Trending
Prev Story
Next Story

रामायणको प्रारम्भिक समीक्षा : भव्य रावण, नीरश राम र थकाउने कथावाचन

Ekantipur •
October 31, 2026 • 12:01 PM
2
2 reads 0 reactions

भिजुअल र प्रविधिको अत्यधिक प्रयोगका बाबजुद पनि ‘रामायण’ आत्माविहीन फिक्का र यान्त्रिक बनेको आईजीएनको समीक्षामा उल्लेख छ भने इन्डिया टुडेका अनुसार पहिलोपटक भारतीय सिनेमा हेरेका एक विदेशी दर्शकले फिल्मपछि आँसु थाम्न नसकेको उल्लेख गरेको छ ।

रामायणको प्रारम्भिक समीक्षा : भव्य रावण, नीरश राम र थकाउने कथावाचन

भिजुअल र प्रविधिको अत्यधिक प्रयोगका बाबजुद पनि ‘रामायण’ आत्माविहीन फिक्का र यान्त्रिक बनेको आईजीएनको समीक्षामा उल्लेख छ भने इन्डिया टुडेका अनुसार पहिलोपटक भारतीय सिनेमा हेरेका एक विदेशी दर्शकले फिल्मपछि आँसु थाम्न नसकेको उल्लेख गरेको छ ।

काठमाडौँ — लस एन्जलसको ‘डेभिड गेफेन थिएटर’ मा अक्टोबर २७ मा भएको विशेष प्रिमियरले नितेश तिवारी निर्देशित ‘रामायणः राइज अफ अ लेजेन्ड’ लाई सार्वजनिक प्रदर्शनअघि नै चर्चाको केन्द्रमा पुर्‍याएको छ । फिल्म नोभेम्बर ५ देखि विश्वभर प्रदर्शनमा आउँदैछ ।

फिल्मको प्राविधिक भव्यतालाई लिएर लगभग सबैजसो समीक्षक सहमत छन् । इन्डिवायरले तीन घण्टाको फिल्मभित्र १ हजार ५ सय पृष्ठको पौराणिक ग्रन्थ र दशकौंदेखिको युद्ध, प्रेम र बदलाको कथालाई पर्दामा उतार्ने प्रयासलाई ‘विशाल र भव्य’ भनेको छ भने यसलाई ‘अतिशय भव्यता र विशालताको सिनेम्याटिक उत्सव’ को संज्ञा दिएको छ ।

इन्डिया टुडेले पनि फिल्ममा ‘दिव्य राम’ र ‘दमदार रावण’ को प्रशंसा भएको उल्लेख गरेको छ । फिल्मले दर्शकलाई मार्भल सिनेम्याटिक युनिभर्सका फिल्महरूको सम्झना दिलाउँछ । तर दुर्भाग्यवश, यो प्रस्तुति मार्भलको बहुचर्चित ‘थोरः लभ एन्ड थन्डर’ जस्तै कमजोर भिजुअल इफेक्ट्सको सिकार बनेको आईजीएन डटकमको ठहर छ ।

आईजीएनको समीक्षा अनुसार , १६२ मिनेटको अंग्रेजी भर्सनको ‘रामायण’ मा संवाद र ओठको तालमेल (लिपसिंक) मिलाउन ‘ब्रहृमा एआई’ नामक एआई प्रविधिको प्रयोग गरिएको छ । तर, यसको नतिजा स्वाभाविक देखिनुको सट्टा अनौठो र हाँस्यास्पद बनेको छ । मूल हिन्दी भर्सनभन्दा १८ मिनेट छोटो अंग्रेजी कटमा गीत र नृत्यका दृश्यहरू धेरै काटिएका छन् ।

