कार्यक्रमस्थलमा खटिएका ईप्रका प्रसौनीका इन्चार्ज इन्स्पेक्टरलाई जिल्ला तानियो
रौतहट — बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपका क्रममा प्रहरीले गोली चलाएको घटनाको मधेश प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ। समितिले आइतबारबाट काम सुरु गरेको छ। यो घटनामा बिना आदेश प्रहरीले गोली चलाएको जिल्ला प्रशासन कार्यालय बाराको ठम्याइ छ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन भएको हो। समितिमा एसपी भुवनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव छन्। ‘हामीले आजबाटै छानबिनको काम सुरु गरेका छौँ,’ एसएसपी ढकालले भने, ‘घटनास्थलमा कसरी र कुन परिस्थितिमा यस्तो हुन गयो भन्ने हो। अनुसन्धानपछि मात्र वास्तविकता खुल्छ।’
एक पक्ष अस्पताल उद्घाटन रोक्नुपर्ने र अर्काे पक्ष जसरी पनि सम्पन्न गर्ने अडानमा रहेपछि विवाद बढेर झडप भएको हो। झडपका क्रममा प्रहरीको गोली लागेर स्थानीय युवक आदित्य पासवान गम्भीर घाइते भएका छन्। झडपमा ढुंगामुढा हुँदा पाँच प्रहरी र केही स्थानीय घाइते भएका छन्। प्रदर्शनकारीले कर्मचारीलगायतका १० वटा मोटरसाइकल जलाएका छन्। विवादबीच स्थानीयले नवनिर्मित अस्पतालको शिलालेख र कार्यक्रमस्थलको टेन्ट तोडफोड गरेका थिए।
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले घटना रोक्न विभिन्न उपाय अपनाउनुपर्नेमा प्रहरीले बिना आदेश गोली नै चलाउनु दुःखद भएको बताए। ‘यो घटनाको छानबिन हुन्छ,’ उनले भने, ‘घटनास्थलको अवस्था नियन्त्रणमा लिने क्रममा न सिडिओ, न एसपीसँग आदेश लिएको छ ? किन र कसको आदेशमा गोली चलायो भन्ने छानबिन हुनु जरुरी छ।’
प्रहरीले हवाई फायर गरेको बताए पनि पासवानको शरीरको पछाडिको भाग (हिप) मा गोली लागेपछि प्रजिअ अधिकारी आक्रोशित छन्। कार्यक्रमस्थलमा खटिएका इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाई जिल्ला तानिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घटनास्थलमा घाइते स्थानीयले प्रनि लामाकै कारण झडपको घटनाले उग्ररूप लिएको आरोप लगाएका थिए। उनी २५ जनाको टोलीको कमान्ड गर्दै कार्यक्रमस्थलमा सुरुदेखि नै खटिएका थिए।
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।