Trending
Prev Story
Next Story

अमेरिकाको राज्य सांसद बन्न चुनावी मैदानमा चार नेपाली

Ekantipur •
November 01, 2026 • 06:31 AM
1
1 reads 0 reactions

हाउस अफ डेलिगेट्सका लागि मेरिल्यान्ड राज्यमा ह्यारी भण्डारी र सतीश चापागाईं, न्यु ह्याम्पसायरमा स्टेट रिप्रेजेन्टेटिभ्सका लागि विश्वबहादुर शाह र न्युयोर्कको डिस्ट्रिक्ट ‘१०३’ बाट विधानसभा सदस्यका लागि सराहना श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

अमेरिकाको राज्य सांसद बन्न चुनावी मैदानमा चार नेपाली

हाउस अफ डेलिगेट्सका लागि मेरिल्यान्ड राज्यमा ह्यारी भण्डारी र सतीश चापागाईं, न्यु ह्याम्पसायरमा स्टेट रिप्रेजेन्टेटिभ्सका लागि विश्वबहादुर शाह र न्युयोर्कको डिस्ट्रिक्ट ‘१०३’ बाट विधानसभा सदस्यका लागि सराहना श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

अमेरिका — अमेरिकाको राज्य विधानसभा (हाउस अफ डेलिगेट्स) र राज्य प्रतिनिधिसभा (स्टेट रिप्रेजेन्टेटिभ) सदस्य बन्न नेपाली मूलका चार जना चुनावी मैदानमा छन् ।

मध्यावधि निर्वाचनसँगै नोभेम्बर ३ मा हुने हाउस अफ डेलिगेट्स र स्टेट रिप्रेजेन्टेटिभ्सका लागि छुट्टाछुट्टै राज्यका निर्वाचन क्षेत्रबाट नेपाली मूलका चारजना प्रतिस्पर्धामा उत्रिएका हुन् । हाउस अफ डेलिगेट्सका लागि मेरिल्यान्ड राज्यमा ह्यारी भण्डारी र सतीश चापागाईं, न्यु ह्याम्पसायरमा स्टेट रिप्रेजेन्टेटिभ्सका लागि विश्वबहादुर शाह र न्युयोर्क राज्यको डिस्ट्रिक्ट ‘१०३’ बाट विधानसभा सदस्यका लागि सराहना श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।

भण्डारी र चापागाईं दुवै डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका हुन् । भण्डारी मेरिल्यान्डको डिस्ट्रिक्ट ‘८’ र चापागाईं ‘७ ए’ को हाउस अफ डेलिगेट्समा प्रतिस्पर्धा गर्न गत जुन २३ मा भएको डेमोक्रेटिक पार्टीको प्राइमरी इलेक्सनबाट चुनिएका थिए ।

अमेरिकाको चुनावी कार्यक्रमअनुसार अक्टोबर २२ देखि २९ सम्म अर्ली भोटिङ भएको थियो ।

तेस्रो पटक हाउस अफ डेलिगेट्स बन्ने दौडमा होमिएका भण्डारीले आफू सांसद हुँदा वा नहुँदा सदैव नेपाली समुदायका समस्यालाई प्राथमिकतामा राखेको बताएका छन् । उनी पहिलो पटक २०१८ र दोस्रो पटक २०२२ मा मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ‘८’ बाटै हाउस अफ डेलिगेट्समा निर्वाचित भएका थिए । उनी अमेरिकाको संसदीय जनप्रतिनिधि बन्ने पहिलो नेपाली हुन् ।

उनले आफू हाउस अफ डेलिगेट्समा रहँदा आर्थिक समस्यामा परेका, स्वास्थ्य उपचारका क्रममा तनाव भोगिरहेका र उच्च शिक्षाका लागि संघर्ष गरिरहेका जोकोहीलाई सहज हुने नीति ल्याउन अघि बढिरहेको दाबी गरे । ‘मैले नेपाली संस्कृतिलाई अमेरिकामा अघि बढाउन हरेक वर्ष अक्टोबरको तेस्रो साता ‘दसैं डे’ मनाउन संसदीय दस्ताबेजमै अघि बढाउन भूमिका निर्वाह गरेँ,’ उनले भने, ‘जुन भूमिकाले मूर्तरूप पायो । त्यो पनि मेरो कार्यकालको एक महत्त्वपूर्ण काम हो ।’

