अमेरिकी अर्बपति इलन मस्कले अर्बपति मुकेश अम्बानीको नामै लिएर भारतमा स्टारलिंक प्रवेश रोक्न खोजेको आरोप लगाएपछि अन्तिम समयमा जियोको मूल्यांकनमा भारी गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
काठमाडौँ — भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स जियोले आउँदो साता नै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न लागेको छ । अमेरिकी अर्बपति इलन मस्कले उनको नामै लिएर भारतमा स्टारलिंक प्रवेश रोक्न खोजेको आरोप लगाएपछि अन्तिम समयमा जियोको मूल्यांकनमा भारी गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मस्कले अम्बानीलाई ‘एकाधिकारवादी’ भन्दै एक्समा आलोचना गरेका थिए ।
पहिले १ सय ३० अर्ब डलर अनुमान गरिएको जियोको मूल्यांकन अहिले करिब १ सय ८ अर्ब डलरमा सीमित गरिएको सीएनबीसी इन्टरनेसनलकी वरिष्ठ संवाददाता प्रियंका साल्भीले आफ्नो समाचारमा उल्लेख गरेकी छन् । जियोको यो नयाँ मूल्यांकन भारती एयरटेलको १ सय १७ अर्ब डलरको बजार पुँजीकरणभन्दा पनि कम हुन पुगेको छ । आगामी साता आउन लागेको ३ सय २ अर्ब भारतीय रुपैयाँको आईपीओमार्फत जियोले आफ्नो २ सय ७५ अर्ब रुपैयाँ पुराना ऋण चुक्ता गर्ने र दोस्रो चरणको प्रविधि विस्तारका लागि पुँजी जुटाउने योजना बनाएको छ ।
मस्कले भने भारतीय दूरसञ्चार बजारमा ‘स्टारलिंक’ को प्रवेश रोक्न त्यहाँका प्रभावशाली वर्ग (ओलिगार्क) ले अवरोध पुर्याएको आरोप लगाएका छन् । मतदाता नामावली–सूचीको विषयलाई लिएर नयाँदिल्लीमा गत साता युवाको प्रदर्शनीसँगै सुरक्षाकर्मीको धरपकड र इन्टरनेट प्रतिबन्धले ठूलो विवाद सिर्जना गरिरहेका बेला मस्कले सुपथ इन्टरनेट भित्र्याउन नदिन भारतीय अर्बपति अम्बानीको भूमिका रहेको टिप्पणी गरेका थिए ।
भारतीय जनतामाथि आफ्नो एकाधिकार पकड कायम राख्न केही कुलीन वर्गले हामीलाई रोकिरहेका छन्, उनीहरू को हुन् भनेर तपाईं अनुमान लगाउन सक्नुहुन्छ, यो भारतीय जनताविरुद्धको अपराध हो : इलन मस्क , अमेरिकी अर्बपति गत साता मस्कले सामाजिक सञ्जाल ‘एक्स’ मा भारतीय बजारमा एकाधिकार कायम राख्ने केही कुलीन वर्गले स्टारलिंकलाई रोकिरहेको दाबी गरेका थिए । भारतमा स्टारलिंकले कसरी सहज सञ्चार सेवा उपलब्ध गराउन सक्छ भन्नेबारे निरन्तर ट्वीट गरेका थिए । ‘डज डिजाइनर’ नामको एकाउन्टले गरेको पोस्टमा कोट ट्वीट गर्दै मस्कले लेखेका छन्, ‘दुर्भाग्यवश, भारतीय जनतामाथि आफ्नो एकाधिकार पकड कायम राख्न केही कुलीन वर्गले हामीलाई रोकिरहेका छन् । उनीहरू को हुन् भनेर तपाईं अनुमान लगाउन सक्नुहुन्छ । यो भारतीय जनताविरुद्धको अपराध हो ।’
गत शुक्रबार भने मस्कले नाम नै तोकेर अम्बानीलाई ‘भारतका खास प्रधानमन्त्री’ भन्दै व्यंग्य गरेका थिए । ‘आदरणीय प्रधानमन्त्री अम्बानी’ भनेर सम्बोधन गर्दै उनी नै भारतको खास मालिक हुन् भन्ने कुरा ढिलो गरी बुझेकामा मस्कले माफी मागेको अभिनय गरेका छन् । ‘तपाईं भारतीय जनतामाथि स्वाभाविक रूपमा आफ्नो एकाधिकारवादी शोषण कायम राख्न चाहनुहुन्छ तथापि स्टारलिंकलाई प्रतिस्पर्धा गर्न दिनुहुन्थ्यो कि !’ मस्कले लेखेका छन् ।
