Trending
Prev Story
Next Story

मर्मतमा ढिलाइले सल्यानका ग्रामीण सडकमा सास्ती

Ekantipur •
November 01, 2026 • 08:32 AM
1
1 reads 0 reactions

सडकमा पहिरो, खाल्डाखुल्डी र हिलो हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न तथा बिरामीलाई स्ट्रेचरमा बोक्न बाध्य छन्।

मर्मतमा ढिलाइले सल्यानका ग्रामीण सडकमा सास्ती

सडकमा पहिरो, खाल्डाखुल्डी र हिलो हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न तथा बिरामीलाई स्ट्रेचरमा बोक्न बाध्य छन्।

सल्यान — वर्षातका कारण क्षति भएका सल्यानका दर्जनौं ग्रामीण सडक समयमै मर्मत नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन्। कतै सडकमा पहिरो खसेको छ, कतै खाल्डाखुल्डी छन् त कतै हिलोले गाडी चलाउनै कठिन छ। केही सडक मर्मत गरिए पनि पछिल्लो वर्षातले फेरि बिगारेपछि जिल्लाका ग्रामीण भेगमा यातायात सहज हुन सकेको छैन।

वर्षात सकिएपछि सडक मर्मत गर्ने भन्दै पर्खिएका स्थानीय तहले काममा ढिलाइ गर्दा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। कतिपय सडकमा गाडी उकालो चढ्न नसक्ने र हिलोमा फस्ने गरेका छन्। यात्रुहरू गाडी धकेल्नुपर्ने अवस्थासमेत छ। सडक मर्मतमा ढिलाइ हुँदा दुर्घटनाको जोखिम पनि बढेको छ।

गत असार, साउन र भदौमा परेको वर्षाले कालीमाटी गाउँपालिका–४ बालुवादेखि वडा ६ छरछरे जोड्ने सडक क्षतिग्रस्त बनाएको थियो। पालिकाले समयमै मर्मत गर्न नसक्दा उक्त सडकमा नियमित गाडी चल्न सकेको छैन। छरछरेका रेशम घर्तीका अनुसार स्थानीयले पालिकाको केन्द्र पुतलीबजार पुग्न सुर्खेतको मेहलकुना हुँदै घुमेर जानुपर्ने अवस्था छ। ‘सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायसँग माग राख्दै आए पनि कुनै चासो दिइएको छैन,’ उनले भने, ‘विगतदेखि नै सास्ती भोग्दै आएका छौं।’ सडक स्तरोन्नति नहुँदा र नियमित गाडी नचल्दा स्थानीयस्तरमा उत्पादित वस्तु बजारसम्म पुर्‍याउनसमेत समस्या भएको उनले बताए।

कुमाख गाउँपालिका–२ का सुमन बोहोराले वर्षातमा क्षति भएको सडक मर्मत नहुँदा वडा कार्यालय र पालिकाको केन्द्र पुग्न लामो दूरी पैदल हिँड्नुपर्ने अवस्था रहेको बताए। मर्मतका लागि पटक–पटक माग गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ। ‘गाउँमा कोही बिरामी पर्‍यो भने अहिले गाडी चल्ने स्थानसम्म बिरामीलाई स्ट्रेचरमा बोकेर लैजानुपर्ने अवस्था छ,’ उनले भने।

बागचौर नगरपालिका–९ का वडाध्यक्ष यज्ञबहादुर डाँगीका अनुसार वडाभित्रका कोटमौला–पातीहाल्ना, लिउरेबारी–डाँगीगाउँ र रैजबोट–जलेखर्क सडक वर्षातले क्षतिग्रस्त भएका छन्। एउटा जेसिबीले काम गर्दागर्दै छाडेको र अर्को नआएकाले मर्मत हुन नसकेको उनले बताए। खाल्डाखुल्डी र चिराचिरा परेको सडकमा यात्रा गर्दा स्थानीयले सास्ती भोग्नुपरेको उनको भनाइ छ। ‘मेरो वडामा मात्र होइन, पालिकाका अन्य वडामा पनि यस्तै समस्या धेरै छ,’ उनले भने।

दार्मा गाउँपालिकाका इन्जिनियर पुष्कर कार्कीका अनुसार पालिकाभित्रका सबै ग्रामीण सडक कच्ची छन्। सडकमा नाला नहुँदा वर्षातको भलले माटो बगाउने, माथिबाट ढुंगा–माटो ल्याएर थुपार्ने र खाल्डामा पानी जमेर सडक हिलाम्मे हुने समस्या छ। यसले गर्दा स्थानीयलाई गाडी तथा मोटरसाइकलमा आवतजावत गर्न कठिन भएको उनले बताए। वर्षातमा बिग्रिएका सडक समयमै मर्मत गर्न नसकिए पनि अहिले मर्मतको काम भइरहेको उनको भनाइ छ।

कालीमाटी गाउँपालिकाका इन्जिनियर विनोद सुवेदीले वडा ६ का बालुवा–छरछरे र बालुवा–घुईयाबारी सडक मर्मतमा केही ढिलाइ भएको स्वीकार गरे। ती सडक मर्मतको तयारी भइरहेको उनले बताए। ‘वर्षातको समयमा क्षति भएका सडक दसैंअघि मर्मत गर्ने कुरा थियो। त्यो बेला पनि पानी पर्‍यो। काम गर्न सकिएन। अहिले धमाधम मर्मतको काम भइरहेको छ,’ उनले भने। कात्तिक १३/१४ गते परेको वर्षाले मर्मत गरिएका केही कच्ची सडकसमेत बिगारेकाले पुनः मर्मत गर्नुपर्ने अवस्था आएको उनले बताए।

छत्रेश्वरी गाउँपालिकाका इन्जिनियर राजाराम रिजालले मर्मत गरिएका सडक पनि पछिल्लो वर्षातले बिगारेको बताए। उनका अनुसार लान्ती–लेखपोखरा, दारिमज्युला–जयचौर र शंखमूल–श्रीचौर–जिताठान सडकमा क्षति पुगेको छ। यसबाट तीन वडाका स्थानीय प्रभावित भएका छन्। उनीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य रहेको रिजालले बताए।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
बाजथला भीरको बाटो मर्मत नहुँदा सास्ती, विद्यार्थी र किसानसमेत प्रभावित

बाजथला भीरको बाटो मर्मत नहुँदा सास्ती, विद्यार्थी र किसानसमेत प्रभावित

मुगु – छायाँनाथ रारा नगरपालिका–२ स्थित बाजथला भिरको बाटो वर्षायाममा गएको पहिरोले क्षतिग्रस्त भएपछि स्थानीयवासीलाई आवतजावतमा सास्ती भएको छ। बाटो मर्मत नहुँदा गमगढी बजार आउन–जान, गाउँमा उत्पादित तरका...

#मर्मत #सास्ती
Compare →
Bizshala
1d ago
मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया...

#ग्रामीण
Compare →
Onlinekhabar
1d ago
श्रमदान गरेर सडक मर्मत

श्रमदान गरेर सडक मर्मत

२६ कात्तिक, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ । क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा …

#मर्मत
Compare →

Related Stories

Technology
Build #2611