दैनिक जीवनयापनसँग सम्बन्धित शिक्षा, स्वास्थ्य, मूल्यवृद्धि नियन्त्रणलगायत मुद्दालाई अघि सारेर युरोपभर जेनजी युवाहरूले बेग्लाबेग्लै संगठनको अगुवाइमा प्रदर्शन गरिरहेका छन् ।
गत १७ सेप्टेम्बरमा शैक्षिक सुधारको माग राख्दै फ्रान्सको माध्यमिक विद्यालयमा पढ्ने छात्र–छात्राले सुरु गरेको आन्दोलन अहिले युरोपभर फैलिएको छ । फ्रान्समा क्रमशः आन्दोलन अघि बढ्दै जाँदा मजदुर युनियन, शिक्षक संगठन, विपक्षी र वामपन्थी पार्टीहरूले ऐक्यबद्धता जनाएका थिए ।
विद्यालयका जीर्ण पूर्वाधार, शिक्षक अभावलगायतलाई सम्बोधन गर्नुपर्ने माग राखेर सुरु भएको यस आन्दोलनमा अहिले युद्ध अन्त्य, मूल्यवृद्धि अन्त्यलगायत आम नागरिकको दैनिक जीवनसँग जोडिएका विषय प्रमुख मुद्दा बनेका छन् । तर, अहिले आन्दोलन फ्रान्समा मात्रै सीमित छैन । दैनिक जीवनयापनसँग सम्बन्धित शिक्षा, स्वास्थ्य, मूल्यवृद्धि नियन्त्रणलगायत मुद्दालाई अघि सारेर युरोपभर जेनजी युवाहरूले बेग्लाबेग्लै संगठनको अगुवाइमा प्रदर्शन गरिरहेका छन् ।
आखिर युरोपमा कुन–कुन देशमा कुन मुद्दा राखेर प्रदर्शन चलिरहेको छ त ?
फ्रान्स: गृह मन्त्रालयका अनुसार शनिबार देशभर भएका प्रदर्शनमा करिब तीन लाख २० हजार मानिस सहभागी भए, जसमध्ये ७० हजार पेरिसमा थिए। आयोजकहरूले भने देशभर पाँच लाख र राजधानीमा दुई लाख मानिस सहभागी भएको दाबी गरेका छन्। प्रदर्शनका लागि देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। अधिकांश प्रदर्शन शान्तिपूर्ण भए पनि केही स्थानमा प्रहरीसँग झडप भयो। गृहमन्त्री लरेन्ट नुनेजका अनुसार प्रदर्शनका क्रममा ४२२ जना पक्राउ परेका छन्।
जर्मनी: ३० भन्दा बढी सहरमा भएका प्रदर्शनमा सार्वजनिक सेवामा लगानी बढाउन, महँगी नियन्त्रण गर्न र अनिवार्य सैन्य सेवाको व्यवस्था हटाउन माग गरिएको थियो। आयोजकहरूका अनुसार १२ सहरको तथ्याङ्कमा मात्रै ६८ हजारभन्दा बढी सहभागी थिए। फ्र्याङ्कफर्टमा प्रहरी अधिकारी घाइते भए भने ह्याम्बर्गमा अवरोधका लागि राखिएका बारमा आगजनी गरियो। जर्मन समाचार संस्था डीपीएका अनुसार ब्रेमेनमा पनि प्रहरीमाथि आक्रमण भएको छ।
इटाली: सार्वजनिक सेवा र जीवनयापनको खर्चलाई लिएर शुक्रबार ६० भन्दा बढी सहरमा प्रदर्शन भएको थियो। युनियनको अनुमानमा १५ लाख मानिस सहभागी भए पनि गृह मन्त्रालयले सहभागी संख्या दुई लाख ५५ हजार रहेको जनाएको छ। शनिबार पनि रोमस्थित कोलोसियमनजिक प्रदर्शनकारी भेला भएका थिए।
पोर्चुगल: लिस्बन र पोर्टोमा आवास समस्या समाधान गर्न माग गर्दै एक हजारभन्दा बढी मानिसले प्रदर्शन गरे। लिस्बनमा प्रदर्शनकारीले रोसियो स्क्वायरमा रात बिताउने तयारी गरेका थिए।
अल्बानिया: राजधानी तिरानामा प्रधानमन्त्री एदी रामाको राजीनामालगायत माग राखेर भइरहेको प्रदर्शन शनिबार १९औँ दिन पनि जारी रह्यो। प्रदर्शनका क्रममा प्रहरीमाथि पेट्रोल बम र ढुङ्गा प्रहार भएपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्यो।
पोल्याण्ड र नेदरल्यान्ड्स: पोल्याण्डको वार्सामा संवैधानिक न्यायाधिकरणको संरचना र नेतृत्वलाई लिएर प्रदर्शन भयो। नेदरल्यान्ड्सको द हेगमा सामाजिक सञ्जालको आह्वानपछि भेला भएको भीडलाई प्रहरीले तितरबितर पार्यो। प्रहरीका अनुसार दिनभरमा ३४ जनालाई पक्राउ गरिएको छ।
स्पेन: म्याड्रिड, बार्सिलोना र भ्यालेन्सियामा सम्भावित अशान्ति रोक्न सुरक्षा व्यवस्था कडा पारिएको थियो। अघिल्लो सप्ताहन्त बार्सिलोनामा भएको झडपमा १५ प्रहरी अधिकारी घाइते भएका र १२८ जना पक्राउ परेका थिए। स्पेनी समाचार संस्था ईएफईका अनुसार अनलाइनमार्फत हिंसा भड्काएको आशङ्कामा प्रहरीले देशभर १० जनालाई पक्राउ गरेको थियो।
- अन्तराष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा तयार पारिएको ।
अन्वेषण अन्वेषण अधिकारी कान्तिपुर मिडिया ग्रुपमा आबद्ध छन् । उनी राष्ट्रिय राजनीति, भू-राजनीति, जलवायु परिवर्तन तथा समसामयिक सामाजिक मुद्दाहरुमा कलम चलाउँछन् ।