भिजुअल र प्रविधिको अत्यधिक प्रयोगका बाबजुद पनि ‘रामायण’ आत्माविहीन फिक्का र यान्त्रिक बनेको आईजीएनको समीक्षामा उल्लेख छ । कमजोर सीजीआई, एआई डबिङको भद्दा प्रयोग र नीरस मुख्य पात्रका कारण फिल्म एउटा भद्दा र अधुरो बन्न पुगेको टिप्पणी गर्दै आईजीएनमा १० मा मात्र ४ स्टारको खराब रेटिंग दिंदै सिद्धार्थ अड्लाख थप्छन्, ‘ वास्तवमा रामायणको मुख्य कथाका रूपमा व्याख्या गरिँदै आएको सीताको अपहरण र रामको उद्दारको घटनाक्रम नै नभई फिल्म सकिन्छ । मुख्य नायक र खलनायकबीच भेटसम्म नभई फिल्म टुंगिँदा दर्शकका लागि यो आधा अधुरो अनुभूती हुन सक्छ ।’

बिग बजेटको भव्य क्यानभास र स्टार कास्टमा चर्चित पौराणिक कथामा आधारित भएपनि फिल्मप्रति प्रारम्भिक चरणमा प्रशंसाको स्वरसँगसँगै आलोचनाको आवाज पनि उत्तिकै उठेको छ ।

हिन्दुस्तान टाइम्स ले ‘चमकदार दृश्य तर थकाउने कथावाचन’ भनी टिप्पणी गरेको छ । फिल्मले दृश्य तथा प्रविधिको पाटोमा उच्च प्रशंसा बटुले पनि यसको लामो र भारी भरकम कथावाचनलाई लिएर समीक्षकहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

समीक्षकहरूले दिएका रेटिंगका आधारमा पनि फिल्मप्रति मतऐक्य देखिंदैन । इन्डिवायरले ‘बी’ ग्रेड दिएको छ भने स्क्रिन र्‍यान्टले ७/१०, नेक्स्ट बेस्ट पिक्चर्सले ५/१० को रेटिंग दिएका छन् ।

रावणको भूमिकामा यशको प्रभाव सबैभन्दा बढी प्रशंसित छ । निर्देशकले खलनायक रावण (यश) को चरित्रलाई बढी जीवन्त र जटिल बनाएका छन् । रावणको १० वटा टाउकोलाई उसको बहुव्यक्तित्व (स्प्लिट पर्सनालिटी) को रूपमा प्रस्तुत गरिएको छ, जहाँ उसका फरक–फरक विचारहरूबीच अन्तरक्रिया हुन्छ ।

‘यसको ठीक विपरीत, मुख्य नायक राम (रणबीर कपूर) को चरित्र भने अत्यन्तै नीरस र प्रभावहीन देखिन्छ,’ आईजीएन लेख्छ, ‘रामको चरित्रमा कुनै आन्तरिक संघर्ष वा भावनात्मक गहिराइ देखिँदैन । भिडियो गेमका पात्रहरूले जसरी नयाँ क्षमता ‘अनलक’ गर्छन्, रामले पनि त्यसरी नै क्षमता प्राप्त गरेको देखाइएको छ ।’

आईजीएनका अनुसार, सीता (साई पल्लवी) को भूमिकालाई सुरुमा केही सशक्त देखाउन खोजिए पनि अन्ततः उनी परम्परागत सहायक पात्रकै दायरामा सीमित हुन्छिन् । राम र सीताबीचको ‘अनस्क्रिन केमिस्ट्री’ कमजोर छ । पोस्ट–क्रेडिट दृश्यमा हनुमानजीको झलक देखाइएको छ भने यसको अभिनयले पूरै फिल्ममा दबदबा कायम राखेको छ ।

नेक्स्ट बेस्ट पिक्चर्सका अनुसार पनि रावणको कथालाई प्राथमिकता दिइएको छ । एस्क्वायर इन्डियाले उनको उपस्थितिलाई आकर्षक भनेको छ । लंकाको भिजुअल प्रस्तुति पनि आकर्षक भनिएको छ ।

रामको भूमिकामा रणबीर कपूरबारे भने समीक्षकहरू बाँडिएका छन् । आईजीएनले उनको चरित्र निरस र प्रभावहीन देखिएको, आन्तरिक द्वन्द्व र भावनात्मक गहिराइ नदेखिएको लेखेको छ । नेक्स्ट बेस्ट पिक्चर्सले पनि उनी अति संयमित भएकाले भावनात्मक दृश्यमा खासै प्रभावकारी नदेखिएको ठहर्‍याएको छ ।

