शनिबार सम्पन्न फाइनल खेलमा तेह्रथुमको फेदाप गाउँपालिकालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सातदोबाटोले उपाधि जितेको हो।
संखुवासभा — संखुवासभाको मादी मूलखर्कमा सम्पन्न प्रथम ‘मझिया स्मृति कप’ आमन्त्रित महिला फुटबलको उपाधि ललितपुरको सातदोबाटो युथ क्लबले जितेको छ।
शनिबार सम्पन्न फाइनल खेलमा तेह्रथुमको फेदाप गाउँपालिकालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सातदोबाटोले उपाधि जितेको हो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा सातदोबाटोले बाजी मार्दै प्रतियोगिताको पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखाएको हो। प्रतियोगितामा तेह्रथुमको फेदाप गाउँपालिकाले उपविजेतामा चित्त बुझायो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी फेदापकी गोलरक्षक करुणा बुढाथोकी प्लेयर अफ द म्याच घोषित भइन्।
विजेता सातदोबाटो युथ क्लबले तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता तेह्रथुमको फेदाप गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सातदोबाटोकी वर्षा मगर घोषित भइन्। उनले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। सर्वाधिक गोलकर्ताको उपाधि ओखलढुंगाको पदमा स्पोर्ट्स क्लबकी खेलाडी सिम्राङ गुरुङले प्राप्त गरिन् भने उत्कृष्ट गोलरक्षक सातदोबाटोकी अस्मिता नेपाली घोषित भइन्। सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरे।
मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सहआयोजनामा प्रतियोगिता सञ्चालन भएको हो। प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो।