बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरिएपछि त्यसको विरोधमा संसद्मा आवाज उठेको थियो । २०५७ असार २४ को उक्त घटनाबारे असार २६ मा सांसदहरूले सदनमा आपत्ति जनाएका थिए ।
काठमाडौँ — राजावादीहरूले प्रजातन्त्र प्राप्त भएको १० वर्षपछि ‘राष्ट्रियताप्रति राष्ट्रवादीहरूको दायित्व’ विषयको गोष्ठीको आयोजना गरेका थिए । राष्ट्रवादी युवा मोर्चाको आयोजनामा २०५७ असार २४ मा काठमाडौंमा भएको उक्त गोष्ठीका प्रमुख अतिथि थिए अधिराजकुमार धीरेन्द्र शाह । उक्त कार्यक्रममा अधिकांश बहुदलीय प्रणाली र संवैधानिक राजतन्त्रात्मक व्यवस्थाविरोधीहरूको सहभागिता थियो । वक्ताहरू पनि सोहीअनुसार छनोट गरिएको थियो । २०४४ मा विदेशी महिला शिर्ले ग्रेअनीसँग सम्बन्ध राखेको भन्दै राजा वीरेन्द्रले अधिराजकुमार पद र राजकीय सुविधा खोसेका धीरेन्द्रको उपस्थिति रहस्यमय थियो । किनकि उनी पञ्चायतमा पनि विवादमा आइरहन्थे । रानी ऐश्वर्यकी बहिनी प्रेक्षा शाहसँग विवाह गरेका धीरेन्द्र आफ्नो पद खुस्केपछि बेलायत बस्दै आएका थिए । बेलायतबाट केही समयका लागि फर्केका धीरेन्द्र प्रमुख अतिथि बनेर बहुदलविरुद्ध जनमत तयार गर्ने प्रयास गरिएको स्रोतहरूको दाबी थियो ।
कार्यक्रममा धीरेन्द्र पनि प्रमुख अतिथिका रूपमा वक्ताको सूचीमा थिए ।कार्यक्रममा बोल्दै उनले बहुदलवादी नेताहरूप्रति कटाक्ष गरेका थिए । धीरेन्द्र मात्र होइन, कार्यक्रममा सहभागी वक्ताहरूले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासहित बहुदलवादी नेताहरूविरुद्ध हतियार उठाउने उद्घोष गरेका थिए । कतिपय वक्ताहरूले निर्देशन पाएमा वर्तमान राजनीतिक व्यक्तिलाई गोली हानी व्यवस्था परिवर्तन गर्न तयार रहेको बताएका थिए । वक्ताहरूले वर्तमान समस्याप्रति दरबार मौन रहेको गुनासो गरेका थिए ।
काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन विभागको हलमा ६०–७० जना भेला भएर गरिएको उक्त कार्यक्रममा आनन्द खड्का, किशोरकुमार गुरुघराना, सन्तोष पन्त, मोहन मैनाली, महेशकुमार उपाध्याय, क्षेत्रप्रताप अधिकारी, महेन्द्रविलास पाण्डे, बालकृष्ण न्यौपानेसहितका वक्ताले बहुदलको विरोध गरेका थिए । वक्ता गुरुघरानाले कांग्रेस र एमालेलाई लक्षित गर्दै ‘दुई किसिमका पाल्तु जनावर’को संज्ञा दिएका थिए । कलाकार मैनालीले भनेका थिए, ‘अहिलेको स्थितिमा सुधार ल्याउन प्रधानमन्त्री कोइरालालाई मार्नुपर्छ भने पनि म तयार छु । अन्य नेताहरूलाई मार्न पनि तयार छु ।’ शाहकै उपस्थितिमा वक्ताहरूले आफूहरू जनआन्दोलन २०४६ का नेताहरूको हत्या गर्न तयार रहेको बताएपछि उक्त अभिव्यक्तिले हंगामा मच्चाएको थियो ।
