सर्वेक्षणको नतिजाका आधारमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रमलाई निरन्तरता दिने वा नदिने, नुनमा आयोडिनको मात्रा समायोजन गर्ने, लक्षित समूहमा सूक्ष्म पोषक तत्त्व मिसाइएको खाना वितरण गर्नेलगायत विद्यमान पोषण नीतिमा पुनरावलोकन हुने
काठमाडौँ — सर्वसाधारणमा भिटामिन ‘ए’, आइरन, फोलिक एसिड र आयोडिनलगायत शरीरलाई आवश्यक थुपै सूक्ष्म तत्त्वको अवस्था तथा रक्तअल्पताको स्थिति मूल्यांकन गर्न आगामी मंसिर महिनामा देशव्यापी सूक्ष्म पोषक तत्त्व सर्वेक्षण गरिने भएको छ । देशव्यापी सूक्ष्म पोषक तत्त्व सर्वेक्षण सामान्यतया प्रत्येक १० वर्षमा गरिन्छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार १७–१८ कात्तिकमा सञ्चालन हुने भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सकिएको ६ हप्तापछि उक्त अध्ययन सुरु हुनेछ ।
यसअघि भिटामिन ‘ए’ खुवाउँदा यसको कमीको वास्तविक अवस्था पत्ता लगाउन कठिन हुने भन्दै अधिकारीहरूले नियमित भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान फागुन महिनासम्म स्थगित गर्ने योजना बनाएका थिए । ‘विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय बालकोषलगायतका संस्थाका विज्ञ सम्मिलित विशेषज्ञ समूहको बैठकले भिटामिन ‘ए’ अभियान सम्पन्न भएको ६ हप्तापछि अध्ययन गर्न सकिने सुझाव दियो,’ स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भने, ‘अध्ययनका लागि बालबालिकाको पोषणमा कुनै पनि सम्झौता गर्न हुँदैन भनेपछि भिटामिन ‘ए’ खुवाउने काम नरोक्ने निर्णय गरेका हौं ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारदेखि देशव्यापी भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सञ्चालन गर्दै छ । दुई दिनसम्म चल्ने अभियानमा ६ देखि ५९ महिनासम्मका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ । तीमध्ये एकदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधिसमेत दिइनेछ । अभियान सञ्चालनका लागि देशभर करिब ५४ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन गरिने अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयले सन् २००३ देखि हरेक वर्ष अप्रिल र नोभेम्बरमा गरी दुई पटक यस्तो अभियान सञ्चालन गर्दै आएको छ ।
यसअघि सन् २०१६ मा अमेरिकी सरकारको आर्थिक सहयोगमा सूक्ष्म पोषक तत्त्व सर्वेक्षण गरिएको थियो । त्यसबेला खानेपानी, सरसफाइ, बालबालिकाको खानपान अभ्यास, खानाको विविधता, भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम, आइरनको पूरक सेवन, महिलामा भिटामिन ‘ए’ र जुकाको औषधिको अवस्था, रक्तसम्बन्धी समस्या, किशोरीहरूको पोषण अवस्था, रक्तअल्पता, आइरन तथा जिंकको कमी, नुनको उपभोग र नेपालीहरूमा आयोडिनको अवस्थालगायत विषयको अध्ययन गरिएको थियो ।
यस पटकको सर्वेक्षण गत वैशाखमै सुरु गर्ने योजना भए पनि बजेट अभावका कारण अनिश्चितकालका लागि रोकिएको थियो । अध्ययन रोकिनुमा मुख्य कारण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले नेपाललगायत विश्वभरका सहायता कार्यक्रम स्थगित गर्नु रहेको अधिकारीहरूले जनाएका छन् ।
अधिकारीहरूका अनुसार नेपालस्थित अमेरिकी दूतावासको पहलमा अमेरिकी सरकारले अध्ययनका लागि संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) लाई ३५ लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको छ । सर्वेक्षणका लागि अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले प्राविधिक सहयोग उपलब्ध गराउनेछ । ‘सर्वसाधारणको पोषण अवस्थासँग सम्बन्धित धेरै विषय अध्ययन गरिने भएकाले यो सर्वेक्षण हाम्रा लागि निकै महत्त्वपूर्ण छ,’ थापाले भने, ‘प्रतिवेदनले नेपालको राष्ट्रिय पोषण नीतिलाई पुनरावलोकन र परिमार्जन गर्न सहयोग गर्नेछ ।’
