मंसिर १६ देखि २७ गतेसम्म हुने प्रतियोगितामा कार्यक्रमस्थल, ट्राफिक, गस्ती, प्रवेशद्वार र रिजर्भ टोलीसहित १८ जिम्मेवारीमा सुरक्षा जनशक्ति खटाइनेछ।
वीरेन्द्रनगर — कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षाका लागि १ हजार १२६ सुरक्षाकर्मी परिचालन गरिने भएको छ। मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १८ प्रकारका जिम्मेवारी तोकेर सुरक्षाकर्मी खटाउने तयारी गरिएको हो।
आइतबार सुर्खेतमा बसेको तयारी समिति बैठकमा सुरक्षा उपसमितिका संयोजक एवं कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डीआईजी जयराज सापकोटाले सुरक्षा योजनाबारे जानकारी गराएका हुन्। उनका अनुसार सबैभन्दा बढी ३ सय २१ जना सुरक्षाकर्मी कार्यक्रमस्थलको सुरक्षामा खटिनेछन्। त्यस्तै, १ सय ४८ जना रिजर्भमा र ९४ जना स्ट्यान्डबाइ टोलीमा रहनेछन्।
सुरक्षा योजनाअनुसार कमान्ड पोस्टमा ६८, अनुगमनमा ५०, पिकेटमा ६२, ट्राफिक व्यवस्थापनमा ४९, मोबाइल गस्तीमा ४३, पैदल गस्तीमा ३६ र चेकपोइन्टमा ५२ जना परिचालन गरिनेछ। डाइपोइन्ट ड्युटीमा १७, स्ट्राइकिङमा ४९, प्रवेशद्वारमा ३२ र निकासद्वारमा ३३ जना खटिनेछन्। त्यस्तै, कर्डनमा ३६, नागरिक सहायता कक्षमा १८ र सादा पोसाकमा १६ जना रहनेछन्। ड्रोन, केनाइन र वाटर क्यानन परिचालनका लागि १० जनाको टोली बनाइनेछ।
प्रतियोगिताको सुरक्षामा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि परिचालन हुनेछ। कमान्ड पोस्टमा नेपाली सेनाको समेत उपस्थिति रहने सापकोटाले बताए। आवश्यक परे प्रमुख जिल्ला अधिकारीले सेना परिचालन गर्ने व्यवस्था रहेको उनले जानकारी दिए।
सुरक्षा व्यवस्थापनका लागि कमान्ड पोस्टमा २४ सै घण्टा सुरक्षाकर्मी परिचालन गरिनेछ। प्रतियोगिता स्थलमा आवश्यक सीसीटीभीको व्यवस्थापन सम्बन्धित निकायले गर्नुपर्ने डीआईजी सापकोटाले बताए।
तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।