संगीत स्ट्रिमिङ प्लाटफर्महरूमा एआई गीत र बट खाता प्रयोग गरी ८० लाख डलर रोयल्टी कब्जा गर्ने अमेरिकी नागरिकलाई न्युयोर्कको अदालतले १८ महिना जेल र ठगी रकम असुलीको सजाय सुनाएको छ ।
काठमाडौँ — स्पटिफाई, अमेजन म्युजिक, एप्पल म्युजिक, युट्युबजस्ता स्ट्रिमिङ प्लाटफर्ममा १० हजारभन्दा धेरै नक्कली खाता खोलेर एआईको मद्दतले निरन्तर गीत बजाउँदै ८० लाख डलरभन्दा धेरै रोयल्टी रकम कमाएका एक अमेरिकी नागरिकलाई ‘स्ट्रिमिङ फ्रड’ मुद्दामा अदालतले दोषी ठहर गरेको छ ।
न्युयोर्क जिल्ला अदालतले नर्थ क्यारोलाइनाका ५४ वर्षीय माइकल स्मिथलाई विद्युतीय ठगी गरेको भन्दै १८ महिनाको जेल सजाय सुनाएको हो । एआई प्रविधिको दुरुपयोग गरी गरिएको संगीतसम्बन्धी ठगीमा सजाय दिइएको यो पहिलो घटना हो ।
अदालतले माइकललाई दुई वर्षको निगरानीमा राख्न र ठगी गरिएको ८० लाख ९१ हजार डलरभन्दा बढी असुल गर्न पनि आदेश दिएको छ । उनले अदालतसमक्ष विद्युतीय ठगी (वायर फ्रड) सम्बन्धी मुद्दामा आफ्नो दोष स्वीकार गरेका छन् । उनले सन् २०१७ देखि २०२४ सम्म प्रविधिको दुरुपयोग गरी यो ठगी धन्दा चलाएका थिए । स्पटिफाई, एप्पल म्युजिक, अमेजन म्युजिक र युट्युब म्युजिक जस्ता प्लाटफर्ममा हजारौँ खाता बनाउन उनले नक्कली इमेल र गैरकानुनी रूपमा प्राप्त डेबिट कार्ड प्रयोग गरेका थिए । उनले एकै पटक १० हजारसम्म यस्ता स्वचालित ‘बट’ खाता सञ्चालन गर्ने गरेको न्यायाधिवक्त्ताको कार्यालयले जारी गरेको विज्ञप्ती मा उल्लेख छ ।
स्ट्रिमिङ कम्पनीका आन्तरिक ठगी नियन्त्रण संयन्त्रलाई छल्न माइकललाई छोटो समयमै धेरैवटा गीत चाहिएको थियो । त्यसैले उनले एआई प्रविधिको सहयोगमा लाखौँको सङ्ख्यामा नक्कली गीत तयार पारे । त्यसपछि बट खाताबाट आफ्ना एआई गीतहरू दिनरात निरन्तर बजाउन सफ्टवेयर प्रयोग गरे । एउटै गीत अस्वाभाविक रूपमा धेरै पटक बज्दा स्ट्रिमिङ प्लाटफर्महरूले पत्ता लगाउने सम्भावना भएकाले उनले एआईमार्फत लाखौँ गीत बनाएर हजारौँ बट खाताबाट बजाउने गर्थे ।
यसरी बनाइएका उनका नक्कली गीत कम्प्युटरमार्फत अर्बौँपटक बजेका थिए । अमेरिकी न्यायाविधक्त्ताको कार्यालयले पेश गरेको उदाहरण अनुसार सन् २०२३ अप्रिलमा युट्युब म्युजिकमा गायिका टेलर स्विफ्टका सम्पूर्ण गीत ९३ लाखपटक बजेका थिए । तर, सोही अवधिमा माइकलले एआईमार्फत बनाएका टेलरका गीत उनको बट खाताले ८ करोड ९ लाखपटक बजाएका थिए ।
संगीत स्ट्रिमिङ प्लाटफर्महरूले गीत बजेको सङ्ख्याका आधारमा गायक, संगीतकार वा प्रतिलिपि अधिकारधनीलाई रोयल्टी रकम वितरण गर्छन् । माइकलले यसरी स्वचालित रूपमा नक्कली स्ट्रिम सिर्जना गरेर वास्तविक संगीतकार र कलाकारले पाउने रकम कब्जा गरेका थिए । यसरी उनले गैरकानुनी रूपमा ८० लाख डलरभन्दा बढी रोयल्टी कमाएका थिए ।
अक्टोबर ६ मा न्यु योर्कको दक्षिणी जिल्लास्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश जोन जी. कोएल्टले मुद्दाको सुनुवाइ गर्दै माइकललाई १८ महिनाको जेल सजाय सुनाएका थिए । सरकारी वकिल जेमी म्याकडोनाल्डको कार्यालयअन्तर्गतको ‘कम्प्लेक्स फ्रड्स एन्ड साइबरक्राइम युनिट’ ले मुद्दा दर्ता गरेको थियो । सहायक सरकारी वकिल निकोलस डब्लु चिउचियोलो र केभिन मिडले मुद्दाको अभियोजन सम्हालेका थिए । यसको सम्पूर्ण अनुसन्धान अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले गरेको थियो ।