लगातारको वर्षाले कुलेखानी जलाशयको सतह बढेपछि सिस्नेरी खोला र बागमती नदी किनारमा बसोबास गर्नेहरूलाई प्रशासनले सुरक्षित रहन सचेत गराएको छ।
रौतहट — मकवानपुरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि रौतहट प्रशासनले बागमती नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जलाशयको पानीको सतह बढेर मुख्य बाँधका ढोका खोल्नुपर्ने अवस्था आए बागमती नदीमा आकस्मिक रूपमा बहाव बढ्न सक्ने जोखिम रहेको भन्दै प्रशासनले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सर्नसमेत अनुरोध गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणको कुलेखानी प्रथम आयोजनाले जलाशयमा पानीको मात्रा बढ्दै गएको भन्दै शनिबार पहिलो चेतावनी जारी गरेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी हेमराज फुयालका अनुसार शनिबार दिउँसो कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह १ हजार ५ सय २८.१५ मिटर पुगेको थियो । साँझसम्म १ हजार ५ सय २९ मिटर पुग्न सक्ने आकलन गरिएको थियो । जलसतह १ हजार ५ सय २८.५० मिटर पुगेपछि पहिलो साइरन बजाइने र एसएमएस अलर्ट पठाइने जानकारी नेपाल विद्युत् प्राधिकरणको कुलेखानी प्रथम आयोजनाले दिएको उनले बताए ।
‘जलसतह बढ्दै जाँदा बाँधका मुख्य गेट खोल्नुपर्ने अवस्था आउन सक्छ । त्यसबाट मुख्य ड्यामको तल्लो तटीय क्षेत्रअन्तर्गत सिस्नेरी खोला तथा बागमती नदी किनारमा पानीको बहाव आकस्मिक रूपमा बढ्ने उच्च जोखिम छ भनेर जानकारी आएको छ,’ उनले भने, ‘हामीले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन भनेका छौँ ।’
प्रशासनले सिस्नेरी खोला तथा बागमती नदी किनार र आसपासका मार्गमा रात्रिकालीन यात्रा नगर्न तथा नगराउन आग्रह गरेको छ । नदी किनारमा माछा मार्ने, दाउरा संकलन गर्ने, चौपाया चराउने वा अन्य कुनै पनि कारणले बहाव क्षेत्र नजिक नजान पनि सचेत गराएको छ ।
अर्णब चक्रवातको प्रभावका कारण तीन दिनदेखि लगातार वर्षा भइरहेको र त्यसले कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह खतराको तह पार गरेको जानकारी आएपछि प्रशासनले स्थानीयलाई सचेत गराएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि निकासद्वार खोल्ने तयारी गरिएको जनाएको छ । कुलेखानीबाट पानी छाडिए बागमती नदीमा बहाव र जलस्तर बढ्न सक्ने भएकाले रौतहटको नदी किनार तथा तटीय क्षेत्रमा जोखिम बढ्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताए ।
‘हामीले सम्भावित बाढी र डुबानको जोखिमलाई मध्यनजर गर्दै नदी किनारका स्थानीयलाई सावधानी अपनाउन भनेका छौँ,’ उनले भने, ‘नदीको बहाव नजिक नजान र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानतर्फ जान तयारी अवस्थामा रहन अनुरोध गरेका छौँ ।’
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।