काठमाडौं जिल्ला अदालतमा तीन, विशेष अदालतमा दुई र उच्च अदालतमा एक मुद्दा विचाराधीन, सबै मुद्दामा भट्ट मुख्य प्रतिवादी
काठमाडौँ — विवादास्पद व्यवसायी दीपक भट्टसहित २० जनाविरुद्ध बिमा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । भट्टविरुद्ध दायर यो छैटौं मुद्दा हो । यसअघि उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत र विशेष अदालत काठमाडौंमा पाँच मुद्दा दायर गरिएका थिए । ती सबै विचाराधीन छन् ।
हिमालयन रि–इन्स्योरेन्सको सेयर चलखेल गरी योजनाबद्ध रूपमा राज्यलाई नोक्सान पुर्याएको अभियोगसहित भट्टलगायतविरुद्ध करिब ४५ करोड रुपैयाँ बिगो दाबीसहित बिहीबार मुद्दा चलाइएको हो ।
अभियोगपत्रमा आठ चरण अपनाएर बिमा ऐन र सम्पत्ति शुद्धीकरणको कसुर गरेको पाइएको दाबी गरिएको छ । पहिलो चरणमा हिमालयनबाट २८ करोड पेस्की निकालिएको, दोस्रो चरणमा फर्जी लेखांकन गरी एलियन्ट इन्स्योरेन्स ब्रोकर्सलाई २३ करोड ९२ लाख दिएको अभियोगपत्रमा उल्लेख छ । तेस्रो चरणमा एलियन्टको लाभांशमा २१ करोड १५ लाख स्थानान्तरण गरिएको र चौथो चरणमा आम्दानी कोषको दुरुपयोग गरी २३ करोड ९२ लाख अन्जना नेपालको खातामा स्थानान्तरण गरेको अभियोग लगाइएको छ ।
पाँचौं चरणमा अन्जना नेपालको खातामा पुनः २१ करोड १५ लाख लाभांश भनी जम्मा गरेको र छैटौं चरणमा महालक्ष्मी बैंकको खाताबाट आयुष्मा भट्टको सिद्धार्थ बैंकको खातामा २१ करोड १५ लाख स्थानान्तरण गरिएको अभियोगपत्रमा उल्लेख छ । सातौं र आठौं चरणमा आयुष्मा भट्टको खाताबाट दीपक भट्टको खातामा २१ करोड १५ लाख र २१ करोड १५ लाख गरी ४२ करोड ३० लाख स्थानान्तरण गरिएको पाइएको पनि जनाइएको छ ।
भट्टले हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडलगायत अन्य बिमा कम्पनी एवं तिनका सहायक कम्पनीहरूको कोषको रकम योजनाबद्ध रूपमा हिनामिना एवं दुरुपयोग गरी आफूले निजी लाभ प्राप्त गरेको दाबी अभियोगपत्रमा छ । बिमा कोष तथा पुनर्बिमा कोषको रकमलाई आफैं वास्तविक धनी भई सासू अन्जना नेपालका नाममा ब्रोकर कम्पनी एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि खडा गरी कारोबार र सेयर लगानीमार्फत परिचालन गरेर प्राप्त लाभांश आफैंमा केन्द्रित गरेको भेटिएको दाबी पनि गरिएको छ ।
बिमकको रकम अपचलन गरी सम्बद्ध कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादीहरूविरुद्ध बिगो जरिवाना र कैद सजाय हुनुपर्ने दाबी अभियोगपत्रमा गरिएको छ । भट्टसहितमाथि थप अभियोगमा प्रहरीले अनुसन्धान पनि गरिरहेको छ । हतियार खरिदका विषयमा उनको संलग्नता र बैंकिङ कसुरमा प्रहरीले अनुसन्धान जारी राखेको छ । बिहीबार दायरबाहेक भट्ट समूहविरुद्ध विशेष अदालतमा दुई, उच्च अदालतमा एक र काठमाडौं जिल्ला अदालतमा दुई मुद्दा छन् । यी सबै मुद्दामा भट्टलाई मुख्य प्रतिवादी बनाइएको छ ।
भट्ट लगायतविरुद्ध पहिलो मुद्दा गत २८ जेठमा विशेष अदालतमा दर्ता भएको थियो । जसमा हिमालयन रि–इन्स्योरेन्स लगायतका बिमा कम्पनीको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको थियो । २६ अर्ब ६३ करोड रुपैयाँ बिगो दाबी गरिएको मुद्दामा सम्पत्ति शुद्धीकरण र बिमा कसुरलगायतमा कैद दाबी गरिएको थियो ।
अभियोगपत्रमा बैंकिङ कसुरबाट प्राप्त ४२ करोड १४ लाख भट्ट अध्यक्ष रहेको इन्फिनिटी होल्डिङको सेयर चुक्ता पुँजी बढाई सो रकमबाट हिमालयन रि–इन्स्योरेन्सको ४५ करोडको संस्थापक सेयर खरिद गरी सम्पत्ति शुद्धीकरण गरेको दाबी गरिएको छ । ३४ व्यक्ति र पाँच कम्पनीविरुद्ध उक्त मुद्दा चलाइएको थियो । भट्टसँग मात्रै २६ अर्ब ६३ करोड बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरण अभियोगमा व्यक्तिगत बिगोका आधारमा यो ठूलो मुद्दा हो ।