त्यसको ठीक विपरित, एस्क्वायर इन्डियाले उनको ‘शान्त तर गहन’ अभिनयले धेरै दर्शकलाई आँसु थाम्न नसक्ने बनाएको दाबी गरेको छ । एनडीटीभीमा पश्चिमी दर्शकसमेत भावुक भएको उल्लेख छ । इन्डिया टुडेका अनुसार पहिलोपटक भारतीय सिनेमा हेरेका एक विदेशी दर्शकले फिल्मपछि आँसु थाम्न नसकेको उल्लेख गरेको छ ।

भगवान् विष्णुका अवतार रामको भूमिकामा रहेका रणबीर कपूर (जसले परशुराम र विष्णुको भूमिका पनि निभाएका छन्) को अभिनयलाई भने नेक्स्ट बेस्ट पिक्चर्सले सन्तुलित माने पनि उनको चरित्रले भावनात्मक दृश्यहरूमा खासै प्रभाव नदेखाएको उल्लेख गर्छ । १० मा ५ अंकको रेटिंगसहित यसको समीक्षामा भनिएको छ, ‘पहिलो हाफमा रावणको बलियो कथापछि एक्कासि रामको कथामा जाँदा फिल्मको गति (पेश) केही प्रभावित भएको छ ।’

प्रविधिः विशालता र कृत्रिमताको टक्कर

दृश्यात्मक पक्षमा समीक्षकबीच सबैभन्दा मतभिन्नता देखिन्छ । एकातिर, इन्डिवायरले ब्रहृमान्ड सृष्टिदेखि जंगल, युद्ध र जादुई दृश्यसम्मको विशालताको प्रशंसा गरेको छ । इन्डिया टुडेले डीएनईजीको भिजुअल इफेक्ट्सलाई हलिउडका आईएलएम र वेटा एफएक्ससँग तुलना गरेको छ । एस्क्वायर इन्डियाले यसलाई ‘लर्ड अफ द रिङ्स’ सँग तुलना गर्ने समीक्षकहरूको उल्लेख गरेको छ ।

अर्कातिर, आईजीएनले युद्धदृश्य ‘वेटलेस’ र भिडियो गेमको ‘कटसिन’ जस्ता देखिएको लेखेको छ, र नेक्स्ट बेस्ट पिक्चर्सले केही एक्सन दृश्यमा फ्रेम रेट घटेर प्लेस्टेसन खेलेजस्तो अनुभूति भएको टिप्पणी गरेको छ । एनडीटीभी र गल्फन्यूजले केही असुर (राक्षस) कार्टुन जस्ता देखिएको र कतिपय दृश्यमा स्टुडियो वा ग्रिन–स्क्रिन जस्तो महसुस भएको उल्लेख गरेका छन् । करिब ४ हजार करोड भारुको बजेटले यी कमजोरीलाई झन् ठूलो प्रश्न उब्जाएको छ ।

कथाको सुरुआतमा असुर राजा रावण (यस) को प्रचण्ड तपस्या र ब्रहृमाबाट प्राप्त अभयदानले ब्रहृमाण्डमा ल्याएको संकटलाई देखाइएको छ । यही संकटबाट बचाउन भगवान् विष्णुले सातौं अवतारका रूपमा राम (रणबीर कपूर) को जन्म लिन्छन् । पितृआज्ञा पालन गर्दै १४ वर्षको वनवास स्वीकार्ने राम, उनकी पत्नी सीता (साई पल्लवी) र भाइ लक्ष्मण (रवि दुबे) को कर्तव्यनिष्ठ यात्रा फिल्मको मुख्य कथावस्तु हो ।

चरित्र निर्माणमा कमीः हरेक दृश्य क्लाइमेक्स जस्तै

फिल्मको प्रमुख कमजोरी यसको अत्यधिक गति र निरन्तरको ‘क्लाइमेक्स’ शैली हो । प्रत्येक दृश्यमा कुनै न कुनै ठूलो घटना (भाग्यको बोध, प्रेम, युद्ध वा प्रलोभन) घटिरहन्छ । फलस्वरूप, पात्रहरूलाई नजिकबाट बुझ्ने र उनीहरूसँग भावनात्मक रूपमा जोडिने शान्त क्षणको अभाव खट्किन्छ । हरेक दृश्य क्लाइमेक्स जस्तो लाग्दा, वास्तवमै कुन दृश्य कति महत्वपूर्ण हो भन्ने छुट्याउन गाह्रो पर्छ ।

