जेनिफर पीडमको रोमाञ्चक फिल्मले एडमन्ड हिलारीको छायामा रहेको सगरमाथाको पहिलो आरोहणको कथालाई तेन्जिङ नोर्गेको आफ्नै सपना र संघर्षमार्फत प्रस्तुत गर्छ ।
पश्चिमी जगत् र पर्वतारोहण वृत्तमा लामो समयदेखि न्युजिल्यान्डका एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेको मान्यता रहँदै आएको छ। उनको साथमा र आरोहणमा सहयोग गर्न तिब्बती मूलका पर्वतारोही तेन्जिङ नोर्गे थिए । अब अस्ट्रेलियाली फिल्ममेकर जेनिफर पीडमले आफ्नो पहिलो कथानक फिचर फिल्म ‘तेन्जिङ’मार्फत यो बुझाइलाई सच्याएकी छन्।
फिल्मले सन् १९५३ को सगरमाथाको आरोहण अभियानमा नोर्गेले हिलारीको सपना साकार पार्न सघाउने सहयात्रीको भूमिका मात्र निभाएका थिएनन् भन्ने देखाउँछ। सगरमाथा आरोहणका लागि गएको त्यो बेलायती टोलीमा अरू कसैको भन्दा नोर्गेसँग धेरै अनुभव थियो। ‘तेन्जिङ’ले नोर्गेका आफ्नै सपना र संघर्ष पनि थिए भन्ने कुरा प्रस्तुत गर्छ। यस कथामा पश्चिमी पर्वतारोहीहरू मात्र नायक थिएनन्। अहिलेसम्म अधिकांश इतिहासकारले यो पक्षलाई स्वीकार गरेका थिएनन्।
पीडमको फिल्मले आरोहण अभियानमा हिलारीको योगदानलाई कम आँक्दैन। बरु फरक पृष्ठभूमिबाट आएका यी दुई व्यक्तिले उक्त अभियानमा के–कस्तो योगदान लिएर आएका थिए भन्ने बुझ्दा नोर्गे र हिलारीको साझेदारी झन् रोचक बन्न पुग्छ।
‘तेन्जिङ’को प्रिमियर सेप्टेम्बरको सुरुवातमा कोलोराडोको टेलुराइड फिल्म फेस्टिभलमा भयो। त्यसपछि फिल्म टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि प्रदर्शन भयो। अमेरिकामा अक्टोबरको सुरुवातमा छोटो समय हलमा प्रदर्शन भएपछि एप्पलले अक्टोबर १६ देखि यो नोर्गेको जीवनीमा आधारित फिल्मलाई विश्वभर स्ट्रिम गर्नेछ।
‘तेन्जिङ’ एउटा इमानदार र रोमाञ्चक फिल्म हो। यसको पटकथा अस्ट्रेलियाली ओस्कार–मनोनित पटकथा लेखक लुक डेभिस (‘लायन’) ले लेखेका हुन्। फिल्मका मुख्य पात्र नोर्गेको मध्य उमेरको दमदार भूमिका गेन्डेन फुन्त्सोकले निर्वाह गरेका छन्, उनलाई पेमा छेदेनको ‘स्नो लेपर्ड’बाट पनि चिनिन्छ। युवा नोर्गेको भूमिकामा तेन्जिन दल्हा छन् भने बाल्यकालको नोर्गेको भूमिका सामद्रुप दोर्जे लामाले गरेका छन्।
डेभिसको पटकथा र पीडमको निर्देशनले फिल्मको केन्द्रीय ध्यान नोर्गेमै कायम राख्छ—विशेषगरी फुन्त्सोकले निर्वाह गरेको वयस्क नोर्गेमा। हिलारीको भूमिका ‘द नाइट म्यानेजर’का लागि चर्चित बेलायती अभिनेता टम हिडल्स्टनले गरेका छन्, जसले मार्भल सिनेम्याटिक युनिभर्सको शृंखलामा लोकीको भूमिका पनि निर्वाह गरेका छन्। फिल्ममा फुन्त्सोकलाई प्रमुख कलाकारका रूपमा पनि अगाडि राखिएको छ।
फ्ल्यासब्याकमार्फत हामी नोर्गेको जीवन नियाल्छौँ—तिब्बती पठारमा बालक नोर्गे (लामा), जसलाई चोमोलुङ्मा (एभरेस्टको तिब्बती नाम)ले आकर्षित गरेको छ। नोर्गे करिब १० वर्षका थिए होला, जब उनले बेलायती पर्वतारोही जर्ज म्यालोरीलाई एभरेस्टतर्फ जाँदै गरेको देखे। म्यालोरीले तीनपटक आरोहणको प्रयास गरेका थिए—अन्तिमपटक सन् १९२४ मा शिखरमा पुग्ने क्रममा उनी र उनका सहयात्री स्यान्डी इर्विनको मृत्यु भयो। तर युवा नोर्गेलाई चोमोलुङ्मा चढ्नु कति चुनौतीपूर्ण हुन्छ भन्ने कुनै ज्ञान थिएन। बरु उनले निर्दोष भावमा म्यालोरीसँग आफू पनि सँगै जान पाउने हो कि भनेर सोधे। त्यसपछि सगरमाथाको शिखरमा पुग्नु उनको जीवनको लक्ष्य बन्यो।
