बिहान कैदीबन्दी गणना गर्दा संख्या नपुगेपछि घटना सार्वजनिक, सीसीटीभी फुटेज जाँच्दै प्रहरी
डोल्पा — जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ६ जना कैदी फरार भएका छन्। शुक्रबार राति सुरुङ खनेर उनीहरू फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शनिबार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको पत्ता लागेको हो।
६ जनामध्ये चार जना चोरो र जबरजस्ती करणी मुद्दाका कैदी र दुई जना थुनुवा फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार उनीहरू कति बजे फरार भएका हुन् भन्ने यकिन भइसकेको छैन। उनीहरूलाई राखिएको कोठाभित्रबाट बाहिरसम्म करिब चार मिटर लामो सुरुङ खनिएको पाइएको छ।
कारागारमा सुरुङ खनेर बाहिर निस्किएको देखिएको प्रजिअ हमालले कान्तिपुरलाई बताइन् । घटनाबारे थप विवरण आउन बाँकी छ।
गोविन्द देवकोटा कान्तिपुर मिडिया ग्रुपमा आबद्ध छन् । ईकान्तिपुरका डेस्क इडिटर रहेका उनी समसामयिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।