अंग्रेजी भर्सनमा गीत तथा नृत्यका दृश्यलाई छोट्याईंदा यसले कथाको गति बिगारेर फिल्मलाई ‘सिरियल’ जस्तो बनाएको द प्रिन्ट र इन्डिया डटकम को टिप्पणी छ । अमेरिकी दर्शक प्रिया म्याथ्युले मूल हिन्दी भर्सन अंग्रेजीभन्दा धेरै प्रभावकारी लागेको उल्लेख गरेकी छन् । उनले यो फिल्मलाई एसएस राजामौलीको ‘आरआरआर’ सँग तुलना गर्दै कथावाचन र एक्सनको सन्तुलन ‘रामायण’ मा राम्रो हुन नसकेको टिप्पणी गरेकी छन् ।

एआर रहमान र हृयान्स जिमरको पहिलो संयुक्त सहकार्यले इन्डिवायर र नेक्स्ट बेस्ट पिक्चर्समा फिल्मको भव्यतालाई बलियो सहारा दिएको मानिएको छ । तर आईजीएन, एनडीटीभी र गल्फन्यूजका अनुसार भारतीय र हलिउड शैलीको मिश्रणले पौराणिक र दिव्य भाव पूर्ण रूपमा बोक्न नसकेको उल्लेख छ ।

फिल्मको गतिलाई लिएर भने अधिकांशले प्रश्न उठाएका छन् । इन्डिवायरले प्रत्येक दृश्य क्लाइमेक्स जस्तो लाग्ने, शान्त क्षणको अभावमा फिल्म बढि कोलाहलपूर्ण रहेको औंल्याएको छ । एस्क्वायर इन्डिया र गल्फन्यूजका अनुसार दोस्रो हाफ सुस्त छ र भव्यता तथा एक्सनमाथि बढी जोड दिँदा नाटकीयता र भावना ओझेलमा परेको छ ।

आईजीएनले यसलाई ‘भावनात्मक रूपमा शून्य’ भनेको छ भने नेक्स्ट बेस्ट पिक्चर्सले यति गहन कथालाई ‘गेम अफ थ्रोन्स’ जस्तो शृंखलाले मात्र न्याय गर्न सक्ने बताएको छ । भनेको छ, ‘पश्चिमा दर्शकका लागि वाल्मीकि रचित ‘रामायण’ होमरको ‘ओडिसी’ जस्तै एक महान् र कालजयी ग्रन्थ हो । वियोग, वनका राक्षस, विशाल युद्ध, ईश्वर, प्रेम र छलले भरिएको यो कथालाई पर्दामा उतार्ने हिम्मत धेरै निर्देशकले गर्दैनन् । नितेश तिवारीको निर्देशनमा बनेको यस फिल्मले इतिहासकै एक आकर्षक कथालाई चाहिने ओपेरा शैलीको भव्यता त दिएको छ, तर विभिन्न कमजोरी र प्राविधिक त्रुटिबाट यो मुक्त हुन सकेको छैन ।’

आईजीएनको सबैभन्दा कडा आपत्ति फिल्मको संरचनालाई लिएर छ । सोनीले अन्तर्राष्ट्रिय बजारका लागि ‘भाग १’ भन्ने उपशीर्षक हटाएर ‘राइज अफ अ लेजेन्ड’ राखे पनि सीताको अपहरण र रामको उद्धार यात्रा सुरु हुँदा नहुँदै फिल्म सकिन्छ ।

त्यसैगरी, मुख्य नायक र खलनायकबीच भेट नहुँदै फिल्म सकिनुले दर्शकले आधा अधुरो अनुभूत गर्ने पनि उसको निष्कर्ष छ । गल्फन्यूजका अनुसार फिल्मको अन्त्यमा दोस्रो भागको टिजर पनि जोडिएको छ । नेक्स्ट बेस्ट पिक्चर्सले यसलाई ‘भाग १ को बाध्यता’ भनेको छ ।