अम्बानीको रिलायन्ससँग जोडिएका संस्थाले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई ३ सय ८५ करोड रुपैयाँभन्दा बढी राजनीतिक चन्दा दिएको समाचार सेयर गर्दै मस्कले राजनीतिक पहुँचका आधारमा स्टारलिंकलाई रोकिएकोतर्फ इसारा गरेका छन् । आफ्नो कम्पनीले विश्वका १ सय ६५ भन्दा बढी देशमा स्वीकृति पाइसकेको र भारतमा सम्पूर्ण कानुनी मापदण्ड पूरा गर्दा पनि लाइसेन्स नपाउनुको पछाडि ‘के अम्बानी नै भारतका वास्तविक प्रमुख हुन् !’ भन्दै मस्कले प्रश्न उठाएका छन् ।
मस्कका अभिव्यक्तिलाई लिएर भारतका विभिन्न प्रविधि व्यवसायी, राजनीतिकर्मी, कलाकार र सामाजिक सञ्जाल विश्लेषकहरूले फरक–फरक प्रतिक्रिया दिएका छन् । जोहोका संस्थापक तथा सीईओ श्रीधर वेम्बुले मस्कको दाबी खण्डन गर्दै भारतमा विश्वकै सबैभन्दा सस्तो इन्टरनेट डेटा र उत्कृष्ट डिजिटल भुक्तानी (यूपीआई) प्रणाली रहेको भन्दै यहाँ स्वस्थ प्रतिस्पर्धा रहेको तर्क गरेका छन् । भारत सरकारले एकाधिकारलाई प्रश्रय नदिई प्रतिस्पर्धा र नयाँ स्टार्टअपलाई प्रवर्द्धन गरेको उनको दाबी छ ।
भारतीय एयरटेलका अध्यक्ष सुनील भारती मित्तलले स्याटेलाइट–इन्टरनेट सेवा दिन चाहने विदेशी कम्पनीले भारतको स्थानीय नियम, कानुन र सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल विश्लेषक मुथुकृष्णन धन्दापानी मस्क आफैं अमेरिकामा कुलीन (ओलिगार्क) का रूपमा व्यवहार गर्ने र उनले ‘प्रधानमन्त्री अम्बानी’ भन्दै भारतको सार्वभौमसत्ता र लोकतन्त्रको अपमान गरेको आरोप लगाएका छन् । सरकारले आमनागरिकको हितभन्दा आसेपासे पुँजीपतिहरू (क्रोनी क्यापिटलिस्ट) को स्वार्थपूर्तिमा बढी ध्यान दिएको अनिरुद्ध मालपानीले टिप्पणी गरेका छन् ।
स्टारलिंकले भारतमा विद्यमान मूल्यमा इन्टरनेट खरिद गर्न नसकेका वा पहुँच नभएकाहरूलाई उच्च गतिको सुपथ इन्टरनेट उपलब्ध गराउन सक्ने मस्कले उल्लेख गरेका छन् । अमेरिकासहित कुनै पनि देशमा मोबाइल नेटवर्क कभरेज सर्वोत्कृष्ट नभए पनि स्टारलिंकले त्यो ‘ग्याप’ परिपूर्ति गर्दै अत्यावश्यक ठाउँमा कभरेज पुर्याउन सक्ने उनको दाबी छ । अर्को पोस्टमा उनले सन् २०२४ मा प्रकाशित एनडीटीभीको समाचारको स्क्रिनसट राख्दै कोट ट्वीट गरेका छन्, ‘स्टारलिंकका बिमहरू भारतमा बन्द गरिएका छन् । त्यसकारण भारतमा कुनै न कुनै रूपमा स्टारलिंक प्रयोग भएको दाबी पूर्ण रूपमा गलत हो ।’
एनडीटीभीको समाचारअनुसार त्यो बेला मणिपुरको इम्फालमा सुरक्षाकर्मीहरूले विद्रोहीबाट हतियारसहित स्टारलिंकका एन्टेना, डिस र राउटर बरामद गरेका थिए । ती डिभाइसमा मेइतेई विद्रोही समूहको नाम लेखिएको थियो । म्यानमारमा स्टारलिंक सक्रिय भएकाले ती डिभाइस सीमापार ल्याइएको र ‘जियोफेन्सिङ’ नभएकाले मणिपुरका केही सीमावर्ती क्षेत्रमा सिग्नल पुग्न सक्ने अनुमान गरिएको थियो ।
थप फरेन्सिक विश्लेषणका लागि भारतीय सेनाले दूरसञ्चार विभाग र इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयमा ती उपकरण पठाएको थियो । अनुसन्धानपछि ती डिभाइस प्रयोग नगरिएको पत्ता लागेको एनडीटीभीको सो समाचारमा पत्रकार नीता शर्माले उल्लेख गरेकी थिइन् । मस्कले अहिले सोही प्रसंग उल्लेख गर्दै भारतमा स्टारलिंकको सिग्नल बन्द रहेको र कहिल्यै सक्रिय नभएको स्पष्ट पारेका हुन् ।
