Trending
Prev Story
Next Story

नीति र एजेन्डा मात्रै होइन, डेलिभरी दिने कांग्रेस चाहिन्छ : विनोद चौधरी

Ekantipur •
October 08, 2026 • 05:59 PM
2
2 reads 0 reactions

‘एन्टी पोलिटिक्स’ को माहोल चिर्न कांग्रेसले आफ्नो काम गर्ने शैली नै बदल्नुपर्ने उपसभापति पदका उम्मेदवार विनोद चौधरी बताउँछन् । कान्तिपुरसँगको कुराकानीमा चौधरीले युवालाई आशा र देशमा अवसर दिने गरी आर्थिक रूपान्तरणको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

नीति र एजेन्डा मात्रै होइन, डेलिभरी दिने कांग्रेस चाहिन्छ : विनोद चौधरी

‘एन्टी पोलिटिक्स’ को माहोल चिर्न कांग्रेसले आफ्नो काम गर्ने शैली नै बदल्नुपर्ने उपसभापति पदका उम्मेदवार विनोद चौधरी बताउँछन् । कान्तिपुरसँगको कुराकानीमा चौधरीले युवालाई आशा र देशमा अवसर दिने गरी आर्थिक रूपान्तरणको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन चलिरहेको छ । महाधिवेशनमा शुक्रबार बिहानदेखि मतदानको प्रक्रिया अगाडि बढ्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा २९७ पदका लागि ८०० भन्दा बढी उम्मेदवारहरू चुनावी मैदानमा छन् । समावेशीतर्फ उपसभापति पदका उम्मेदवार रहेका पूर्वसांसद एवं उद्योगी विनोद चौधरी सँग जयसिंह महरा र विशाल कार्की ले गरेको कुराकानी ।

तपाईं अहिले संसदीय चुनावपछि पार्टीको चुनावी मैदानमा हुनुहुन्छ । कांग्रेसको यो महाधिवेशनलाई कसरी हेर्नुभएको छ ?

पार्टी सभापति गगन थापाले उद्घाटन सत्रमा र त्यसपछि पनि जुन कुरा भन्नुभयो, त्यसले मलाई साह्रै घत लाग्यो । हामीले भदौ २३–२४ लाई बुझ्न २०५१ सालपछि नेपाल कसरी चल्यो र खासगरी २०६२/६३ पछि कसरी चल्यो भनेर हेर्नुपर्छ । विश्व र हाम्रा छिमेकी राष्ट्रहरू तीव्रगतिमा अगाडि बढिरहेका बेला हामी सबैको पहुँच हुने अर्थतन्त्र निर्माण गर्न सकेनौं । सबैले आफ्नै देशमा गरिखाने वातावरण बनाउन सकेनौं ।

हरेक वर्ष चार–पाँच लाख नयाँ श्रमशक्ति बजारमा आउँछ, तर हामी ५० हजार रोजगारी पनि दिन सकिरहेका छैनौं । व्यापक भ्रष्टाचार, सेवा प्रवाहका हरेक संयन्त्रमा समस्या, ब्युरोक्रेसीदेखि अदालतसम्मको भागबन्डाले मुलुकप्रतिको आशा नै मरेको जस्तो अवस्था बन्यो । त्यसैको परिणाम भाद्र २३–२४ भयो ।

यसले नेपाली कांग्रेस मात्रै होइन, सबै पुराना राजनीतिक दलप्रति वितृष्णा बढाएको छ । पार्टी सभापतिले यसलाई ‘एन्टी पोलिटिक्स’ भन्नुभएको छ । यसको परिणामस्वरूप धेरै मुलुकमा फरक पृष्ठभूमिबाट आएका व्यक्तिहरू नेतृत्वमा पुगेका छन् । नेपालमा पनि त्यही भएको छ ।

त्यसैले अहिलेको निर्वाचनलाई कांग्रेसको सुधारसँग जोडेर हेर्नुपर्छ । कांग्रेसको सबैभन्दा महत्त्वपूर्ण एजेन्डा युवाको मनमा नयाँ आशा, जोश र आत्मविश्वास सिर्जना गर्नु हो । पार्टीको र्‍यांक एन्ड फाइलले पनि अब कांग्रेसको सबैभन्दा महत्त्वपूर्ण काम आर्थिक क्रान्ति हो भनेर बुझ्नुपर्छ ।

आर्थिक क्रान्तिका लागि कांग्रेसले के गर्नुपर्छ ?