द प्रिन्टका अनुसार सोनीले ५९ हजार भन्दा बढी स्क्रिनमा फिल्म प्रदर्शन गर्ने योजना बनाएको छ । भारतबाहिर ५० हजार र भारतभित्र ९ हजार स्क्रिन हुनेछन्, र यो सिनेमा इतिहासकै ठूला वैश्विक रिलिजमध्ये एक हुने उल्लेख छ । फिल्म थ्रीडी र आईम्याक्स हुँदै हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा आउनेछ ।

सबै स्रोत सारांशमा मिलाएर हेर्दा ‘रामायणः राइज अफ अ लेजेन्ड’ दृश्य र सांगीतिक महत्वाकांक्षाको प्रदर्शन हो । यसमा यशको रावण र भव्य सेट सबैभन्दा बलिया पक्ष हुन्, तर असमान भिजुअल इफेक्ट्स, एआई डबिङ, सुस्त दोस्रो हाफ र भावनात्मक गहिराइको कमीले यसलाई अधुरो बनाएको छ ।

आईजीएनले यसलाई ‘भद्दा र अधुरो सुरुवात’ भनेको छ भने इन्डिवायरले ‘अतुलनीय सिनेम्याटिक अनुभव’ भनेको छ । पक्कै, यी दुई धारणा बीचमै फिल्मको वास्तविक मूल्यांकन हुनेछ । मूल हिन्दी संस्करण र ठूलो पर्दाको अनुभवले अनुभूति केही फरक बनाउन सक्ने संकेत स्रोतहरूले दिएका छन् ।

प्रिमियरमा उपस्थित एक दर्शकले भनेका छन्, ‘दैवी भावनाको कमी, कमजोर सांगीतिक स्कोर, दोस्रो हाफमा कथाको गति सुस्त हुनु, असुरहरू कार्टुनजस्तो देखिनु र भावनात्मक गहिराइको अभाव जस्ता कुराले फिल्मलाई कमजोर बनाएको छ ।’

इन्डिया डटकमका अनुसार, यस फिल्मले आफ्नो विशाल कथावस्तु र रहमानको दिव्य संगीतका माध्यमबाट दर्शकलाई भावनात्मक रूपमा जोड्न सफल भए पनि, अंग्रेजी डबिङको अस्वाभाविक प्रयोग र कमजोर भिजुअल इफेक्ट्सका कारण ‘आरआरआर’ जस्ता अघिल्ला भारतीय ब्लकबस्टरहरूको स्तर भेट्न केही संघर्ष गर्नुपर्ने देखिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
रामायण : साई पल्लवीको एक्सन दृश्यप्रति आपत्ति

रामायण : साई पल्लवीको एक्सन दृश्यप्रति आपत्ति

अभिनेता मुकेश खन्नाले फिल्म ‘रामायण’को कडा आलोचना गरेका छन् । आफ्नो युट्युब च्यानलमार्फत उनले फिल्मका निर्मातामाथि प्रश्न उठाएका छन् । उनले अभिनेत्री साई पल्लवीले निर्वाह गरेको सीताको भूमिकाबारे आपत्ति जनाएका छन् । यसका साथै अभिनेता …

#रामायण
Compare →
Nagarik News
3d ago
ममताकी आमा र छोरीलाई भेट्दा भावुक भइन् समीक्षा अधिकारी

ममताकी आमा र छोरीलाई भेट्दा भावुक भइन् समीक्षा अधिकारी

२८ वर्षीया ममता सन् २०२४ जुलाईको अन्तिम सातादेखि भर्जिनियास्थित आफ्नै घरबाट बेपत्ता भएकी थिइन्।

#समीक्षा
Compare →
Hamro Patro News
12h ago
शाहरुखको ‘पठान’ लाई पछि पार्दै ‘रामायण’

शाहरुखको ‘पठान’ लाई पछि पार्दै ‘रामायण’

काठमाडौं- अभिनेता रणवीर कपूर स्टारर फिल्म ‘रामायण: पार्ट १’ ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ । प्रदर्शनमा आएको ८ दिनमै फिल्मले विश्वभरबाट १ हजार ३३ करोड ५५ लाख भारतिय रुपैँया ग्रस कलेक्स...

#रामायण
Compare →

Related Stories

World News
Build #2612