नेपालगन्ज स्वीमिङ क्लबको आयोजना गरेको २ दिने प्रतियोगितामा सगरमाथाले ४२९ स्कोर ल्याउदै प्रथमको उपाधि हात पारेको हो ।
नेपालगन्ज — नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि ललितपुरको सगरमाथा स्वीमिङ क्लबले हात पारेको छ । नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबको आयोजना भएको २ दिने प्रतियोगितामा सगरमाथाले ४२९ स्कोर ल्याउँदै उपाधि हात पारेको हो ।
दोस्रो नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगितामा पनि सगरमाथा स्वीमिङ क्लब विजेता बनेको थियो । प्रतियोगितामा भारतको नयाँ दिल्लीस्थित इलाइट स्वीमिङ एकेडेमीले १७४ स्कोर ल्याएर दोस्रो बनेको छ । त्यसैगरी कोहलपुर बाँकेको शिखा एकेडेमी ९५ स्कोरसहित तेस्रो भएको छ ।
त्यसैगरी ललितपुरको जेम्स स्कुल ५९ स्कोर ल्याएर चौथो, भारत लखनउको ला मार्टिनेयर गर्ल्स कलेज ३३ अंकसहित पाँचौ, कोशी प्रदेश २३ अंक ल्याएर छैठौँ र १८ अंक ल्याएर रातो बंगला स्कुल ललितपुर सातौँ भएको छ ।
प्रतियोगितामा पुरुष र महिला सर्वोत्कृष्ट खेलाडी सगरमाथा स्वीमिङ क्लबका खेलाडी भए । सर्वोत्कृष्ट खेलाडीलाई जनही ५ हजार ५ सय पचपन्न रुपैयाँ ५५ पैसा प्रदान गरिएको थियो । आयोजकले अण्डर ८ का खेलाडी कौतिक शर्मा (रातो बंगला स्कुल ललितपुर) र विधि नेपाल मेम्पल क्यानेडियन स्कुललाई इमर्जिङ खेलाडीको रुपमा सम्मान गरेको थियो ।
विजेता खेलाडीहरूलाई प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतम, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव ईश्वरकुमार कार्की, प्रतियोगिताको स्क्रिन पाटर्नर डर्मा अर्थका जीवन धमला, नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपाने, इभेन्ट डाइरेक्टर तथा क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीलगायतले ट्रफी, मेडल, प्रमाण पत्र र पुरस्कार वितरण गरेका थिए ।
अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात् १७ वर्षभन्दा बढी उमेरका खेलाडीबीच पौडीका फ्रि-स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेड्ले गरी ६ छुट्टाछुटै विधाका ८० वटा इभेन्टमा भएका थिए । प्रतियोगितामा नेपालका सबै प्रदेशका साथै भारतको नयाँ दिल्ली र लखनउबाट गरी करिब १५० जना खेलाडी सहभागी थिए ।
रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।