पत्रकारिता क्षेत्रबाट आफ्नो करिअर सुरु गरेका सतीश चापागाईं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष हुन् । उनी हाल पनि अमेरिकाका सञ्चारमाध्यममा आबद्ध छन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकारसमेत हुन् । उनी चार वर्षदेखि डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यका रूपमा आबद्ध छन् । उनी डेमोक्रेटिक पार्टीका निर्वाचित केन्द्रीय सदस्य हुन् । डेमोक्रेटिकको प्राइमरी इलेक्सन जितेपछि सतीशले हाउस अफ डेलिगेट्सका लागि चुनावी मैदानमा होमिएको र आफू जितको नजिक रहेको दाबी गरेका छन् ।

कान्तिपुरसँग कुरा गर्दै चापागाईंले नेपाली मूलका अमेरिकी जनताको आवाज बनेर आफू राजनीतिमा होमिएकाले अमेरिकाभरका नेपालीको साथ, सहयोग र समर्थन आफूमाथि रहेको बताए । ‘म स्वच्छ र निष्पक्ष राजनीतिमा सक्रिय छु,’ उनले भने, ‘मलाई विश्वास छ, यस पटक मेरो एजेन्डालाई अनुमोदन गर्न मतदाताले मलाई हाउस अफ डेलिगेट्समा विजयी गराउनेछन् ।’ उनले सबैको साथका लागि नेपाली आबद्ध संस्थाहरूलाई आग्रहसमेत गरेका छन् । आफू स्टेट डेलिगेटमा निर्वाचित भए नेपालीका मुद्दालाई मुख्य एजेन्डा बनाएर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गर्दै आएका छन् ।

मेरिल्यान्ड राज्यमा दुई जना हाउस अफ डेलिगेट्सका लागि उम्मेदवार बनेसँगै न्यु ह्याम्पसायर राज्यको हिल्सबरो काउन्टीको डिस्ट्रिक्ट ‘४१’ बाट विश्वबहादुर शाह स्टेट रिप्रेजेन्टेटिभ्सका लागि उम्मेदवार बनेका छन् ।

अमेरिकाको राज्य व्यवस्थापिका संसदमा विधानसभा र प्रतिनिधिसभा छुट्टाछुट्टै गठन गरिएका हुन्छन् । विधानसभामा निर्वाचित हुने सदस्यलाई हाउस अफ डेलिगेट्स र राज्य प्रतिनिधिसभामा निर्वाचित हुने सदस्यलाई स्टेट रिप्रेजेन्टेटिभ्स भनिन्छ ।

उनी पहिलो पटक स्टेट रिप्रेजेन्टेटिभ्सका लागि उम्मेदवार बनेका हुन् । शाहले आफ्नो चुनावी अभियानमा जीवनयापनको खर्च घटाउने, आर्थिक न्याय, सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा, बाल हेरचाह तथा ज्येष्ठ नागरिकलाई सहयोग गर्ने एजेन्डालाई प्राथमिकतामा राखेका छन् । ‘म मेहनती परिवारले न्याय र समुन्नत हुने वास्तविक अवसर पाउनुपर्छ भन्ने विश्वासका साथ चुनाव लड्दै छु,’ शाहले चुनावी अभियानका क्रममा सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै स्वास्थ्य सेवा र बाल हेरचाहलाई थप सुलभ बनाउने, सार्वजनिक विद्यालयका लागि पर्याप्त वित्तीय सहयोग सुनिश्चित गर्ने तथा कामकाजी परिवारलाई कर राहत उपलब्ध गराउने नीतिमा आफू प्रतिबद्ध रहेको बताएका छन् । ज्येष्ठ नागरिकले सम्मानजनक ढंगले अवकाश जीवन बिताउन आवश्यक सहयोग पाउनुपर्नेमा उनले जोड दिएका छन् । यसअघि न्यु ह्याम्पसायरबाट स्टेट रिप्रेजेन्टेटिभ्समा भुटानी समुदायका सुरज बुढाथोकी थिए । उनी यस पटक चुनावी मैदानमा छैनन् ।

