Trending
Prev Story
Next Story

तिहारको मुखमा वर्षात र हावाहुरीले फूलखेतीमा क्षति, किसान चिन्तित

Onlinekhabar •
November 02, 2026 • 01:01 AM
1
1 reads 0 reactions

१६ कात्तिक, गुल्मी । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा गुल्मीमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसान वर्षातका कारण समस्यामा परेका छन् । तिहार तथा विभिन्न मेला महोत्सवलाई लक्षित गरी लगाइएको सयपत्री, मखमली …

तिहारको मुखमा वर्षात र हावाहुरीले फूलखेतीमा क्षति, किसान चिन्तित

१६ कात्तिक, गुल्मी । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा गुल्मीमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसान वर्षातका कारण समस्यामा परेका छन् । तिहार तथा विभिन्न मेला महोत्सवलाई लक्षित गरी लगाइएको सयपत्री, मखमली लगायतका फूल वर्षात र हावाहुरीले क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका हुन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका–६ सिमाघाट र रेसुङ्गा नगरपालिका–३ बेहोरेमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसानको उत्पादनमा वर्षातले ठूलो क्षति पुर्‍याएको छ । पछिल्लो समय कृषिलाई मुख्य व्यवसाय बनाएर आत्मनिर्भर बन्ने प्रयासमा लागेका युवा किसानको फूल खेतीमा प्राकृतिक विपत्तिले असर गरेको हो ।

रेसुङ्गा नगरपालिका–६ सिमाघाटका किसान प्रेम नेपालीले करिब चार रोपनी खुला जमिनमा लगाएको फूल वर्षातका कारण ढलेर क्षती पुगेको छ । तिहारलाई लक्षित गरेर मेहनतका साथ हुर्काएका फूल पानीका कारण ढलेपछि अपेक्षित उत्पादन लिन नसकिने चिन्ता नेपालीलाई छ ।

अघिल्लो वर्ष राम्रो उत्पादन र बजार पाएका नेपालीले यस वर्ष पनि फूल खेतीबाट राम्रो आम्दानी गर्ने अपेक्षा गरेका थिए । तर बिक्री गर्ने समयमा परेको वर्षातले उनको योजनामा असर पुर्‍याएको छ ।

त्यस्तै रेसुङ्गा नगरपालिका–३ बेहोरेका किसान भबिन्द्र घर्तीमगरको फूल खेतीमा पनि वर्षात र हावाहुरीले क्षति पुर्‍याएको छ । उनले चारवटा टनेल निर्माण गरी व्यावसायिक रूपमा फूल खेती गर्दै आएका थिए ।

गत असोज महिनामा परेको वर्षातसँगै हावाहुरीसँगै आएको वर्षातका कारण टनेल नै ढलेपछि टनेलभित्र लगाइएका फूलमा क्षति पुगेको हो । टनेल भत्किएसँगै फूलका बिरुवा तथा उत्पादनमा समेत असर परेको किसान घर्तीमगरले भोग्नुपरेको छ ।

घर्तीमगरले यस वर्ष सयपत्रीसँगै मखमली फूलसमेत उत्पादन गरेका छन् । तिहारको समयमा सयपत्री र मखमली फूलको माग उच्च हुने भएकाले उनले बजारलाई लक्षित गरेर खेती विस्तार गरेका थिए ।

तर उत्पादनको महत्त्वपूर्ण समयमा आएको वर्षातले लगानी र मेहनत खेर जाने हो कि भन्ने चिन्ता बढाएको छ । अघिल्लो वर्ष राम्रो उत्पादन गरेका नेपाली र घर्तीमगर यस वर्ष भने मौसमको प्रतिकूलताका कारण निराश छन् ।

व्यावसायिक खेतीमा आकर्षित हुँदै गएका युवा किसानका लागि प्राकृतिक विपत्ति चुनौतीका रूपमा देखिएको छ । फूल खेतीमा बीउ, बिरुवा, मल, सिँचाइ, टनेल निर्माण तथा श्रममा लगानी गर्नुपर्ने भएकाले उत्पादनमा क्षति पुग्दा किसानलाई आर्थिक भारसमेत थपिने अवस्था छ ।

हाल गुल्मी जिल्लामा उत्पादित सयपत्री फूल प्रतिकिलो करिब ३५० रुपैयाँमा बिक्री भइरहेको कृषक भबिन्द घर्तीमगरले बताए । तिहार नजिकिँदै जाँदा फूलको माग अझै बढ्ने अपेक्षा गरिएको छ ।

