रशिलाले ४२ किलोमिटरको भुटानको कठिन पहाडी मार्गमा प्रभावशाली प्रदर्शन गर्ने क्रममा ७ घण्टा ११ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् ।
काठमाडौँ — नेपालकी ट्रेल रनर रशिला तामाङले भुटानमा भएकाे कोलोन ट्रेल रनको उपाधि जितेकी छन् ।
रशिलाले ४२ किलोमिटरको भुटानको कठिन पहाडी मार्गमा प्रभावशाली प्रदर्शन गर्ने क्रममा ७ घण्टा ११ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । सो विधामा बेल्जियमकी भान्या नप्स ७ घण्टा १८ मिनेट १७ सेकेन्डसहित दोस्रो भइन् । आयाेजक भुटानकी साड्गे छोदेन तेस्रो स्थानमा रहिन् । भुटानमा सम्मन्न यस ट्रेल रनलाई इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन र यूटीएमबी दुवैकाे मान्यताप्राप्त छ । यस दौडमा २७ देशका १५२ धावकको सहभागिता थियो । कठिन पहाडी मार्गमा सञ्चालित यस दौडले सहभागीको सहनशक्ति र दृढताको कडा परीक्षा लिएको थियो । यस दौडमा ३५ सय मिटर र ४ हजार मिटर उचाइका दुई मुख्य स्टप थिए ।
दाैडको सुरुवातदेखि नै पानी परेपछि रसिलासहित अन्य रनरले चुनौतीपूर्ण मौसमको पनि सामना गर्नुपरेको थियो । दौडका केही भाग हिउँले ढाकिएका थए । सबै प्रतिस्पर्धीले करिब एक घन्टा हिउँमा दौडनुपरेको जनाइएकाे छ ।
रसिलाले प्रतिकूल मौसम र कठिन भू–बनोटका बाबजुद् पहिलो स्थान हासिल गरेकी हुन् । रशिलाले भुटानमा प्रतिस्पर्धा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै भुटानले प्रतियोगितामा उत्कृष्ट व्यवस्थापन गरेकामा प्रशंसा गरेकी छन् । पुरुषतर्फ इटालीका रिकार्डो मोन्तानी ५ घण्टा २३ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरी विजेता बनेका थिए । भुटानका ग्येम तेन्जिन दोस्रो र छिरिङ ग्याल्चेन तेस्रो स्थानमा विजयी रहे ।