका खेलाडी सेरफान रदरफोर्डले आफ्नो टिमले यसपल्ट पनि उपाधिकै लागि खेल्ने बताएका छन् । सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत सोमबार भएको खेलमा चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको हो ।
पोस्ट म्याच कन्फ्रेन्समा उनले भने, ‘हाम्रो टिम निकै राम्रो छ, त्यसैले हामी उपाधिकै लागि चुनौती दिने टिम हौं ।’ उनले आफ्ना कप्तान दीपेन्द्रसिंह ऐरीको पनि प्रशंसा गरे । उनले ऐरी सबैका लागि पछ्याउन लायक खेलाडी रहेको पनि बताए ।
रदरफोर्डले २१ रन पनि बनाए र नटआउट रहे । उनले थपे, ‘मैले एनपीएलको उज्ज्वल भविष्य देखेको छु । यो प्रतियोगिताले नेपालमा राम्रा खेलाडी उत्पादन गर्न मद्दत गर्नेछ । एनपीएलको म अन्य फ्रेन्चाइज क्रिकेट प्रतियोगितासँग तुलना गर्न चाहन्नँ, तर यसले अहिले राम्रो गरिरहेको छ ।’
कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितका लागि १ सय ३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । खेलका ‘प्लेयर अफ द म्याच’ ब्रान्डन म्याकमुलन भए र उनले २१ बलमा ४३ रन बनाए ।
तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल
उनले भने, ‘आजको जितले हामीलाई प्रतियोगिताको बाँकी खेलमा धेरै आत्मविश्वास दिनेछ । आजको खेल सजिलो थिएन, पिच पनि गाह्रै थियो ।’ उनले आफ्नो टिममाथि धेरै दबाब नरहेको पनि दाबी गरे ।
यो जितपछि सुदूरपश्चिमको चार अंक भएको छ । चितवन भने तीन खेलबाट तीनै अंकमा सीमित रह्यो । चितवनले पहिले ब्याटिङ गर्दै छ विकेटमा १ सय २९ रन बनाएको थियो ।
यसमा रवि बोपाराले ४० रन बनाए र यसैक्रममा उनले टी–२० क्रिकेटमा आफ्ना १० हजार रन पनि पूरा गरेका छन् । खेलपछि चितवनका कप्तान सिकन्दर राजाले भने, ‘मैले आज अनुशासित बलिङ गर्न सकिनँ, यो समस्या रह्यो । हामीले केही क्याच पनि छुटायौं ।’
राजा सोमबारको खेलका लागि बिहान मात्र आइपुगेका थिए । अघिल्लो दिन मात्रै उनी यूएईमा खेलिरहेका थिए । उनले आफ्ना बलर रञ्जित कुमारको पनि प्रशंसा गरे । रञ्जितले टिमको हारका बाबजुद उत्कृष्ट बलिङ गरे । उनले २८ रनमा तीन विकेट लिए ।