स्याटेलाइटमा आधारित उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने स्टारलिंकले भारतमा ‘ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन्स बाई स्याटेलाइट’ अर्थात् ‘जीएमपीसीएस’ को अनुमति पाए पनि अन्तिम सुरक्षा स्वीकृति र स्पेक्ट्रम प्राप्त गर्न बाँकी छ । ‘हिन्दुस्तान हेराल्ड’ मा प्रकाशित समाचारअनुसार पछिल्लो मे महिनासम्म भारतका ११ हजार २ सय ५६ गाउँमा फोरजी पहुँच पुगेको छैन । कुल १ अर्ब ९ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्तामध्ये ग्रामीण क्षेत्रमा ४४ करोड रहेको तथ्यांक छ ।
‘ब्लुमबर्ग न्युज’ अनुसार अम्बानीको रिलायन्स जिओ र मित्तलको भारती एयरटेलले भारतीय ब्रोडब्यान्ड बजारको ८० प्रतिशतभन्दा बढी अर्थात् करिब ९१ करोड ग्राहक ओगटेका छन् । भारतका सुरक्षा निकायहरूले सुरक्षा चिन्ता देखाउँदै स्टारलिंकको व्यावसायिक सञ्चालन अनुमति रोकेको विवरण पनि ब्लुमबर्ग न्युजले उल्लेख गरेको छ । यस्तै, ‘टाइम्स अफ इन्डिया’ को विवरणअनुसार स्टारलिंकले भारतमा २० वटा गेटवे सेन्टर बनाइसकेको छ र कम्पनीकी उपाध्यक्ष लरेन ड्रेयरले भारत तयार हुनासाथ सेवा सुरु गरिने बताएकी छन् ।
भारतमा स्याटेलाइट कम्युनिकेसन (स्याटेलाइट इन्टरनेट) सेवा सुरु गर्न स्टारलिंकसँगै रिलायन्स जियो र युटेलस्याट वानवेबले पनि तयारी गरिरहेका छन् । जियो अम्बानीको हो भने युटेलस्याट वानवेब सुनील मित्तलको भारती इन्टरप्राइजेजसँग आबद्ध कम्पनी हो ।
अन्य दक्षिण एसियाली देशमध्ये स्टारलिंकले पहिलो पटक सन् २०२३ को अगस्टमा माल्दिभ्समा व्यावसायिक सेवा सञ्चालनमा ल्याएको थियो । त्यसपछि सन् २०२५ मा भुटान, बंगलादेश र श्रीलंकामा पनि स्टारलिंकले सेवा सुरु गर्यो । भारतमा अन्तिम सुरक्षा अप्रुभल र स्पेक्ट्रम बाँडफाँट बाँकी छ भने पाकिस्तानमा नियामकीय स्वीकृति पर्खिरहेको छ ।
स्टारलिंकले नेपालमा पनि सेवा सञ्चालनका लागि विगत तीन/चार वर्षयता निरन्तर चासो प्रकट गर्दै आए पनि नीतिगत अड्चनले गर्दा अलमल देखिएको छ । विद्यमान दूरसञ्चार नीति २०६० अनुसार इन्टरनेट सेवामा बढीमा ८० प्रतिशत मात्र विदेशी लगानी हुन सक्ने र बाँकी २० प्रतिशत लगानीका लागि स्थानीय साझेदार अनिवार्य हुनुपर्ने प्रावधान छ । ‘दूरसञ्चार क्षेत्रमा वैदेशिक लगानी आकर्षित गरिनेछ,’ कार्यनीति ५ अन्तर्गतको बुँदा नम्बर ५.६.२ मा भनिएको छ, ‘यस्तो लगानीमा न्यूनतम २० प्रतिशत स्वदेशी सहभागिता हुनुपर्नेछ ।’ स्टारलिंक भने शतप्रतिशत लगानीमा नेपाल आउन चाहेको छ ।
नेपालमा हाल दुइटा सेवा प्रदायकले जीएमपीसीएस लाइसेन्स लिएर सेवा दिँदै आएका छन् । सानेपाको कन्स्टिलेसन प्रालिले चैत २०५९ देखि नै स्याटेलाइटमा आधारित दूरसञ्चार सेवा दिँदै आएको छ । कमलादीको आइफोर टेक्नोलोजिजले भने साउन २०६३ मा यस्तो लाइसेन्स लिएको थियो ।
थुराया, इरिडियम, इन्मरस्याटजस्ता विद्यमान जीएमपीसीएस सेवाप्रदायकले पृथ्वीबाट करिब ३५ हजार किमि टाढाको जियोस्टेसनरी अर्थ अर्बिटबाट सिग्नल पठाउँछन् । जुन फोन कल, एसएमएस र सीमित डेटाका लागि प्रयोग हुन्छ । स्टारलिंकले भने पृथ्वीबाट करिब ५५० किलोमिटर उचाइको लो अर्थ अर्बिटमा राखिएका हजारौं साना स्याटेलाइटको विशाल सञ्जालमा काम गर्छ । यसले उच्च गतिको इन्टरनेट प्रदान गर्छ । यसबाट एचडी भिडियो स्ट्रिमिङ, भिडियो कन्फरेन्सिङ र अनलाइन गेमिङ सजिलै गर्न सकिन्छ ।
सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।