Trending
Prev Story
Next Story

विराटनगरमै अवसरको संसार बसाउँदै सुनिता

Ekantipur •
November 01, 2026 • 03:31 AM
1
1 reads 0 reactions

सुनिताले सूचना प्रविधि र जलप्रशोधन क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै वार्षिक करोडौं रुपैयाँको कारोबार र स्थानीय रोजगारी सिर्जना गरिरहेकी छन्।

विराटनगरमै अवसरको संसार बसाउँदै सुनिता

सुनिताले सूचना प्रविधि र जलप्रशोधन क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै वार्षिक करोडौं रुपैयाँको कारोबार र स्थानीय रोजगारी सिर्जना गरिरहेकी छन्।

विराटनगर — मासिक दुई लाख रुपैयाँ तलबको जागिर । त्यो पनि दुबईमा । धेरै नेपाली युवाका लागि यस्तो अवसर आकर्षक मात्र होइन, विदेश जाने निर्णयको बलियो कारण पनि बन्न सक्छ । तर, मोरङको ग्रामीण परिवेशबाट हुर्किएकी सुनिता राउतका लागि त्यो अवसर आफ्नै बाटो रोज्ने एउटा परीक्षा बन्यो ।

सुनिताले दुबईको जागिर अस्वीकार गरिन् । कारण थियो– विदेशमा गएर अरूका लागि काम गर्नुभन्दा आफ्नै ठाउँमा केही गर्ने हुटहुटी । ‘अरूले बनाइदिएको बाटोमा हिँड्नुभन्दा आफ्नै बाटो खन्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छिन्, ‘पैसा मात्र कमाउनेभन्दा आफूले केही नयाँ सिक्ने र अघि बढ्ने कुरा मेरो प्राथमिकता हो ।’

त्यही निर्णयले अहिले सुनितालाई सूचना प्रविधि र जलप्रशोधनका दुई फरक व्यवसायको नेतृत्व गर्ने ठाउँमा पुर्‍याएको छ । एउटा व्यवसाय प्रविधिसँग जोडिएको छ, अर्को पानी र स्वास्थ्यसँग । दुवैको प्रकृति फरक भए पनि उनको उद्यमशील यात्राको केन्द्रमा एउटै सोच छ– समस्या पहिचान गर्ने र त्यसको व्यावसायिक समाधान खोज्ने ।  मोरङको रतुवामाई नगरपालिका सौठाबाट विद्यालय तहको शिक्षा पूरा गरेकी सुनिता उच्च शिक्षाका लागि १२ वर्षअघि विराटनगर आइन् । प्लस टु अध्ययनपछि स्नातक तह पढ्दै गर्दा उनले ट्युसन पढाउने काम गरिन् । अध्ययनसँगै अतिरिक्त क्रियाकलाप र नयाँ सीप सिक्न पनि उनी सक्रिय रहिन् । करियरको सुरुआती चरणमै सुनिताले एउटा कुरा बुझिन्, सीप र अनुभवबिनाको कमाइ दीर्घकालीन हुँदैन । त्यसैले सुरुमा पैसा कमाउनुभन्दा सिकाइ र अनुभवलाई प्राथमिकता दिइन् । नयाँ काम र चुनौतीलाई उनले आफूलाई थप सक्षम बनाउने अवसरका रूपमा लिइन् ।

स्नातक तह पूरा गरेपछि शिक्षण तथा तालिमसम्बन्धी काममा संलग्न भइन् । ग्रामीण क्षेत्रका स्थानीयसँग काम गर्दै उनीहरूलाई बोल्न तथा सञ्चार सीप विकासमा पनि सहयोग गरिन् । विभिन्न काम र अनुभवबाट उनको आत्मविश्वास बढ्दै गयो । त्यसपछि सुरु भयो आफ्नै व्यवसायको यात्रा । उद्यमशीलताको सुरुआतमा सुनिताले बुबाबाट दुई लाख रुपैयाँ ऋण लिइन् । ‘बुबाबाट लिएको ऋण ६ महिनापछि नै फिर्ता गरिदिएँ,’ ठट्यौली पारामा सुनाइन्, ‘चाँडै फिर्ता गरेकाले बुबाले ब्याज चाहिँ माग्नु भएन ।’ सुनिताले त्यो रकमबाट सीप र अनुभवलाई व्यवसायमा रूपान्तरण गर्ने योजना बनाइन् । चार लाख रुपैयाँ लगानीबाट सूचना प्रविधि कम्पनी सुरु गरिन् ।