भट्टसहितविरुद्ध दायर भएको दोस्रो मुद्दा बैंकिङ कसुरसम्बन्धी हो । उच्च अदालत पाटनमा २८ जेठमै दायर गरिएको यस मुद्दामा भट्ट र उनीनिकट समूहले कृत्रिम सेयर कारोबार गरी नेपाल रि–इन्स्योरेन्स कम्पनीको ६५.२५ प्रतिशत सेयर केन्द्रीकृत गरेको अभियोग लगाइएको छ । अभियोगपत्रअनुसार त्यसका लागि उनीहरूले पब्लिक कम्पनीहरूकै रकम दुरुपयोग गरी एक करोड ४० लाख १३ हजार ३ सय ५२ कित्ता सेयर खरिद गरेका थिए । जसमा चार अर्ब ७८ करोड ८५ लाख रुपैयाँ प्रयोग भएको थियो । ४२ करोड १४ लाख ८८ हजार बिगो दाबी गरिएको मुद्दामा ४ जनालाई प्रतिवादी बनाइएको थियो ।
२८ जेठमै दायर तेस्रो मुद्दा हिमालयन रि–इन्स्योरेन्स र यसका सहायक कम्पनीबाट तीन अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ अपचलन गरिएको दाबीसहित दीपक भट्टसहित ४२ जनाविरुद्ध बिमासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा दायर भएको थियो । बिमा कम्पनीको पैसा भट्ट र उनीनिकट समूहले गैरकानुनी रूपमा सेयर बजारमा लगानी गरेका थिए । सो रकम फिर्तासमेत नगरेको धितोपत्र बोर्डकै छानबिनमा खुलेको थियो ।
चौथो मुद्दा शंकर ग्रुपको जगदम्बा स्टिल्सले विभिन्न बैंकबाट लिएको रकम सो कम्पनीको मिलेमतोमै दुरुपयोग गरेको दाबीसहित दायर गरिएको थियो । गत १ असारमा दायर गरिएको यस मुद्दामा भट्टसहित शंकर समूहका शंकरलाल अग्रवाल, सुलभ अग्रवाल र साहिल अग्रवाललाई प्रतिवादी बनाइएको थियो । जगदम्बा स्टिल्सलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अगुवाइमा प्रवाह भएको र अन्य कर्जा पनि दुरुपयोग भएको दाबी गरिएको थियो । यस मुद्दामा ८१ जनालाई प्रतिवादी बनाइएको थियो भने ४ अर्ब ७८ करोड ८५ लाख बिगो भट्टको हकमा दाबी गरिएको थियो ।
यस्तै, गत ३२ असारमा भट्टसहित १६ जनाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको पूरक मुद्दा दायर गरिएको थियो । जसमा पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलका साथै ऋषिराज मोर, सुलभ अग्रवाल, सुशभी अगैजा, उमेश बस्नेतलगायतलाई प्रतिवादी बनाइएको छ । पौडेलसँग मिली अन्य व्यापारीका विवादमा सहजीकरण गर्दै फाइदा लिएर सम्पत्ति शुद्धीकरण गरेको अभियोगपत्रमा दाबी गरिएको छ । पौडेलसँग मिली श्रीराम टोबाको प्रालिको उच्च मूल्यको सेयरलाई न्यून मूल्यमा प्राप्ति गर्ने तथा कसुरबाट प्राप्त सम्पत्ति ढाकछोप गर्ने माध्यम बनाएको रकम २६ करोड २५ लाख ६६ हजार २५० लाई बिगो कायम गरी मुद्दा चलाइएको हो ।
भट्टका बुबाले दिए मानवअधिकार आयोगमा निवेदन
विभिन्न मुद्दा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टका बुबा चतुर्भुज भट्टले मानवअधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । छोराको मानवअधिकार तथा संविधानप्रदत्त मौलिक हक संरक्षणको माग गर्दै उनले बुबा शुक्रबार आयोगमा निवेदन दिएका हुन् । चतुर्भुजले आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न र छोरालाई सिन्धुपाल्चोक कारागारबाट नक्खु कारागारमा फिर्ता ल्याउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिन माग गरेका छन् ।
विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा दीपकलाई दोषीका रूपमा चित्रण गरिएको, चरित्रहत्या गरिएको र त्यसले सामाजिक प्रतिष्ठामा आघात पुर्याएको उनको भनाइ छ । चतुर्भुजले त्यस्ता सामग्री प्रकाशन तथा प्रसारण रोक्नुपर्ने माग पनि गरेका छन् । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेलका लागि अनुरोध गरेको भन्ने विषयमा प्रकाशित समाचारप्रति उनले आपत्ति जनाएका छन् ।
दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।