रास्वपा सभापति रवि लामिछानेले कानुन पृष्ठभूमिका सांसद र कानुनमन्त्रीसँग सर्वोच्च अदालतको विवाद समाधानका विकल्पबारे छलफल गरेका थिए।
काठमाडौँ — न्यायाधीशहरूको आचरणबारे प्रश्न उठिरहेका बेला रास्वपा सभापति रवि लामिछानेले पार्टीका कानुन पृष्ठभूमिका सांसद, कानुनमन्त्री र प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिसँग सर्वोच्च अदालतको पछिल्लो विवादबारे छलफल गरेका छन्।
शुक्रबार बुढानीलकण्ठस्थित आफ्नो निवासमा लामिछानेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सांसदहरू मोहनलाल आचार्य, सुलभ खरेल, समिति सभापति समीक्षा बाँस्कोटा र सांसद गजाला शमिम मिकरानीसँग छलफल गरेका हुन्। छलफलमा विवादित न्यायाधीशमाथि छानबिन र महाभियोगसम्मको विकल्पबारे गम्भीर रूपमा कुरा भएको सहभागीहरूले बताएका छन्।
सांसद मोहनलाल आचार्यका अनुसार लामिछानेले सर्वोच्चको विवाद कसरी समाधान हुन्छ र त्यसमा राजनीतिक तहले चासो दिनुपर्ने हो कि अदालतले आफैं समाधान गर्ने हो भन्ने प्रश्न गरेका थिए। छलफलमा अदालत आफैंले समाधान गर्ने, न्याय परिषद्ले छानबिन गर्ने र महाभियोग अघि बढाउने तीन विकल्पबारे कुरा भएको थियो।
सांसद सुलभ खरेलले न्यायाधीश र बिचौलियाबीचको सम्बन्धबारे गम्भीर छलफल भएको बताए। उनका अनुसार संविधानले निर्दिष्ट गरेअनुसार अनुसन्धानमा जानुपर्नेमा सहभागीहरू एकमत थिए। लामिछानेले कानुन व्यवसायीलगायत सरोकारवालासँग छलफल गर्ने बताएका थिए।
छलफलमा सर्वोच्चको वर्तमान विवादलाई न्यायपालिकाको शुद्धीकरणसँग जोडेर अघि बढाउनुपर्ने विषय पनि उठेको थियो। रास्वपाका सांसदहरूले न्यायपालिकामा अराजकता र भ्रष्टाचार भएको दाबीसहित संसद्मा बोल्दै आएको उल्लेख गरेका छन्।
विस्तृतमा पढ्नुहोस् : विवादित न्यायाधीशविरुद्ध महाभियोगतर्फ रास्वपा
जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।