युवावस्थामा नोर्गे (दल्हा) किसान थिए, तर उनले आफ्नो जीवनको लक्ष्य कहिल्यै बिर्सेनन्। युवा किसान छँदा नोर्गेको भेट जीवनसाथी बन्ने दावासँग भयो, जसको भूमिका ‘शाम्बाला’ का लागि चर्चित थिन्ले ल्हामो ले निर्वाह गरेकी छन्। दुवै काठमाडौं आए। तर दावाको मृत्युको दुःखद घटनाले नोर्गेलाई सगरमाथा आरोहणका अभियानमा सहभागी हुन अझ दृढ प्रयास गर्न प्रेरित गर्यो। यस क्रममा उनले शिखरतर्फ जाने स्विडिस टोलीका लागि भरिया भएर समेत काम गरे।
नोर्गेका लागि सगरमाथा केवल जित्नुपर्ने संसारकै सर्वोच्च शिखर भएको पहाड थिएन। उनका लागि चोमोलुङ्माको शिखरमा पुग्नु एक आध्यात्मिक अभियानजस्तै थियो।
कर्नेल जोन हन्ट (विलेम डिफो)को नेतृत्वमा एउटा बेलायती टोली सहरमा आइपुग्दा नोर्गे फेरि त्यसको हिस्सा बन्न अघि सर्छन् । तर यस पटक उनले आफू पर्वतारोहीका रूपमा अभियानमा जान चाहेको अडान लिन्छन्—पर्वतारोहीहरूलाई सहयोग गर्ने गाइडका रूपमा मात्र होइन। हन्टलाई आफ्नो उत्कट चाहना बुझाउँदै नोर्गे भन्छन्, 'म उनलाई [चोमोलुङ्मालाई] अझ राम्ररी चिन्न चाहन्छु।'
नोर्गे र हिलारीको जोडी अर्को कारणले पनि जमेको थियो। बेलायती अभियानमा दुवै जना बाहिरियाजस्ता थिए। हिलारी बेलायती टोलीमा एक्ला न्युजिल्यान्डवासी थिए। यही तथ्यले पनि उनीहरूलाई एकअर्कासँग नजिकिन मद्दत गर्यो। अन्ततः उनीहरू आजीवन मित्र रहे।
बेलायती टोलीमा नोर्गे समावेशी भएसँगै चुनौतीहरू पनि थिए। गोरा पर्वतारोहीहरूले पाउनेजस्तो जीवनयापनको सुविधा शेर्पाहरूले नपाउने भएकाले नोर्गेले बेलायती व्यवस्थापकहरूसामु उनीहरूका आवश्यकता र माग राख्ने तथा त्यसका लागि बहस गर्ने जिम्मेवारी पनि प्रायः आफैँ लिन्थे।
‘तेन्जिङ’का छायांकन निर्देशक स्टेफान दुस्सियो (‘शान्ताराम’ र ‘द ड्राई’ टेलिभिजन शृंखला)ले फिल्मको छायांकन नेपाल र न्युजिल्यान्डका पहाडी क्षेत्रमा गरेका हुन्। दुस्सियोको क्यामेराले साहसिकताको अनुभूतिलाई थप बलियो बनाउँछ। परिणामस्वरूप दर्शकका लागि दृश्यात्मक रूपमा भव्य फिल्म तयार भएको छ।
पहाडी क्षेत्रमा नै छायांकन गर्नु महत्त्वपूर्ण थियो, किनभने कलाकारहरूले वातावरणको केवल कल्पना गर्ने होइन, उचाइ र चिसो तापक्रम पनि महसुस गर्नुपर्ने थियो। हिमालको परिदृश्य—हिउँ, पाइला चाल्दा जुत्तामुनि आउने चरमर आवाज, जोखिमपूर्ण पहाडमा एकपछि अर्को गर्दै हिँडिरहेका पर्वतारोहीका दृश्य, हिमचिरा—कथाको महत्त्वपूर्ण पात्रजस्तै बन्न पुग्छ। यो मनमोहक पृष्ठभूमि मात्र होइन।
‘तेन्जिङ’ निर्देशन गर्न पीडम उपयुक्त व्यक्ति हुन्। उनले दुई दशक हिमालयमा, विशेषगरी एभरेस्ट क्षेत्रमा, बिताएकी छन् र थुप्रै वृत्तचित्र बनाएकी छन्—‘सोलो’ (२००८), ‘शेर्पा’ (२०१५), ‘माउन्टेन’ (२०१७) र ‘रिभर’ (२०२१)। यी वृत्तचित्रमा काम गर्दा उनले यस क्षेत्र र यहाँका कथाप्रति देखाएको लगाव प्रस्ट हुन्छ। तेन्जिङ नोर्गेमाथि अन्ततः फिचर फिल्म निर्देशन गर्नका लागि यो सबै उनको तयारी थियो।
फिल्म निर्माणका क्रममा नोर्गेको परिवारसँग निकट सहकार्य गरिएको थियो। उनका छोरा नोर्बु तेन्जिङ फिल्मका कार्यकारी निर्मातामध्ये एक हुन्। यस क्रममा पटकथामा मौलिकता ल्याउन निर्माण टोलीले अन्य शेर्पा तथा सांस्कृतिक सल्लाहकारहरूसँग पनि परामर्श गरेको थियो।
अन्ततः ‘तेन्जिङ’को सफलता यसको मुख्य पात्रको मन र भावनासम्म दर्शकलाई पुर्याउन सक्नुमा छ। फुन्त्सोकले नोर्गेको भूमिका निकै आत्मीय ढंगले निभाएका छन्। उनका आँखा र मुस्कानले नोर्गेको चरित्रलाई जीवन्त बनाउँछन्। यो फुन्त्सोकको करिअरकै महत्त्वपूर्ण अभिनय हो । ‘तेन्जिङ’ विश्वभर पुगेसँगै उनले थप अन्तर्राष्ट्रिय फिल्ममा काम पाउनुपर्छ।
असीम छाबडा न्युयोर्क इन्डियन फिल्म फेस्टिभलका निर्देशक तथा ‘इरफान खानः द म्यान, द ड्रीमर, द स्टार’ पुस्तकका लेखक हुन्।