त्यसको नाम राखिन्— स्पार्कटेक इन्कर्पोरेसन । सुरुमा सानो लगानीबाट थालिएको कम्पनी अहिले वेब डेभलपमेन्ट, मोबाइल एप, डिजिटल मार्केटिङ, एनिमेसन, भिडियो सुटिङ तथा बुस्टिङलगायत सेवा दिने कम्पनी बनेको छ । नेपालसँगै भारत र तेस्रो मुलुकसम्म ग्राहक छन् । वार्षिक कारोबार करिब करोड हाराहारी पुगेको सुनिता बताउँछिन् ।

‘सुरुमा पैसा थिएन, तर काम गर्ने इच्छाशक्ति थियो,’ उनी भन्छिन्, ‘काम गर्दै जाँदा अनुभव बढ्यो, ग्राहक थपिँदै गए र व्यवसाय पनि विस्तार हुँदै गयो ।’ स्पार्कटेक सञ्चालनका क्रममा उनले अर्को सम्भावना देखिन्, पानी प्रशोधन । प्रविधिको क्षेत्रमा काम गरिरहँदा विभिन्न संस्था र व्यवसायमा पानीको गुणस्तर, शुद्धीकरण र प्रयोगसँग जोडिएका समस्या देखिन् । त्यसले सुनितालाई नयाँ क्षेत्रमा प्रवेश गर्ने सोच पलायो । भारतीय साझेदार रजत काब्रासँग मिलेर उनले सुरु गरिन्— युनिवाटर ।

जलप्रशोधन उनको पहिलेको क्षेत्र थिएन । पानीको प्रविधि, मेसिन र शुद्धीकरण प्रक्रियाबारे उनको सुरुआती ज्ञान पनि सीमित थियो । तर, अपरिचित क्षेत्रलाई उनले चुनौतीका रूपमा लिइन् । ‘सुरुमा पानीको क्षेत्रमा मेरो खासै अनुभव थिएन,’ उनी भन्छिन्, ‘तर तीन–चार वर्ष लगातार सिक्दै र काम गर्दै जाँदा यो क्षेत्रको सम्भावना बुझ्न थालें ।’

अहिले युनिवाटरको वार्षिक कारोबार एक करोड नाघेको सुनिता बताउँछिन् । यसको बजार नेपालभर फैलिएको छ । विराटनगर र आसपासका क्षेत्रमा पानीमा आइरन, कडापन तथा धमिलोपनको समस्या रहेको उनको अनुभव छ । यस्ता समस्याले पाइपलाइनदेखि मेसिन तथा उपकरणसम्म असर पार्ने र पानी प्रयोगमा कठिनाइ हुने गरेको उनको भनाइ छ ।

यिनै समस्याको समाधान खोज्दै युनिवाटरले आवासीयदेखि औद्योगिक ग्राहकसम्म सेवा विस्तार गरेको छ । कम्पनीले जलप्रशोधन मेसिन बिक्रीमा मात्र सीमित नराखी फरक व्यावसायिक मोडल पनि अघि सारेको छ– ‘रेन्टल मोडल’ । अस्पताल, विद्यालय, रेस्टुरेन्ट तथा अन्य संस्थाले जलशोधन मेसिन राख्दा सुरुमा ठूलो रकम खर्च गर्नुपर्ने समस्या हुन्छ । युनिवाटरले त्यसलाई ध्यानमा राखेर ग्राहकको स्थानमै मेसिन जडान गर्ने र प्रयोग भएको शुद्ध पानीको परिमाणका आधारमा शुल्क लिने व्यवस्था गरेको छ । ‘ग्राहकले मेसिन किन्नैपर्ने बाध्यता नहोस् भनेर यस्तो मोडल ल्याएका हौं,’ सुनिता भन्छिन्, ‘जति पानी प्रयोग गर्नुहुन्छ, त्यहीअनुसार शुल्क तिर्नुहुन्छ ।’