तर वर्षातले उत्पादनमा क्षति पुर्‍याएपछि बजारको मागअनुसार फूल उपलब्ध गराउन कठिन हुने हो कि भन्ने चिन्ता किसानमा देखिएको छ ।पछिल्लो समय गुल्मी जिल्लाका ग्रामीण बस्तीमा व्यावसायिक रूपमा फूल खेती गर्ने किसानको संख्या बढ्दै गएको छ ।

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरेर सयपत्री, मखमलीलगायत फूलको व्यावसायिक खेती गर्ने क्रम बढेको हो । पहिले गाउँघरमा घरवरपर फुलेका फूल मागेर माला बनाउने चलन थियो ।

तर पछिल्लो समय घरघरमा फूल रोप्ने चलन घट्दै जानु, बजारमा फूलको माग बढ्नु र स्थानीय तहले कृत्रिम फूलका माला प्रयोगमा निषेध गर्ने नीति अवलम्बन गर्न थालेपछि स्थानीय उत्पादनको सम्भावना बढेको छ । यसले गर्दा किसान फूल खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

थोरै जमिनबाट पनि राम्रो आम्दानी गर्न सकिने सम्भावना देखेपछि युवासमेत यस व्यवसायमा लागेका छन् । तिहारको समयमा मात्रै नभई विभिन्न मेला, महोत्सव, धार्मिक तथा सांस्कृतिक कार्यक्रम र अन्य उत्सवमा समेत फूलको माग हुने भएकाले यसलाई सम्भावनायुक्त कृषि व्यवसायका रूपमा लिन थालिएको छ ।

गुल्मी जिल्लामा करिब ३० जना किसान व्यावसायिक रूपमा फूल खेतीमा आबद्ध रहेको बताइएको छ । जिल्लाभर भने साना तथा ठूला गरी करिब एक सय जना किसान फूल खेतीमा संलग्न रहेको तथ्यांक छ ।

अघिल्ला वर्षहरूमा जिल्लामा करिब एक सय रोपनी क्षेत्रफलमा फूल खेती गरिएको पाइएको थियो । यसले जिल्लामा फूल खेतीप्रतिको आकर्षण र व्यावसायिक सम्भावना विस्तार हुँदै गएको देखाउँछ ।

तिहारको पाँचौँ दिन अर्थात् भाइटीकाका दिन दाजुभाइ तथा दिदीबहिनीले एकअर्कालाई सप्तरङ्गी टीका लगाउनुका साथै फूलका माला लगाइदिने परम्परा छ । विशेषगरी सयपत्री, मखमली र गोदावरीलगायत फूलको प्रयोग हुने भएकाले यस समयमा फूलको माग उच्च हुने गर्दछ ।

स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि तिहारका लागि बाहिरी जिल्लाबाट फूल तथा माला ल्याउनुपर्ने निर्भरता कम हुने अपेक्षा गरिएको छ । स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउनुका साथै ग्रामीण क्षेत्रमा रोजगारी र आम्दानीको अवसरसमेत सिर्जना गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
असोज १० को हावाहुरी र वर्षात्‌ले सल्यानमा डेढ करोडको कृषि उपज क्षति

असोज १० को हावाहुरी र वर्षात्‌ले सल्यानमा डेढ करोडको कृषि उपज क्षति

गत असोज १० को हावाहुरीले जिल्लाका तीन हजारभन्दा बढी किसान प्रभावित भएका छन् । उत्पादन नष्ट हुँदा उनीहरुलाई परिवारको खर्च र लगानी जुटाउन संकटमा भएको छ।

#किसान #वर्षात #हावाहुरी
Compare →
Hamro Patro News
8h ago
गाउँ छिर्‍याे हात्तीको बथान : किसान चिन्तित

गाउँ छिर्‍याे हात्तीको बथान : किसान चिन्तित

झापा। भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयमा बालीनालीसँगै मानवीय सुरक्षाको चिन्ता बढेको छ । धान काटेर थन्क्याउने तयारीमा र...

#किसान #चिन्तित
Compare →
Nagarik News
1d ago
असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ।

#किसान #क्षति
Compare →
Arthasansar
15h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →

Related Stories

Business & Economy
Build #2611