दिउँसो १२ः३० बजे सुरु हुनुपर्ने खेलमा लगातार वर्षा भएपछि टस हुन सकेको छैन र रद्द हुने सम्भावना बढेको छ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका यसअघिका दुई संस्करणमा वर्षाका कारण कुनै खेल रोकिएका थिएनन् । सबै खेल निर्धारित समयमा पूरा भएका थिए र जित–हारका नतिजा आएका थिए ।
शनिबार लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल निर्धारित समयमा सुरु हुन सकेको छैन । वर्षाका कारण दिउँसो १२:३० बजे सुरु हुनुपर्ने खेलको अझै टस हुन सकेको छैन । वर्षा अझै नरोकिएका कारण यो खेल रद्द हुने सम्भावना बढेर गएको छ ।
यसअघिका प्रतियोगिता नोभेम्बर–डिसेम्बरमा आयोजना गरिए पनि यस संस्करणदेखि त्यसको एक महिना अगाडि प्रतियोगिता आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय क्यालेन्डरअनुसार विन्डो मिलाउन एनपीएल अगाडि सारिएको क्यानले जनाएको थियो ।
नोभेम्बर–डिसेम्बरमा आयोजना गर्दा यूएईको इन्टरनेसनल लिग टी–२० (आईएलटी–२०) सँग जुधेका कारण एनपीएल खेलेका खेलाडी बीचमै छाडेर दुबई जाने गरेका थिए ।
अहिले पनि क्यानडाको ग्लोबल टी–२० र अबुधाबी टी–२० सँग जुधेका कारण केही विदेशी खेलाडीले एनपीएलमा सम्झौता भए पनि त्यता गएको गुनासो फ्रेन्चाइज टोलीले गरेका छन् ।