भोटेकोशीमा बेपत्ता मकवानपुरका रामेश्वर लामाका परिवारलाई उनी सँगै जनकल्याण माविबाट २०५९ सालमा एसएलसी परीक्षामा सहभागी उनका साथीले १ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
हेटौंडा — भोटेकोशीमा आएको बाढीपश्चात् बेपत्ता भएका रामेश्वर लामाको परिवारलाई सहपाठीहरूले आर्थिक सहयोग गरेका छन् । मकवानपुरको थाहा नगरपालिका–४ का ४२ वर्षीय रामेश्वरसँगै जनकल्याण माविबाट २०५९ सालमा एसएलसी परीक्षामा सहभागी भएका उनका साथीहरूले स्वतःस्फूर्त रूपमा संकलन गरेको १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेका हुन् ।
रामेश्वरका ‘ब्याची’ साथीहरूले आफूहरूमध्येबाट संकलन गरेको उक्त रकम रामेश्वरकी श्रीमती सुनिता लामालाई उनकै निवासमा पुगेर शनिबार हस्तान्तरण गरेका थिए । पेसाले सवारी चालक रहेका रामेश्वर भदौ १० को बाढीमा परी बेपत्ता भएका हुन् । उनको शव एक महिनासम्म पनि नभेटिएपछि उनको काजकिरिया बुधबार गरिएको थियो ।
थाहा नगरपालिका–४ का वडाध्यक्ष नारायण लामाको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको थियो । साथीको परिवारमा परेको दुःखमा आत्मीयता र सद्भाव प्रस्तुत गर्दै सहयोग रकम जुटाइएको विजयविक्रम श्रेष्ठले प्रतिक्रिया दिए । सहपाठीको निधनबाट परिवारमा परेको पीडाका बीच छोरा लोपसाङ लामाको शिक्षालाई निरन्तरता दिन सहयोग पुगोस् भन्ने भावनाका साथ आर्थिक सहयोग जुटाइएको श्रेष्ठले बताए ।
सहपाठीहरूले गरेको यो सहयोगले आर्थिक रूपमा मात्र नभई पीडामा रहेको परिवारलाई भावनात्मक रूपमा हौसला प्रदान गर्न पनि मद्दत पुग्ने सुरज भुजेलले विश्वास व्यक्त गरे । थाहा नगरपालिकामा भोटेकोशीको बाढीपश्चात् २० जना सम्पर्कविहीन छन् । तीमध्ये १९ जना चालक छन् ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।