सराहना श्रेष्ठ दोस्रो कार्यकालका डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी हुन् ।

उनले यसअघि २०२२ मा न्युयोर्कको डिस्ट्रिक्ट ‘१०३’ बाटै चुनाव जितेकी थिइन् । सन् २००१ मा विद्यार्थीका रूपमा अमेरिका आएकी उनी अमेरिकाको विधानसभा सदस्य बन्ने पहिलो नेपाली महिला हुन् । उनले सस्तो आवास, जलवायु नीति, स्वास्थ्य सेवा, सार्वजनिक शिक्षा, कामदार सुरक्षा र बाल हेरचाहका मुद्दा उठाउँदै आएकी छन् ।

उनले महिलाका समस्या, नेपाली समुदायको विकास र सहजीकरणका लागि यसअघि पनि भूमिका निर्वाह गर्दै आएको दाबी गरेकी छन् । ‘मैले विशेषगरी जलवायु परिवर्तन, नेपालीका समस्या र विश्वमा वातावरणसँगै मौसममा देखिएको अनपेक्षित परिवर्तनलाई समेत विधानसभामा उठान गर्दै आएको छु,’ उनले चुनावी अभियानका क्रममा भनेकी छन्, ‘हाम्रो अभियानलाई एकातर्फ अघि बढाउँदै नेपाली समुदायका विषयलाई थप उचाइमा पुर्‍याउन म लागिपर्नेछु ।’

करिब ३३ करोड जनसंख्या भएको अमेरिकामा २१ करोड मतदाता छन् । सन् २०२४ सम्मको तथ्यांकअनुसार अमेरिकामा १ लाख नेपाली मतदान गर्न योग्य छन् ।

हाल आठ जना नेपाली मूलका जनप्रतिनिधि अमेरिकाको स्थानीय तहमा छन् । टीका पौडेल टेक्सस राज्यको युलेस सहरका उपमेयर छन् । किरण सिटौला मेरिल्यान्ड राज्यको टाउन अफ इन्डियन हेडमा उपमेयर हुन् । स्थानीय तहको सदस्य (सिटी काउन्सिल मेम्बर) मा डिल्ली भट्टराई, रामचन्द्र श्रेष्ठ, ज्ञानु श्रेष्ठ, चिरन न्यौपाने, भुवन प्याकुरेल र मधु पन्थी छन् ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
13h ago
छोरालाई अमेरिका पठाउन एक वर्षको तलब खर्चिए, आज उनै छोरा बने गुगलका प्रमुख

छोरालाई अमेरिका पठाउन एक वर्षको तलब खर्चिए, आज उनै छोरा बने गुगलका प्रमुख

एजेन्सी । छोराको भविष्य बनाउन एक आमाबुबाले कति ठूलो त्याग गर्न सक्छन् भन्ने उदाहरण हुन् गुगलका प्रमुख सुन्दर पिचाईका बुबा। सन् १९९३ मा छोरालाई अमेरिकाको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्य...

#अमेरिका
Compare →
Nagarik News
21h ago
यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

अमेरिकाले सुरक्षा कारण देखाउँदै आफ्नो टोली फिर्ता बोलाए पनि कतारमा आयोजना हुने फिफा यू–१७ विश्वकप निर्धारित मितिमै सुरु हुने भएको छ।

#अमेरिका
Compare →
Onlinekhabar
1d ago
अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपालीले गर्ने व्यवसाय के–के होलान ? यो प्रश्नको उत्तरमा प्रायः रेस्टुरेन्ट, ग्यास स्टेसन र ब्यूटी सलुनजस्ता व्यवसायको नाम आउँछ । तर ठूला ब्रान्डेड होटल, होटल, आवासीय बस्ती र र व्यवसायिक भवन निर्माणजस्ता ठूला लगानीका …

#अमेरिका
Compare →

Related Stories

World News
Build #2612