व्यवसाय बढ्दै जाँदा सुनिताले कर्मचारी व्यवस्थापनमा पनि आफ्नै शैली विकास गरेकी छन् । आइटी क्षेत्रमा हाल १२ जना र युनिवाटरमा चार कर्मचारी छन् । उनका लागि कर्मचारी कार्यालयमा कति घण्टा बसे भन्नेभन्दा कामको परिणाम र सिर्जनशीलता महत्त्वपूर्ण छ । विशेषगरी विद्यार्थी तथा युवा कर्मचारीलाई आफ्नो पढाइ र व्यक्तिगत जीवनसँग काम सन्तुलन गर्न सहज हुने गरी कामको समय छनोट गर्ने सुविधा दिइएको छ । ‘युवालाई बिहान १० बजेदेखि साँझ ५ बजेसम्म एउटै घेरामा राखेर सिर्जनशील बनाउन सकिँदैन,’ सुनिताले भनिन्, ‘उनीहरूले पढाइ, व्यक्तिगत जीवन र कामलाई सन्तुलन गर्न सकून् भन्ने हाम्रो प्रयास हो ।’

कार्यालयको वातावरण पनि त्यसैअनुसार बनाइएको छ । ओपन किचेन, इनडोर गेमलगायतका सुविधा छन् । कर्मचारी आफैंले खाना बनाउने, केही समय खेल्ने र कामबाट फ्रेस हुने वातावरण बनाइएको सुनिता बताउँछिन् । कर्मचारी खुसी भए उत्पादकत्व बढ्ने उनको बुझाइ छ । त्यसैले वर्षमा दुई–तीन पटक दार्जिलिङलगायतका ठाउँमा कर्मचारीका लागि रिफ्रेसमेन्ट ट्रिपसमेत आयोजना गर्ने गरिएको छ । ‘व्यक्तिगत जीवनमा खुसी नभएको मानिसले काममा शतप्रतिशत दिन सक्दैन,’ उनी भन्छिन्, ‘त्यसैले कर्मचारीको व्यक्तिगत विकास र खुसीलाई पनि हामीले व्यवसायकै एउटा हिस्सा मानेका छौं ।’

तर, व्यवसायको यो उचाइसम्म आइपुग्ने यात्रा सहज भने थिएन । युवा महिला उद्यमीका रूपमा उनले आर्थिक चुनौतीसँग मात्र होइन, सामाजिक धारणासँग पनि संघर्ष गर्नुपर्‍यो । आफू सफल हुँदै जाँदा पनि ‘कुनै गलत काम गरेर पो यहाँसम्म पुगेकी हो कि ?’ भन्ने प्रश्न सुन्नुपरेको उनको अनुभव छ । व्यावसायिक बैठकमा समेत महिला भएकै कारण क्षमतामाथि प्रश्न उठ्ने गरेको उनी बताउँछिन् । ‘कतिपय मिटिङमा पुरुष सहकर्मीलाई सहजै विश्वास गरिन्छ, तर महिलालाई पहिले नै शंका गर्ने प्रवृत्ति देखिन्छ,’ उनी भन्छिन् । तर, त्यस्ता प्रश्नले उनको गति रोकिएन । बरु शंकालाई परिणामबाट जवाफ दिने प्रयास गरिन् ।

‘दस जनाले तिमीले सक्दैनौ भने पनि आफूले सक्छु भन्ने विश्वास राख्नुपर्छ,’ उनी भन्छिन्, ‘अरूलाई गलत साबित गर्नुभन्दा आफूलाई सही साबित गर्नमा ध्यान दिनुपर्छ ।’ सुनिताका लागि व्यवसाय अब कमाइको माध्यम मात्रै रहेन, पहिचान बनाउने बाटो बन्यो । उनी काठमाडौंलाई मात्र अवसरको केन्द्र मान्ने सोच बदल्न चाहन्छिन् । उनको सपना मोफसलमै यस्तो व्यावसायिक वातावरण निर्माण गर्ने हो, जहाँ रोजगारी र अवसर खोज्दै युवाहरू काठमाडौं वा विदेश जानुपर्ने बाध्यता नहोस् । ‘काठमाडौंका मानिसहरू नै बरु यता आएर काम गर्ने वातावरण बनाउन सकियोस् भन्ने मेरो सपना हो,’ सुनिता उत्साहित हुन्छिन्, ‘एक दिन म त्यो स्थिति बनाउँछु भन्ने लाग्छ ।’

