‘यो कुनै साधारण चोरी होइन, यो देशद्रोह हो,’ चुनावमा भएको भनिएको धाँधली र अनियमितताप्रति आक्रोश व्यक्त गर्दै गान्धीले भने ।
नयाँ दिल्ली — भारतको मुख्य विपक्षी गठबन्धन ‘इन्डिया ब्लक’ ले निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आइतबार नयाँ दिल्लीमा विशाल विरोध प्रदर्शन निकालेको छ । दशौं हजार मानिसहरु यस प्रदर्शनमा सहभागी भए ।
‘चलो दिल्ली’ नाम दिइएको यस प्रदर्शनका क्रममा रामलीला मैदानमा सभा आयोजना गरिएको थियो । सभालाई सम्बोधन गर्दै लोकसभाका प्रतिपक्षी दलका नेता तथा कांग्रेस आईका सांसद् राहुल गान्धीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार जेल जाने दाबी गरे ।
‘यो कुनै साधारण चोरी होइन, यो देशद्रोह हो,’ चुनावमा भएको भनिएको धाँधली र अनियमितताप्रति आक्रोश व्यक्त गर्दै गान्धीले भने ।
उनले देशमा आर्थिक असमानता गहिरो रहेको बताए । 'किसान, मजदूर र युवालाई उनीहरुको अधिकार र अवसरबाट बन्चित गरिएको छ । देशको ठूलो सम्पत्ति दुई वा तीन व्यक्तिको हातमा छ ,' उनले भने ।
भारतमा गत वर्ष विधानसभा निर्वाचनअघि बिहारमा पहिलोपटक विशेष गहन पुनरावलोकन (एसआइआर) लागु गरिएको थियो । त्यसपछि क्रमश: अन्य राज्यका चुनावमा पनि लागु गरियो । मतदाताको शुद्धिकरणका नाममा लागु गरिएको यस प्रक्रियाका क्रममा १३ करोडको नाम मतदाता सुचीबाट हटाइएको छ ।
दोहोरिएको, नक्कली, मृतक, बसाइँ सरेकालगायतको नाम कटौती भएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, भुलवस कटौती भएकाहरुले फेरि आवेदन दिनसक्ने जनाएको छ । तर, विपक्षीहरुले मुस्लिम, अल्पसंख्यक तथा भाजपा इतरका मतदाताको नाम कटौती गर्ने लक्ष्यले एसआइआर लागु गरिएको आरोप लगाउँदै आएका छन् ।
आइतबारको र्यालीमा राहुल गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीलगायत विपक्षी दलका शीर्ष नेताहरूको उपस्थिति थियो ।
निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै विपक्षी दलहरूले ‘भोट बचाओ, देश बचाओ’ नाराका साथ यो प्रदर्शन गरेका हुन् । यसअघि शनिबार कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको निवासमा विपक्षी नेताहरूले मुख्य निर्वाचन आयुक्तविरुद्ध सांकेतिक ‘महाअभियोग’ सभासमेत आयोजना गरेका थिए ।
विपक्षी दलहरूले लामो समयदेखि एसआइआरबारे आपत्ति जनाउँदै आएपनि गत महिना ‘इन्डियन एक्सप्रेस’ मा प्रकाशित एक रिपोर्टपछि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार विवादमा तानिएका हुन् ।
उक्त रिपोर्टमा दुई निर्वाचन आयुक्तहरूले १० महिनाको अवधिमा १४ पटक मुख्य निर्वाचन आयुक्तका निर्णयहरूमा असन्तुष्टि जनाएको उल्लेख थियो।
निर्वाचन आयोगले आफ्ना सबै निर्णयहरू सर्वसम्मतिले भएको दाबी गर्दै आए पनि उक्त रिपोर्टले मतदाता नामावली संशोधनका क्रममा ज्ञानेश कुमारले अन्य दुई आयुक्तहरुको सुझाव नमानेको देखाएको थियो ।
यस घटनाविरुद्ध कक्रोच जनता पार्टी (सीजेपी) ले पनि लगातार प्रदर्शन गर्दै आएको छ । उक्त प्रदर्शनमा पनि विपक्षीहरुले ऐक्येवद्धता प्रकट गर्दै आएका छन् ।
सरकारले आन्दोलनलाई मध्यनजर गर्दै आइतबार १० हजार सुरक्षाकर्मीलाई दिल्लीमा परिचालन गर्यो । सेन्ट्रल दिल्ली क्षेत्रमा २ सयभन्दा बढी सीसीटीभी क्यामेराबाट आन्दोलनलाई निगरानी गरिएको पनि प्रहरीले जनाएको छ ।