कीर्तिपुरमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच हुनेछ भने दोस्रो खेल साँझ ५ बजे हुनेछ।
चितवन — नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेल दिउँसो साढे १२ : ३० र दोस्रो खेल साँझ ५ : ०० बजे हुनेछ । चितवन राइनोज प्रतियोगितामा अहिलेसम्म अपराजित छ । पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नु परेको थियो । सुदूरपश्चिमले हालसम्म खेलेका तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ ।
चितवन राइनोज क्रिकेट क्लबका समर्थकहरु खेल चितवनबाट काठमाडौंतर्फ लागेका छन् । आज साँझ हुने खेल हेर्न राइनोजले समर्थक काठमाडौं लगेको हो ।
चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार खेलको टिकट लिएका चितवनका समर्थकहरुलाई क्लबको खेल हुने दिन निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । उनले भने 'खेलको टिकट लिएका चितवनका समर्थकहरुलाई चितवनदेखि काठमाडौँसम्म र खेल हेरिसकेपछि पुनः चितवन ल्याउने व्यवस्था गरेका छौँ ।'
उनले भने, 'प्रिटिकट लिएर आउने समर्थकमध्ये ‘फस्ट कम फस्ट’ का आधारमा बस सेवा दिइएका छौँ ।'