त्यसका लागि स्थानीय युवालाई रोजगारीसँग जोड्ने, उनीहरूलाई सिक्ने अवसर दिने र कामकै क्रममा दक्ष बनाउने प्रयासमा सुनिता सक्रिय छिन् । उनको उद्यमशीलता भने कार्यालय र कारोबारको सीमामा मात्र अडिएको छैन । अविवाहित सुनितालाई यात्रा र प्रकृतिसँग गहिरो लगाव छ । अन्नपूर्ण बेस क्याम्पदेखि भारतका मनाली र सिमलासम्म उनले यात्रा गरिसकेकी छन् । नयाँ ठाउँ, नयाँ मानिस र नयाँ संस्कृतिसँगको भेटलाई उनी व्यक्तिगत सिकाइको माध्यम मान्छिन् । प्रकृतिप्रतिको यही लगावका कारण फुर्सद मिल्नासाथ उनी नयाँ ठाउँतिर निस्कन्छिन् । ‘यात्राले आफूले नदेखेको संसार देखाउँछ,’ सुनिता भन्छिन्, ‘नयाँ ठाउँ र मानिसबाट पनि धेरै कुरा सिक्न सकिन्छ ।’ त्यसैले उनको उद्यमशीलताको परिभाषा पनि आम्दानीमा मात्र सीमित छैन ।

सुनिताका लागि व्यवसाय भनेको सिकाइसँगै समस्या समाधान गर्ने र अरूका लागि अवसर सिर्जना गर्ने माध्यम हो । ‘पैसाको पछाडि मात्र दौडिएर जीवन चल्दैन,’ उनी भन्छिन्, ‘आफूले के सिकिरहेका छौं, कसरी अघि बढिरहेका छौं र अरूका लागि के अवसर सिर्जना गर्न सकिरहेका छौं भन्ने पनि महत्त्वपूर्ण हुन्छ ।’ उद्यमशीलतामा आउन चाहने युवालाई सुनिता सबैभन्दा पहिले आफ्नो रुचि र क्षमतामा विश्वास गर्न सुझाउँछिन् । अरूले रोजेको क्षेत्रमा भन्दा आफूलाई मन पर्ने क्षेत्रमा काम गर्दा चुनौती सामना गर्न सहज हुने उनको अनुभव छ । आफ्ना समस्या र योजनाबारे खुलेर कुरा गर्न सकिने असल मेन्टरको साथले व्यवसाय र व्यक्तिगत जीवन दुवैमा निर्णय लिन सहज हुने उनी बताउँछिन् । दुई फरक क्षेत्रमा व्यवसाय गरिरहेकी सुनिताका लागि दुबईको आकर्षक जागिर अस्वीकार गर्ने निर्णय आफ्नै देशमा सम्भावना खोज्ने कोसेढुंगा बन्यो । मोरङको ग्रामीण परिवेशबाट विराटनगर हुँदै उद्यमशीलताको यात्रामा अघि बढिरहेकी उनी अहिले आफूले खनेको बाटोमा छिन्, जहाँ चुनौतीको चाङ छ । जोखिम छ, सिकाइ र बग्रेल्ती सम्भावना पनि । ‘अवसर सानो होस् वा ठूलो, त्यसलाई समात्नुपर्छ,’ उनी भन्छिन्, ‘किनकि अघि बढ्दा कि जितिन्छ, कि त सिकिन्छ । हार भन्ने कुरा मेरो डिक्सनरीमा छैन ।’

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
नेपाल सम्वत् ११४७ को अवसरमा विशिष्ट व्यक्तित्वहरू सम्मानित

नेपाल सम्वत् ११४७ को अवसरमा विशिष्ट व्यक्तित्वहरू सम्मानित

काठमाडौं। नेपाल सम्वत् ११४७ को अवसरमा नेपाल भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्‍याउने नौ जना विशिष्ट व्यक्तित्व सम्मानित भएका छन्। सिंफ नेवाः खलःद्वारा मंगलबार आयोजित ‘न्हुदँया ...

#अवसर
Compare →
Nagarik News
6h ago
विराटनगरमा जग्गाको कित्ताकाट खुलाउने तयारी

विराटनगरमा जग्गाको कित्ताकाट खुलाउने तयारी

विराटनगर महानगरपालिका क्षेत्रभित्र जग्गाको कित्ताकाट खुलाउने प्रक्रिया अघि बढेको छ। भू–उपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया पूरा गरी महानगरपालिकाले आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि कित्ताकाटसम्बन्धी काम अघि बढाउने बाटो खुलेको हो।

#विराटनगर
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#विराटनगर
Compare →
Onlinekhabar
1d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#विराटनगर
Compare →

Related Stories

World News
Build #2611