आर्थिक क्रान्तिलाई सशक्त डेलिभरी मेकानिजमसहित अघि बढाउनुपर्छ । नीति र एजेन्डा नआएका होइनन्, नेताहरूका अभिव्यक्ति पनि नआएका होइनन् । तर त्यसले मात्र देश बन्दो रहेनछ ।

देश बनाउन विकासको एजेन्डालाई इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ । जुन क्षेत्रमा अनुभव कमाएका र आफ्नो ट्र्याक रेकर्डबाट केही गरेका व्यक्तिहरू छन्, उनीहरूलाई जिम्मेवारी दिँदा परिवर्तनको विश्वसनीयता र डेलिभरी मेकानिजम दुवै अघि बढ्छ ।

अहिले कांग्रेसले यही एजेन्डालाई प्राथमिकतामा राखेको छ । बीपीको फराकिलो सोच, सुवर्णशमशेरले पहिलो प्रजातान्त्रिक बजेटमार्फत अघि सारेको आर्थिक दृष्टिकोण र अहिलेको नेतृत्वले लिएको ‘समुन्नत नेपाल’ बनाउने संकल्पलाई समयअनुसार अघि बढाउनुपर्छ ।

यसपटक ३५ वर्षभन्दा कम उमेरका २० हजारभन्दा बढी प्रतिनिधि आएका छन् । नेपालभित्र र बाहिर रहेका नेपालीलाई पार्टीको महाधिवेशनमा मात्र होइन, पार्टी सञ्चालनका हरेक संरचनामा भूमिका खेल्ने वातावरण बनाउनुपर्छ । त्यसबाट युवामा नयाँ जोश, जागर र विश्वास पैदा हुन्छ ।

समावेशी प्रतिनिधित्व र नयाँ संरचनाका कारण यसपटक कांग्रेसको संगठन केही ठूलो भएको देखिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?

विशेष महाधिवेशनकै बेला मैले पार्टीभित्र नेतृत्व परिवर्तन हुनुपर्छ भनेर स्पष्ट रूपमा धारणा राखेको थिएँ । राजनीतिक नेतृत्वमा अनुभवसँगै जोश, जाँगर र एक्टिभिजम चाहिन्छ । युवाले र समाजले के खोजिरहेको छ भन्ने बुझेर त्यसलाई कार्यान्वयनमा उतार्न सक्ने क्षमता भएको नेतृत्व कांग्रेसमा स्थापित हुनुपर्छ ।

पछिल्लो छ महिनामा पार्टी जसरी अघि बढ्यो, प्रारम्भिक तयारीहरू संस्थागत रूपमा जसरी गर्‍यो र डेलिभरीलाई केन्द्रमा राख्यो, त्यसले मेरो आत्मविश्वास बढाएको छ । चुनावमा टिकट बाँड्नेदेखि महाधिवेशनसम्म एक पैसाको चन्दा नउठाई र आर्थिक चलखेलबिना प्रक्रिया अघि बढ्नु इतिहास बनेको छ ।

विशेष महाधिवेशनपछि बनेको संरचनामा बाहिर रहेका नेता–कार्यकर्ता पनि जोडिँदै गए । त्यसैले संगठन केही ठूलो र व्यापक बनेको हुन सक्छ । तर यसको आकारभन्दा मर्म र उद्देश्य महत्त्वपूर्ण हो । सल्लाहकारहरूलाई नामका लागि मात्र होइन, उनीहरूको ज्ञान र अनुभव उपयोग गर्ने गरी जिम्मेवारी दिनुपर्छ । राज्य सञ्चालनका जटिलता बुझाउन प्रतिनिधिहरूलाई प्रशिक्षणको अनिवार्य व्यवस्था हुनुपर्छ ।

राजनीतिक दलहरूमा उद्यमी, व्यवसायी र प्रोफेसनलप्रति विगतमा केही कुण्ठा देखिन्थ्यो । यसपटक त्यो बदलिएको हो ?

अहिले त्यो कुण्ठा शून्यमा पुगेको महसुस गरेको छु । उद्योग–व्यापार नाराले मात्र हुँदैन । राजनीतिको आफ्नै विशिष्ट स्थान छ । तर देश निर्माण र अर्थतन्त्र निर्माणका लागि डेलिभरी गरेको ट्र्याक रेकर्ड भएका व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ भन्ने अनुभूति ग्रासरुटदेखि नेतृत्व तहसम्म भएको छ ।

पुराना जेलनेल भोगेका र ट्रेडिसनल राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूले समेत अब पार्टीको नेतृत्व र अर्थतन्त्र तथा विकासको नेतृत्व तपाईंजस्ता मान्छेले गर्नुपर्छ भनिरहेका छन् । उपसभापतिको उम्मेदवारका रूपमा मैले त्यस्ता संकेत र अभिव्यक्ति पाउँदा उत्साहित छु ।

त्यसोभए अहिलेको कांग्रेसले ‘जान्नेलाई छान्ने’ नीति लिएको हो ?

मैले त्यसलाई मान्नुपर्छ । चुनावको नतिजा जे आए पनि, मैले भेटेका प्रतिनिधिको अनुहारमा देखिएको प्रतिक्रिया र सुनेका हौसलाप्रद भनाइबाट उत्साहित छु ।

माहोल बदलिएको छ । देशले आर्थिक विकास गर्नुपर्छ र त्यसका लागि सम्बन्धित क्षेत्रमा काम गरेका व्यक्तिलाई अगाडि ल्याउनुपर्छ भन्ने राष्ट्रिय अपेक्षा बढेको मैले महसुस गरेको छु । उद्यमशीलता भनेको उद्यमी र व्यवसायीको मात्र कुरा होइन । डाक्टर, इन्जिनियर, किसान, शिक्षक सबैको कुरा हो ।

कांग्रेसले विषयविज्ञलाई नेतृत्वमा ल्याउने र ‘ल्याटरल इन्ट्री’ जस्ता व्यवस्था गरेको छ । यसलाई प्रतिनिधिहरूले कत्तिको आत्मसात् गर्लान् ?

अहिलेको यो ‘वेल-कनेक्टेड’ विश्वमा हरेक मानिसले विश्वमा के भइरहेको छ भन्ने देखिरहेको छ । यो प्रविधिको युग हो । नयाँ टुल्स र टेक्नोलोजीको प्रयोग नेपालले पनि गर्नुपर्छ । त्यसकै आधारमा दोस्रो पुस्ताको आर्थिक सुधार गर्नुपर्छ ।

२०४८ देखि २०५१ सालसम्म कांग्रेसले विकासको एउटा खाका कोर्‍यो । मोनोपोली तोड्दै जीडीपीका महत्त्वपूर्ण छ वटा धरोहर निर्माण गर्‍यो, जसको आकार अहिले कुल जीडीपीको करिब ३५ प्रतिशत छ । त्यसपछि राजनीतिक तरलताका कारण नेपालले ठोस दोस्रो पुस्ताको आर्थिक सुधार गर्न पाएन ।

अब त्यो गर्ने समय आएको छ । मुलुककै मुड त्यतातिर गएको छ । आगामी दिनमा कांग्रेसले आर्थिक रूपान्तरणको एजेन्डालाई सबैले देख्ने र महसुस गर्ने गरी अघि बढाउँछ भन्ने मलाई विश्वास छ । त्यसैको एउटा हिस्साका रूपमा मैले आफूलाई उपसभापतिको उम्मेदवारका रूपमा उभ्याएको हुँ ।

उपसभापतिको उम्मेदवार हुनुहुन्छ । तपाईंको अनुभवले कांग्रेसलाई के योगदान दिन सक्छ ?

