१९ वर्षदेखि फरार पत्रकार वीरेन्द्र साह हत्या प्रकरणका मुख्य आरोपित आफैं अदालतमा हाजिर भएका छन् । मुल्तबीमा रहेको मुद्दा ब्युँताएर बयान दिएका उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
बारा — १९ वर्षअघि तत्कालीन नेकपा माओवादीका नेता–कार्यकर्ताले अपहरण गरी हत्या गरेको घटनाका मुख्य आरोपित लालबहादुर धामी चौधरी आफैं अदालतमा हाजिर भएपछि पुर्पक्षका लागि वीरगन्ज कारागार चलान भएका छन्। उनको मुद्दा जिल्ला अदालतमा मुल्तबीमा थियो। आरोपित धामीले मुल्तबी जगाई बयान गरी पाऊँ भन्दै सोझै अदालतमा हाजिर भएपछि ४ नम्बर इजलासकी न्यायाधीश दुर्गादेवी गुरुङको इजलासबाट थुनछेक आदेश भई उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन्।
प्रहरी अनुसन्धान प्रतिवेदनमा हत्याका मुख्य योजनाकार भनिएका आरोपित धामी १९ वर्षपछि गत बिहीबार बारा जिल्ला अदालतमा आफैं सुटुक्क हाजिर भएका थिए। प्रहरीले १९ वर्षसम्म उनलाई पक्राउ गर्न सकेको थिएन। धामी भारतलगायत अन्य ठाउँमा लुकीछिपी बसेर प्रहरीको फरार सूचीमा थिए।
हत्या आरोपित पाँच जनामध्ये चार जनालाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको थियो। तत्कालीन बारा प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीको नेतृत्वमा दुई आरोपित कुन्दन फौजदार र हरेराम पटेललाई लगातार पक्राउ गरिएको थियो। बारा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मुख्य योजनाकार भनिएका धामी आफैं अदालतमा हाजिर भएपछि कारागार चलान भएको पुष्टि गरे।
तत्कालीन सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतापछि २०६४ असोज १८ मा बाराको हाल करैयामाई गाउँपालिकाको पिप्रा बजारबाट एभी न्युज टेलिभिजनलगायत अन्य सञ्चार संस्थामा कार्यरत पत्रकार साहको अपहरण गरिएको थियो। उनलाई चारकोसे जंगलको साविक डुमरवाना गाविस र हाल जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीको घना जंगलमा लगेर पाँच जनाको समूहले गोली हानी हत्या गरी गाडेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। अपहरणपछि हत्या गरी गाडिएको ठाउँबाट ३५ दिनपछि पत्रकार साहको शव फेला परेको थियो।
घटनाका अर्का आरोपित जितपुरसिमरा उपमहानगरपालिका–२० इनर्वासिराका म्यानेजर गिरी अदालतबाट दोषी ठहर भएर आजीवन कारावासको सजाय पाए पनि सात वर्ष जेल बसेर तत्कालीन सरकारको निर्णयमा तत्कालीन राष्ट्रपतिबाट आममाफी पाएका थिए। यस्तै, अर्का आरोपित बारागढी गाउँपालिका–गडहलका रामएकवाल सहनी पनि अदालतबाट दोषी करार भएर केही वर्ष जेल बसेर छुटेका थिए।
त्यस्तै, अर्का आरोपितद्वय बारागढी गाउँपालिकाको गडहलका कुन्दन फौजदार र महागढीमाई नगरपालिका–इनर्वाका हरेराम पटेल पनि जिल्ला अदालतबाट दोषी करार भएर पुनरावेदनपछि जेलमुक्त भएका हुन्। फौजदार र पटेललाई जिल्ला अदालतबाट क्रमशः सात र पाँच वर्ष सजाय तोकिएको थियो।
अहिले पुर्पक्षका लागि जेल चलान भएका मुख्य आरोपित धामी पत्रकार साहकै साविक इनर्वासिरा गाविस, हाल जितपुरसिमरा उपमहानगरपालिका–२० का गाउँले छिमेकी हुन्। म्यानेजर गिरी पनि पत्रकार साहका छिमेकी हुन्। दोषी ठहर भएका हरेराम पटेल र कुन्दन भनिने नरेन्द्र फौजदार २०७६ फागुनमा पक्राउ परेका थिए भने त्यसअघि रामएकवाल सहनी पक्राउ परेका थिए। म्यानेजर गिरी भने २०६५ सालमै पक्राउ परेका थिए।
घटनापछि प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दायर गर्दै सबै आरोपितलाई आजीवन कारावास (सर्वस्वसहित जन्मकैद) सजायको मागदाबी गरेको थियो।
यसैबीच, हत्या गरिएका पत्रकारकी पत्नी उमलावती देवीसहित परिवारजनले पुर्पक्षका लागि अदालतबाट कारागार पठाइएका आरोपितलाई कानुनअनुसार पूरा सजाय हुनुपर्ने माग गरेका छन्। 'कतिले कमै सजाय पाए, अर्का एक दोषी म्यानेजर गिरीले पूरा सजाय नपाउँदै राष्ट्रपतिबाट आममाफी पाए। अब त्यस्तो नहोस्,' पत्रकार साहकी पत्नी उमलावतीले भनिन्, 'पूरा सजाय नपाएसम्म हामीलाई न्याय मिल्दैन।' पत्रकार साहका श्रीमती, एक छोरा र एक छोरी छन्।
लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।