स्वास्थ्य अधिकारीहरूका अनुसार सर्वेक्षणको नतिजाका आधारमा सबै बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रमलाई निरन्तरता दिने वा नदिने, नुनमा आयोडिनको मात्रा समायोजन गर्ने, लक्षित समूहमा सूक्ष्म पोषक तत्त्व मिसाइएको खाना वितरण गर्नेलगायत विद्यमान पोषण नीतिमा परिवर्तन गर्न सकिनेछ ।
नुनमा आयोडिनको मात्रा घटाउने वा नघटाउने निर्णय पनि सर्वेक्षणको प्रतिवेदन आएपछि मात्रै गरिने अधिकारीहरूले बताएका छन् । आयोडिन समुद्री खाद्य पदार्थ तथा समुद्र नजिकका क्षेत्रमा उम्रने वनस्पतिमा प्राकृतिक रूपमा पाइने खनिज पदार्थ हो । प्राकृतिक रूपमा आयोडिन कम पाइने क्षेत्रमा यसको कमी पूर्ति गर्न खाद्य पदार्थमा कृत्रिम रूपमा आयोडिन मिसाउनुपर्ने हुन्छ ।
नेपालमा नुन आयात तथा वितरण गर्ने जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो नुनमा ५० पीपीएम (पाटर््स पर मिलियन) आयोडिन मिसाउँदै आएको छ । यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको मात्राभन्दा बढी हो । संगठनले प्रतिकिलो नुनमा १५ देखि ४० पीपीएम आयोडिन हुनुपर्ने सिफारिस गरेको छ ।
भारतमा भने प्रतिकिलो नुनमा ४० पीपीएम आयोडिन मात्रै मिसाइन्छ । नेपालका स्वास्थ्य विज्ञहरूले नुनमा अत्यधिक आयोडिनको मात्रा हुनु हाइपोथाइराइडिज्मलगायत नसर्ने रोग बढ्नुको एउटा कारण भएको बताउँदै आएका छन् ।
विश्व स्वास्थ्य संगठन, युनिसेफ, अमेरिकास्थित रोग नियन्त्रण तथा रोकथाम केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संयुक्त रूपमा गरेको सन् २०१६ को राष्ट्रिय सूक्ष्म पोषक तत्त्व अवस्थासम्बन्धी सर्वेक्षणलगायत विभिन्न अध्ययनले नेपालीहरूले अत्यधिक मात्रामा आयोडिन सेवन गर्ने गरेको देखाएका छन् । शरीरमा अत्यधिक आयोडिन प्रवेश गर्दा थाइराइड ग्रन्थीको कार्यमा असर पर्न सक्छ र केही व्यक्तिमा हाइपरथाइराइडिज्म (थाइराइड ग्रन्थीले आवश्यकताभन्दा बढी थाइराइड हर्मोन उत्पादन गर्ने अवस्था) निम्त्याउन सक्छ ।
सर्वेक्षणअनुसार देशभरका ६८ प्रतिशत अर्थात् दुईतिहाइभन्दा बढी जनसंख्याले सिफारिस गरिएको मात्राभन्दा निकै बढी आयोडिन सेवन गरिरहेका छन् ।
सन् २०१९ को नसर्ने रोगका जोखिम तत्त्वसम्बन्धी स्टेप्स सर्वेक्षणअनुसार ५.६ प्रतिशत वयस्क (६.५ प्रतिशत महिला र ४.६ प्रतिशत पुरुष) ले खाना खानुअघि वा खाँदै गर्दा प्रायः वा सधैं थप नुन प्रयोग गर्ने गरेको बताएका थिए । त्यसैगरी, १९.५ प्रतिशत वयस्क (१८.१ प्रतिशत महिला र २१.१ प्रतिशत पुरुष) ले प्रायः वा सधैं नुनको मात्रा बढी हुने प्रशोधित खाद्य पदार्थ सेवन गर्ने गरेको बताएका थिए ।
खानपानको शैलीमा आएको परिवर्तन र प्रशोधित खाद्य पदार्थको बढ्दो सेवनले उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोगजस्ता नसर्ने रोग बढाएको उनीहरू बताउँछन् । ‘अध्ययनको विश्वसनीयता सुनिश्चित गर्न सम्बन्धित क्षेत्रका विज्ञबाट यसको अनुगमन हुनु आवश्यक छ,’ स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. श्यामराज उप्रेतीले भने, ‘अध्ययनमा ठूलो स्रोत–साधन आवश्यक पर्ने भएकाले यसका निष्कर्षले विद्यमान नीतिलाई मार्गनिर्देश गर्न सक्नेछन् ।’
अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।