मेरो जीवन नेपाल उद्योग वाणिज्य महासंघ,  नेपाल उद्योग परिसंघ हुँदै संविधानसभा र संसद्सम्म रह्यो । देश–विदेशलाई चिन्ने र देश कसरी बन्छ भन्ने बुझ्ने मौका पाएँ । युवाप्रति मेरो पहिलो जिम्मेवारी छ । नयाँ पुस्ताका लागि हामीले राम्रो नेपाल पस्किनुपर्छ ।

नेपाली कांग्रेस २०४८ देखि २०५१ सालको जस्तै बलियो, डेलिभरी ओरिएन्टेड र प्रविधिमा आधारित विकासको लाभ जनतालाई दिन सक्ने पार्टी बनोस् भन्ने मेरो अभिलाषा हो ।

कांग्रेसको एउटा ठूलो शक्ति अहिले पार्टीबाहिर छ । नेतृत्वमा पुगेपछि त्यसलाई कसरी जोड्नुहुन्छ ?

हामी कसरी पर्फर्म गर्छौं भन्ने कुराले त्यसलाई निर्धारण गर्छ । नेपाली कांग्रेसको गाडी धेरै अगाडि बढिसकेको छ । पुराना केही मान्छे बाहिर बसेका छन् भन्ने कुरा इतिहास बनिसक्यो । त्यहाँ भएका मान्छेलाई स्थापित गराउन पार्टी नेतृत्वले कुनै कन्जुस्याइँ गरेको छैन ।

अहिले कांग्रेसको इतिहासमै ७ हजार ३ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि र ८ सयभन्दा बढी पदका प्रत्याशी छन् । १८–२० वर्षका युवादेखि पुरानो पुस्तासम्म पाँच पुस्तालाई कांग्रेसले समेटेको छ । गैरआवासीय नेपाली र जेन-जी पुस्ताको उत्साह हेर्दा कांग्रेसले आफूलाई सबै पुस्ताबीचको पुलका रूपमा उभ्याएको देखिन्छ ।

शेरबहादुर देउवा, शेखर कोइरालालगायत नेतासँग तपाईंको सम्बन्ध राम्रो छ । उहाँहरूलाई फेरि कांग्रेसमा फर्किन केही भन्न चाहनुहुन्छ ?

मेरो कसैसँग वैमनस्यता वा व्यक्तिगत रिसिइबी छैन । यो पार्टीको, देशको र तीन करोड नागरिकको कुरा हो । औसत २५ वर्ष उमेर भएको युवाको भविष्यको कुरा हो । मेरो आफ्नै मन र कन्सियन्सले युवाप्रति मेरो पनि जिम्मेवारी छ भन्यो ।

विगत ३० वर्ष र खासगरी पछिल्लो १० वर्षको डेलिभरी र विकासको असफलताका कारण जुन वितृष्णा र निराशाको वातावरण बन्यो, त्यो समाजको आक्रोशका रूपमा बाहिर पोखिएको हो ।

महाधिवेशनपछि कांग्रेस कस्तो हुनेछ ?

यो महाधिवेशनले राष्ट्रलाई दिने कांग्रेस जीवन्त, नयाँ जोश–जाँगर र स्पष्ट दृष्टिकोण भएको, सही मान्छे सही ठाउँमा भएको संगठन हुनेछ । आगामी चार वर्षमा नेपाली कांग्रेसले के गर्छ भन्ने स्पष्ट खाका भएको, जिम्मेवार र भर गर्न सकिने कांग्रेसका रूपमा उभिनेछ ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6h ago
शेर्पा पोसाक अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन बख्खु लगाएँ : मन्त्री चौधरी

शेर्पा पोसाक अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन बख्खु लगाएँ : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनसम्बन्धी टर्कीको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप –३१) को पहिलो सत्रमा हिमाली क्षेत्र र त्यहाँका समुदायको समस्या अन्तर्र...

#चौधरी
Compare →
Nagarik News
9h ago
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

#कांग्रेस
Compare →
Onlinekhabar
13h ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#कांग्रेस
Compare →

Related Stories

National (Nepal)
Build #2612