दसैंको चटारोमा कतिपयको योजना हुन्छ- किताब पढ्ने । फेरि कतिपय भन्छन्- दसैं त खानेपिउने रमाउने पो हो त, दसैंमा पनि पढ्छ कोही ! तर पढन्ताहरू भने किताबको सूची नै बनाएर बसेका हुन्छन् ।
काठमाडौँ — दसैंले छपक्कै छोपिसकेको छ । दसैंको चटारोमा कतिपयको योजना हुन्छ- किताब पढ्ने । फेरि कतिपय भन्छन्- दसैं त खानेपिउने रमाउने पो हो त, दसैंमा पनि पढ्छ कोही ! तर पढन्ताहरू भने किताबको सूची नै बनाएर बसेका हुन्छन् ।
नेपाली पुस्तक बजारमा यो साता नयाँ पुस्तकहरू आएका छन् । हाम्रो जानकारीमा आएका केही पुस्तकको संक्षेपमा जानकारी प्रस्तुत छ :
अस्मिता विष्टको निबन्धसंग्रह ‘समयशालामा नृत्यमग्न आकृति’ यसै साता सार्वजनिक भयो । यो उनको पहिलो निबन्धकृति हो । असोज २७ गते महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आयोजित कार्यक्रममा लोकार्पित संग्रहमा १७ निबन्ध छन् ।
पछिल्लो एक दशकमा लेखिएका निबन्ध समेटिएको संग्रहमा मानवीय भावना, आत्मचिन्तन र जीवनका विविध अनुभूतिको संयोजन पाइन्छ । विचारको गहिराइ, अनुभूतिको कोमलता र जीवनलाई हेर्ने मौलिक दृष्टिकोण यस कृतिका विशेषता हुन् । पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो । यसअघि विष्टको कविताकृति ‘बल्याकहोलमा गीतहरू’ प्रकाशन भएको थियो ।
नृपेश उप्रेतीको गजलसङ्ग्रह 'आगो रहर'को पाठकमाझ आएको छ । उनका गजल सरल, गम्भीर र गायनमैत्री छन् । यसअघि उनको ‘मुसाफिर’ गजल सङ्ग्रह प्रकाशित भइसकेको छ । संग्रह इन्डिगो इन्कले प्रकाशन गरेको हो ।
पत्रकार तथा लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ पनि बजारमा आएको छ । जातीय संरचनाको सबैभन्दा पिँधमा रहेर दैनिक जीवनका अप्ठ्यारासँग जुधिरहेको ‘मगनी मरिक’ उपन्यासको केन्द्रमा छन् । उपन्यासले मधेशको सीमान्तकृत समुदायको वास्तविक विडम्बना र राजनीतिक व्यवस्थामाथिको गम्भीर प्रश्न उठाएको छ । फाइन प्रिन्टले यो उपन्यास प्रकाशन गरेको हो ।
स्वर्गीय नेता प्रदीप गिरिको जीवनका विविध आयाम समेटिएको पुस्तक यसै साता आएको छ । 'प्रदीप गिरि : उहाँकै शब्दमा' नाम रहेको पुस्तकका लेखक प्राडा राजेश गौतम हुन् । गौतमले रेकर्ड गरेर पुस्तक तयार पारेका हुन् । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो ।
यज्ञराज जोशीको पहिलो कथासंग्रह ‘बैसाखी’ बजारमा आएको छ । उपन्यासमा सुदूरपश्चिमको मौलिक परिवेश, संघर्षशील भुइँमान्छेका कथा र नारीवादी मनोविज्ञान छ । उपन्यासकारले यसमा काव्यात्मक शैली अपनाएका छन् ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ कलाकार शारदा चित्रकारद्वारा लिखित कला विषयक पुस्तक ‘समय चक्र’ नि यसैसाता आएको छ । ८६ वर्षीया चित्रकार अझै पनि कला साधना र सिर्जनामा उत्तिकै सक्रिय छिन् । पुस्तकमा उनले आफ्ना कलाकृतिको सचित्र वर्णन प्रस्तुत गरेकी छन् ।