राजावादीहरूले कार्यक्रम आयोजना गरेको भोलिपल्ट अर्थात् २०५७ असार २६ को संसद् बैठकमा अघिल्लो दिन व्यक्त विचारले प्रजातन्त्र र बहुदलीय व्यवस्थाविरोधी शक्तिले मुन्टो उठाउन लागेको भन्दै सबै दलका सांसदहरूले चर्को विरोध जनाएका थिए । सांसदहरूले अधिराजकुमार धीरेन्द्रको उपस्थितिमा भएको कार्यक्रममा नेताहरूविरुद्ध हतियार उठाउने घोषणा गरेको भन्दै उनको गतिविधि निगरानी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसदहरूले जनताको बलिदानीबाट पुनर्स्थापित प्रजातन्त्र समाप्त पार्न खोजेको भन्दै नेताहरूको हत्या गर्छु भन्नेलाई कारबाही गर्न र धीरेन्द्रको गतिविधिमा कडा निगरानी गर्न भनेका थिए । संसद् बैठकमा एमाले सांसद प्रदीपकुमार ज्ञवालीले दिनदहाडै राजधानीमा खुलेयाम रूपमा प्रजातन्त्र समाप्त पार्ने गम्भीर षड्यन्त्र सुरु भएकाले सबै सचेत रहन आग्रह गरेका थिए । कांग्रेस सांसद एनपी साउदले भनेका थिए, ‘२०४६ को जनआन्दोलनमा जनताले बगाएको रगत अहिलेसम्म सुकिसकेको छैन भन्दै प्रजातन्त्रका लागि युवा विद्यार्थी बलिदान गर्न तयार रहेको बताएका थिए । एमाले सांसद प्रेमबहादुर सिंहले पूर्व अधिराजकुमारले भद्रकालीमा अनशन बसेका माओवादीपीडितलाई भेटेर नेताहरूलाई हिरासतमा लिई राजालाई सत्ता आफ्नो हातमा लिन आफूमार्फत बिन्तीपत्र दिएको आरोप लगाएका थिए ।
राप्रपा संसदीय दलका नेता सूर्यबहादुर थापाले नेताहरूको हत्या गर्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । उनले भनेका थिए, ‘प्रजातन्त्रविरुद्ध एकातर्फ घोर वामपन्थी पक्षले हतियार उठाएर धनजनको ठूलो क्षति गराएको छ भने अर्कोतर्फ घोर दक्षिणपन्थी तत्त्वले लगातार अघि बढी राजनीतिक दलका नेता र प्रधानमन्त्रीको समेत हत्या गर्ने धम्की दिन थालेका छन् ।’ उनले यस्तो गतिविधिलाई गम्भीर र आपत्तिजनक भएको बताएका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका थापाले पञ्चायतमा पनि अधिराजकुमार धीरेन्द्र, ज्ञानेन्द्र शाहसहित दरबारका केही सदस्य तथा उनीहरू निकटलाई ‘भूमिगत गिरोह’को संज्ञा दिएका थिए । थापाले पहिलो पटक २०४० को असारमा राष्ट्रिय पञ्चायतमा भाषण गर्दै ‘भूमिगत गिरोह’ शब्दको प्रयोग गरेका थिए । भनिन्छ, उक्त शब्द राजपरिवारका सदस्यहरू र उनीहरू निकट अनुदार पञ्चहरूप्रति लक्षित थियो । उनीमाथि महाअभियोगको आरोप लगाएर प्रधानमन्त्रीबाट हटाउने प्रक्रिया अघि बढाएपछि त्यतिबेलाका राष्ट्रिय पञ्चायतका अध्यक्ष (अहिलेको सभामुख) मरिचमान सिंहको अनुमतिमा थापाले एक घण्टाभन्दा बढी समय भाषण गर्दै भनेका थिए, ‘यो गम्भीर षड्यन्त्रमा गैरसंवैधानिक शक्ति केन्द्र र भूमिगत गिरोहको हात छ ।’ उनको भाषणलाई साप्ताहिक विमर्श पत्रिकाले हुबहु छापेको थियो ।
पञ्चायतमा दरबारीयाहरूको विरोध गरेको भाषण छाप्ने आँट विमर्शका पदम ठकुराठीले गरेका थिए । उनै ठकुराठीलाई २०४२ मा मार्ने नियतले कन्चटमा ताकेर गोली प्रहार गरिएको थियो । त्यतिबेला पनि पूर्वप्रधानमन्त्री थापाले गोली प्रहारमा ‘भूमिगत गिरोह’को हात रहेको बताएका थिए । पञ्चायती शासनकालमा दरबारका अनुदार शक्तिको मार खेपेका थापाले प्रजातन्त्र प्राप्तिको १० वर्षपछि अधिराजकुमार धीरेन्द्रले सुरु गरेको बहुदलविरोधी गतिविधिको चर्को आलोचना गरेका थिए । धीरेन्द्रप्रति लक्षित गर्दै एमाले सांसद रघुजी पन्तले भनेका थिए, ‘एउटी गोरीका लागि देश छाडेर जाने आज त्यही गोरीले लात्तिले हिर्काएपछि देश फर्किने व्यक्तिले अँध्यारो कुनामा बसेर प्रजातान्त्रिक व्यवस्थाविरुद्ध षड्यन्त्र गर्न सुहाउँदैन ।’ संयुक्त जनमोर्चाका सांसद लीलामणि पोखरेलले भनेका थिए, ‘अधिराजकुमार हुँदा देशका मूर्तिहरू विदेशमा तस्करी गर्ने र विदेशी पत्नीको पछि लागेर बेलायत जाने अपराधी व्यक्तिले अहिले आएर देशप्रति गोहीको आँसु चुहाउन मिल्दैन ।’
कतिपय सांसदहरूले माओवादी जनयुद्ध र दरबारियाहरूको भाषा एउटै भएको बताएका थिए । उनीहरूले दुवैको स्रोत एउटै भएको अनुमानसमेत गरेका थिए । सांसद हरिभक्त अधिकारीले हिजो मूर्ति तस्करी गर्ने र पदम ठकुराठीको हत्या गर्न प्रयास गर्नेको खोजी गरी निगरानी गर्नुपर्ने बताएका थिए । सांसदहरू बुद्धिमान तामाङ, हृदयेश त्रिपाठी, शंकर पाण्डे, शिवराज जोशीलगायतले धीरेन्द्र उपस्थित कार्यक्रममा दिएको अभिव्यक्तिको कडा प्रतिवाद गरेका थिए ।
संसद्मा सबै दलका सांसदहरूले एक स्वरमा प्रजातन्त्रविरोधी शक्तिलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । सांसदहरूको अभिव्यक्ति सुनेपछि गृहमन्त्री गोविन्दराज जोशीले संविधान र व्यवस्था समाप्त गर्ने सम्बन्धमा कुनै कोठामा बसेर कसैले प्रतिगमन सोचेको छ भने त्यो दिवास्वप्न मात्र साबित हुने चेतावनी दिएका थिए । उनले सदनको आवाजलाई सरकारले बलका रूपमा लिएको बताएका थिए । उनले सरकारले संविधान र कानुनविपरीत जाने छुट कसैलाई नदिने बताएका थिए ।
राजावादीहरूले गरेको कार्यक्रममा धीरेन्द्रले भनेका थिए, ‘नेताहरूको प्रवृत्ति देश बनाऔं भन्ने छैन, आफैं बनौं भन्नेछ ।’ आफ्नी विदेशी पत्नीका लागि नेपाल बस्न अनुकूल मिलेमा नेपाल बस्ने मनस्थिति बनाएका धीरेन्द्रले यहाँ सबै समस्या समस्यै बढेको बताएका थिए । उनले बहुदलवादी नेताहरूका कारण समस्या बढेको आशय व्यक्त गरेका थिए । आफ्नो मन्तव्यपछि कान्तिपुरसँग कुराकानी गर्दै उनले भनेका थिए, ‘रथका दुई पांग्राजस्तै हरेक व्यवस्थामा राम्रा नराम्रा दुवै पक्ष रहन्छन् । बहुदलीय व्यवस्थालाई कसैले परिवर्तन गर्न चाहन्छ भने पनि राम्रो–नराम्रो नकेली जथाभावी हामफाल्न मिल्दैन ।’ उनले माओवादी गतिविधि हिंसात्मक देखिए पनि यसको तयारी पहिल्यै भएको बताएका थिए । वार्ताको माध्यमबाटै माओवादी समस्या हल गर्नुपर्ने भन्दै उनले बुलेटबाट समाधान नहुने बताएका थिए । कान्तिपुरको प्रश्नमा उनले प्रजातन्त्रको मूल्य भनेको स्वतन्त्रता मात्र नभएर निगरानी र पारदर्शिता पनि हो भनेका थिए ।
बहुदलीय व्यवस्था प्राप्त भएको दशकपछि ‘विवादास्पद छवि’का पूर्व अधिराजकुमार धीरेन्द्र सहभागी कार्यक्रममा व्यक्त विचार र त्यसको प्रतिक्रियास्वरूप संसद्मा उठेका सवालहरूमा केन्द्रित भएर तयार गरेको समाचार कान्तिपुरले २०५७ असार २७ मा ‘नेताहरूको हत्या गर्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति’ शीर्षकमा प्रकाशन गरेको थियो । त्यस्तै धीरेन्द्रको अभिव्यक्तिलाई २०५७ असार २५ मा ‘बहुदलविरुद्ध जथाभावी हामफाल्न मिल्दैन’ शीर्षकमा कान्तिपुरले समाचार प्रकाशन गरेको थियो ।